यहोशू 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब यर्दनको पश्चिमतिरका सबै राजाहरूले यी कुराहरूको बारेमा सुने। ती राजाहरू यिनै थिए: हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी, जो पहाडी मुलुकका पश्चिमका डाँडाहरू, फेदी र लेबनानसम्म फैलिएका महासागरका किनारामा बस्दथे।
2तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए।
3जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने,
4तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए।
5ती मानिसहरूले खुट्टामा पुराना टालेका जुत्ताहरू र फाटेका लुगाहरू लगाएका थिए। तिनीहरूका सबै भोजनहरू सुकेका र ढुसी परेका थिए।
6तब तिनीहरू गिलगालमा यहोशूको छाउनीमा गएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढाको देशबाट आएका हौँ; यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
7इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?”
8तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?”
9तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ।
10अनि उहाँले यर्दनको पूर्वका दुई एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई के गर्नुभयो, त्यो सुनेका छौँ।
11अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’
12हामी तपाईंहरूलाई भेट्न निस्केको दिन हामीले पोको पारेका यी हाम्रा रोटीहरू तातो-तातै थिए। तर अब हेर्नुहोस्, यो कति सुक्खा र ढुसी परिसकेको छ।
13अनि हामीले यी मशकहरू दाखमद्यले भर्दा नयाँ नै थिए। तर अब हेर्नुहोस्, यी प्वाल परिसकेका छन्। अनि हाम्रा लुगाहरू र जुत्ताहरू लामो यात्राको कारणले थोत्रा भइसकेका छन्।”
14तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्लाह लिएनन्।
15तब यहोशूले तिनीहरूलाई जीवितै राख्ने शान्ति-सन्धि गरे। अनि सभामा अगुवाहरूले त्यसलाई शपथद्वारा सहमत गरे।
16गिबोनीहरूसँग शान्ति-सन्धि गरेको तीन दिनपछि इस्राएलीहरूले यो कुरा थाहा पाए, कि तिनीहरू त उनीहरूकै नजिकमा बस्ने छिमेकीहरू पो रहेछन्।
17यसकारण इस्राएलीहरू प्रस्थान गरे। अनि तेस्रो दिन तिनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे।
18तर इस्राएलीहरूले तिनीहरूमाथि आक्रमण गरेनन्; किनकि समुदायका अगुवाहरूले तिनीहरूसँग याहवेह इस्राएलका परमेश्वरको नाममा शपथ खाएका थिए। सारा समुदाय ती अगुवाहरूसँग गनगन गरे।
19तर सबै अगुवाहरूले जवाफ दिए, “हामीले तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरको नाममा शपथ खाएका छौँ। अब हामीले तिनीहरूलाई छुन सक्दैनौँ।
20हामी तिनीहरूसँग यसो गरौँ: हामीले तिनीहरूलाई जीवितै राखौँ, ताकि हामीले तिनीहरूसँग खाएको शपथ भङ्ग गरेको कारण हामीमाथि परमेश्वरको क्रोध नपरोस्।”
21तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे।
22तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ।
23यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरका भवनको दाउरा काट्ने र पानी भर्ने कामबाट कहिल्यै मुक्त हुनेछैनौ।”
24तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ।
25अब हामी तपाईंहरूको हातमा छौँ। तपाईंहरूलाई जस्तो उचित र ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्।”
26यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्।
27त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath