लेवी 14
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले मोशालाई भन्नुभयो,
2“कुष्ठरोग लागेका मानिसलाई विधिपूर्वक शुद्ध गर्ने नियमहरू यिनै हुन्; जब तिनीहरूलाई पुजारीकहाँ ल्याइन्छः
3तिनीहरूलाई जाँच गर्न पुजारी छाउनीबाहिर जाओस्। यदि ती मानिसहरू आफ्ना कुष्ठरोगबाट निको भएका छन् भने,
4पुजारीले दुई वटा शुद्ध जिउँदा पक्षीहरू, केही देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसप, शुद्ध हुन चाहनेका निम्ति ल्याउने आदेश देऊन्।
5त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्।
6त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्।
7त्यसले त्यस कुष्ठरोगबाट शुद्ध हुनुपर्ने व्यक्तिलाई सात चोटि छर्केर त्यसलाई शुद्ध भनी घोषित गरोस्। त्यसपछि त्यसले जीवित पक्षीलाई खुला मैदानमा छोडिदेओस्।
8“शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्नुपर्छ।
9सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ।
10“आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्।
11त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।
12“तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्।
13त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ।
14पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
15त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्।
16पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्।
17पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्लोपट्टि छर्किदेओस्।
18पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्।
19“त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्।
20अनि त्यसलाई पुजारीले अन्नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्चित गरोस्, तब त्यो शुद्ध हुनेछ।
21“तर यदि त्यो गरिब छ, र यी चीजहरू ल्याउन सक्दैन भने त्यसले आफ्ना निम्ति प्रायश्चित गर्न विशेष भेटीको रूपमा दोषबलिस्वरूप एउटा भेडाको पाठा, र साथमा अन्नबलिका लागि जैतुन तेल मिसाइएको एपाको दश भागको एक भाग मसिनो पिठो र एक लोग तेल ल्याओस्।
22त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
23“आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्।
24पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्।
25त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
26पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्।
27अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्।
28त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।
29पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्चित गर्नका निम्ति लगाओस्।
30त्यसपछि त्यसले आफ्नो आर्थिक क्षमताअनुसार ढुकुरहरू अथवा कलिला परेवाहरू बलि चढाओस्।
31एउटा पाप शुद्धीकरण बलिस्वरूप र अर्को होमबलिस्वरूप अन्नबलिसँग चढाओस्। यस किसिमले पुजारीले त्यस शुद्ध हुनुपर्ने व्यक्तिको पक्षमा याहवेहको सामु प्रायश्चित गर्नेछ।”
32कुष्ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्।
33याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
34“जब मैले तिमीहरूलाई अधिकारको रूपमा दिन लागेको कनान देशमा तिमीहरू प्रवेश गरौला, र त्यस देशको एउटा घरमा मैले फैलिने ढुसी लाग्न दिएँ भने,
35त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्।
36त्यस घरमा ढुसी जाँच गर्न जानुअगि पुजारीले त्यस घरलाई खाली गर्ने आदेश देओस्; ताकि त्यस घरभित्र भएका कुनै चीज पनि अशुद्ध भनी घोषित नहोस्। त्यसपछि पुजारी त्यो घर जाँच गर्न भित्र जाओस्।
37त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने,
38पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्।
39सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने,
40त्यसले दूषित भएका ढुङ्गाहरू भित्ताबाट उक्काएर नगर बाहिरको अशुद्ध ठाउँमा फ्याँकिदिन आदेश गरोस्।
41त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्।
42त्यसपछि तिनीहरूले ती खाली ठाउँहरू भर्नलाई अरू ढुङ्गाहरू लिऊन्, र नयाँ माटो ल्याएर घर लिपून्।
43“यदि ढुङ्गाहरू उक्काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्यो भने,
44पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ।
45त्यो भत्काइनुपर्छ, अर्थात् त्यसका ढुङ्गाहरू, काठहरू र सबै लेपहरू भत्काएर नगरबाहिर कुनै अशुद्ध ठाउँमा लगियोस्।
46“त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ।
47त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्।
48“तर यदि पुजारीले त्यसलाई जाँच्न आउँदा त्यस घरलाई लिपेपछि ढुसी फैलिएको छैन भने त्यसले घरलाई शुद्ध भनी घोषणा गरोस्; किनकि त्यो ढुसी गइसकेको छ।
49त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्।
50त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्।
51त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्।
52त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्।
53त्यसपछि त्यसले त्यस जीवित पक्षीलाई नगरबाहिर खुला मैदानमा छोडिदेओस्। यस किसिमले पुजारी त्यस घरका निम्ति प्रायश्चित गर्नेछ, र त्यो शुद्ध हुनेछ।”
54कुनै पनि प्रकारको कुष्ठरोगका लागि, लुतोको लागि,
55लुगामा अथवा घरमा भएको ढुसीका लागि,
56अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि,
57कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। कुष्ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath