लेवी 13
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
2“जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्यो, र छालामा कुष्ठरोगको संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्।
3त्यस पुजारीले त्यसको छालाको घाउ हेरोस्। यदि त्यस घाउको रौँ सेतो भएको छ, र त्यो घाउ छालाभन्दा गहिरो देखिन्छ भने त्यो कुष्ठरोगको संक्रमण हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसले उसलाई विधिपूर्वक अशुद्ध भनी घोषणा गरोस्!
4त्यसको छालाको दाग सेतो छ, तर छालाभन्दा गहिरो देखिँदैन र त्यसमा भएको रौँ सेतो भएको छैन भने पुजारीले त्यस्ता रोग लागेको व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।
5सातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
6सातौँ दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा त्यो घाउ मत्थर भएको छ, तर छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्! त्यो एउटा दाग मात्र हो। त्यस मानिसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ।
7तर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ।
8पुजारीले त्यसलाई जाँच गर्दा, त्यो दाग छालामा फैलिएको छ भने उसले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्; यो कुष्ठरोग हो।
9“जब कुनै मानिसलाई कुष्ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्।
10पुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने,
11त्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ।
12“यदि त्यो कुष्ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने
13पुजारीले त्यसलाई जाँच गर्दा, कुष्ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ।
14तर त्यसमा आलो घाउ देखा पर्यो भने त्यो अशुद्ध हुनेछ।
15पुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्ठरोग हो।
16त्यो आलो घाउ बदलिएर सेतो भयो भने त्यो मानिस पुजारीकहाँ जाओस्।
17पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ।
18“कसैको छालामा पिलो निस्केर निको भयो,
19र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्यो भने त्यो मानिस पुजारीकहाँ जाओस्।
20पुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो।
21तर पुजारीले त्यसलाई जाँच गर्दा, यदि त्यसमा सेता रौँ छैनन्, र छालाभन्दा गहिरो छैन, तर मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्।
22छालामा त्यो फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोग संक्रमण हो।
23तर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
24“कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने,
25पुजारीले त्यस ठाउँलाई जाँच गरोस्। अनि त्यसका रौँहरू सेता भएका छन्, र त्यो छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँबाट निस्केको कुष्ठरोग संक्रमण हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोगको संक्रमण हो।
26तर पुजारीले त्यसलाई जाँच गर्दा, त्यस ठाउँमा सेता रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो छैन, तर त्यो मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्।
27सातौँ दिनमा जाँच गर्दा, त्यो रोग छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो कुष्ठरोगको संक्रमण हो।
28तरै पनि यदि त्यो दाग बदलिएको छैन, र छालामा फैलिएको छैन; तर मत्थर भएको छ भने त्यो जलेको कारणले सुनिएको हो। अनि पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यो केवल जलेको घाउबाट भएको दाग हो।
29“कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने,
30पुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो।
31तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।
32सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने,
33त्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
34सातौँ दिनमा पुजारीले त्यस लुतोलाई जाँच गर्दा, यदि त्यो छालामा फैलिएको छैन, र त्यो छालाभन्दा गहिरो छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यसले आफ्नो लुगा धोओस्, र त्यो विधिपूर्वक शुद्ध हुनेछ।
35तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो लुतो छालामा फैलियो भने,
36पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो।
37तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
38“कुनै पुरुष अथवा स्त्रीको छालामा सेतो दाग हुँदा,
39पुजारीले तिनीहरूलाई जाँच गर्दा, यदि ती दागहरू हल्का सेता छन् भने त्यो हानि नगर्ने छालारोग हो, जुन छालामा उब्जिएको छ; त्यो मानिस शुद्ध हो।
40“कुनै मानिसको कपाल पूरै झरेर शिर खुइलेको छ भने त्यो शुद्ध नै हो।
41त्यसको कपाल त्यसको टाउकाको अगिल्तिर खुइलिएकोले, त्यसको निधार खुइलिएको छ भने त्यो शुद्ध हो।
42तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्ठरोग संक्रमण हो।
43पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्ठरोगझैँ रातो-सेतो किसिमको छ भने,
44त्यो मानिस कुष्ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्।
45“यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ। त्यसले आफ्नो अनुहारको तल्लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्।
46त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्।
47“कुनै लुगा ढुसी परेको छ—चाहे त्यो ऊनी होस्, अथवा सुती,
48ऊनका अथवा कपासका तुनेर वा बुनेर बनाइएका सामग्री, छालाका वा छालाले बनिएका कुनै चीज—
49यदि लुगा, छाला अथवा तुनेका वा बुनेका सामग्री अथवा छालाका कुनै सामग्रीमा भएका दूषित कुरा हरियो किसिमको अथवा रातो किसिमको छ भने त्यो फैलँदै गरेको ढुसी हो। अनि त्यसलाई पुजारीकहाँ देखाइयोस्।
50पुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्।
51सातौँ दिनमा उसले त्यो जाँच गर्दा, यदि त्यो ढुसी लुगामा अथवा तुनेका वा बुनेका कुरोमा वा कुनै काममा प्रयोग गरिने छालामा फैलिएको छ भने त्यो खतरनाक ढुसी हो; अनि त्यो चीज अशुद्ध छ।
52त्यसले ढुसी परेका लुगा अथवा तुनेका अथवा बुनेका ऊनी वा सुती सामग्री अथवा छालाका कुनै पनि चीजलाई जलाइदेओस्। किनकि त्यो कुहाउने ढुसी हुनाले, त्यो चीज जलाइनुपर्छ।
53“तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने,
54उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्।
55त्यो संक्रमित लुगालाई धोइएपछि पुजारीले त्यसलाई पुनः जाँचोस्। अनि ढुसी फैलिएको छैन र त्यसको रूप बदलिएको छैन भने त्यो अशुद्ध हो। ढुसीले भित्री वा बाहिरी भाग असर पारेको भए तापनि त्यसलाई आगोले जलाइदिनू।
56यदि पुजारीले त्यसलाई जाँच गर्दा त्यो लुगा धोइएपछि ढुसी हराउँदैगएको छ भने त्यसले त्यो फोहोर लागेको भागलाई त्यस लुगा वा छाला अथवा बुनेका चीजबाट च्यातिदेओस्।
57तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ।
58धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।”
59ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath