ईसाई धर्म
पछाडि

यहोशू 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “नडरा, निराश नहो। आफ्नो साथमा सम्पूर्ण सेनाहरू लिएर जा अनि ऐ सहरमाथि आक्रमण गर। किनकि मैले ऐको राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको देशलाई तेरो हातमा सुम्पिदिएको छु।

2तैँले ऐ र त्यसको राजासँग त्यस्तै गर्नू, जुन तैँले यरीहो र त्यसको राजासँग गरेको थिइस्। तर तैँले त्यहाँको लुटको माल र गाईबस्तु भने आफ्ना लागि ल्याउन सक्छस्। तैँले सहरको पछिल्तिर ढुकेर बस्‍नू।”

3यसकारण यहोशू र सम्पूर्ण फौज ऐमाथि आक्रमण गर्न निस्के। तिनले आफ्ना उत्तम लडाकुहरूबाट तीस हजारलाई छानेर तिनीहरूलाई राति नै पठाए।

4अनि तिनले यसरी आज्ञा गरे: “ध्यान दिएर सुन। तिमीहरू सहरको पछिल्तिर ढुकेर बस्‍नू। त्यहाँबाट धेरै टाढा नजानू। तिमीहरू सबै जना चनाखो भएर रहनू।

5म र मसँग भएका सबै मानिसहरू सहरतिर बढ्नेछौँ। अनि पहिलेझैँ, जब तिनीहरू हाम्रो विरुद्धमा निस्केर आउँछन्। हामी तिनीहरूदेखि भाग्नेछौँ।

6तिनीहरूले हामीलाई खेद्नेछन्। अनि तिनीहरूलाई सहरदेखि टाढा नपुर्‍याएसम्म हामी भागिरहने छौँ। तब तिनीहरूले सोच्नेछन्, ‘पहिलेझैँ तिनीहरू हामीदेखि भागिरहेका छन्।’ यसरी जब हामी तिनीहरूदेखि भाग्नेछौँ,

7तिमीहरूले ढुकेर बसेको ठाउँबाट निस्केर सहरलाई कब्जा गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरले त्यो तिमीहरूको हातमा दिनुहुनेछ।

8जब तिमीहरूले त्यो सहरलाई कब्जा गर्नेछौ, तब याहवेहले भन्‍नुभएझैँ त्यस सहरमा आगो लगाइदिनू! यो याद राख कि, यो तिमीहरूलाई मेरो आज्ञा हो।”

9तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्‍चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए।

10भोलिपल्ट बिहानै यहोशूले आफ्ना सेनाहरूलाई भेला गरे। अनि तिनी र इस्राएलका अगुवाहरू तिनीहरूका अगि-अगि ऐतिर बढे।

11तिनीसँग भएको सम्पूर्ण दल अगि बढे। अनि तिनीहरू सहरको नजिक पुगे, र त्यस सहरको अगिल्तिर आइपुगे। तिनीहरूले तिनीहरू र सहरको बीचको बेँसीमा ऐ सहरको उत्तरतिर छाउनी हाले।

12यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्‍चिमतिर बेथेल र ऐको बीचमा ढुकेर बसे।

13यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्‍नेहरूका दलचाहिँ सहरको पश्‍चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए।

14जब ऐका राजाले यो देखे, तिनी र सहरका सबै मानिसहरू एकाबिहानै हतारिँदै इस्राएलीहरूसँग युद्ध गर्नलाई अराबाको एक निश्‍चित ठाउँमा निस्के। तर तिनीहरूको विरुद्धमा सहरको पछिल्तिरको भागमा तिनीहरूलाई ढुकेर बस्‍नेहरूको बारेमा थाहै भएन।

15यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे।

16ऐका सारा मानिसहरू तिनीहरूलाई खेद्नलाई बोलाइएका थिए। अनि तिनीहरूले यहोशूलाई खेदे, र तिनीहरू सहरदेखि टाढा पुर्‍याइए।

17ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्‍ला छोडेर इस्राएलीहरूलाई खेदे।

18तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्; किनकि म त्यस सहरलाई तेरो अधीनमा सुम्पिदिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐतिर पसारे।

19तिनले यसो गर्नसाथ ती ढुकेर बसेका मानिसहरू आफ्नो ठाउँबाट तुरुन्तै निस्केर अगि बढे। तिनीहरू सहरभित्र पसे। तब त्यसलाई कब्जा गरे; अनि तुरुन्तै सहरमा आगो लगाइदिए।

20जब ऐ सहरका मानिसहरूले पछि फर्केर हेरे, तब सहरबाट धुवाँको मुस्लो आकाशतिर गइरहेको देखे। तर तिनीहरूलाई कुनै दिशातिर भाग्ने मौका थिएन। किनकि उजाडस्थानतिर भाग्दै गरेका इस्राएलीहरू तिनीहरूलाई खेद्नेहरूको विरुद्धमा फर्किसकेका थिए।

21जब यहोशू र सबै इस्राएलीहरूले ढुकेर बस्‍ने मानिसहरूले सहर कब्जा गरेको अनि सहरबाट धुवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरू फनक्‍क फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।

22तिनीहरूलाई ढुकेर बस्‍ने मानिसहरू पनि तिनीहरूको विरुद्धमा सहरबाट निस्किआए; र तिनीहरू दुवैतिर इस्राएली सेनाहरू भएको बीचमा थुनिए। इस्राएलीहरूले बाँचेका र भाग्नेहरू कसैलाई पनि जीवित रहन नदिई सबैलाई काटेर मारे।

23तर तिनीहरूले ऐका राजालाई जिउँदै पक्रे, र तिनलाई यहोशूकहाँ ल्याए।

24उजाडस्थानमा इस्राएलीहरूलाई खेद्‌दै आएका ऐका सबै मानिसहरूलाई त्यहीँ नै तरवारले मारे। अनि सबै इस्राएलीहरू ऐमा फर्केर आए। तब त्यहाँ भएकाहरूलाई पनि मारे।

25त्यस दिन ऐका सबै मानिसहरू, बाह्र हजार पुरुष र स्त्रीहरू मारिए।

26किनकि ऐमा बस्‍ने सबै मनिसहरूलाई विनाश नगरेसम्म यहोशूले भाला पक्रेको हात बिसाएनन्।

27तर याहवेहले यहोशूलाई निर्देशन दिनुभएझैँ इस्राएलीले त्यस सहरका गाईबस्तु र लुटको माल आफ्ना निम्ति बोकेर लगे।

28यसरी यहोशूले ऐलाई जलाएर भग्नावशेषको रास बनाइदिए, जुन आजको दिनसम्म निर्जन छँदैछ।

29यहोशूले ऐको राजालाई एउटा रूखमा झुण्ड्याइदिए; र तिनलाई साँझसम्मै त्यहाँ छोडिदिए। सूर्यास्तमा तिनले राजाको शरीरलाई रूखबाट उतारेर सहरको ढोकाको सँघारमा फ्याँकिदिन आदेश दिए। अनि तिनीहरूले त्यसमाथि ढुङ्गाहरूको थुप्रो लगाइदिए, जुन थुप्रो आजको दिनसम्म छँदैछ।

30तब यहोशूले एबाल डाँडामा याहवेह इस्राएलका परमेश्‍वरका निम्ति एउटा वेदी बनाए,

31जुनचाहिँ याहवेहका सेवक मोशाले इस्राएलीहरूलाई आज्ञा दिएअनुसार र तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार, फलामको कुनै औजार प्रयोग नगरिएका र नकाटिएका ढुङ्गाहरूको वेदी थियो। त्यसमाथि तिनीहरूले याहवेहका निम्ति होमबलि र मेलबलिहरू चढाए।

32त्यहाँ इस्राएलीहरूको उपस्थितिमा यहोशूले त्यस ढुङ्गाहरूमा मोशाले लेखेका व्यवस्थाको नक्‍कल उतारे।

33सबै इस्राएलीहरू, तिनीहरूका प्रधानहरू, अधिकृतहरू, न्यायकर्ताहरू, याहवेहको करारको सन्दुक बोक्ने लेवी पुजारीहरूका दुवै तर्फ फर्केर उभिएका थिए। त्यहाँ विदेशीहरू र त्यहाँ जन्मिएका नागरिकहरू पनि थिए। इस्राएलका मानिसहरूलाई आशिष् दिनलाई याहवेहको सेवक मोशाले पहिले नै आदेश दिएझैँ, आधा मानिसहरू गीरीज्जीम डाँडाको सामु र आधाचाहिँ एबाल डाँडाको सामु खडा भए।

34त्यसपछि यहोशूले व्यवस्थाका सबै वचन, आशिष् र श्राप व्यवस्थाको पुस्तकमा लेखिएअनुसार पढे।

35इस्राएलका सम्पूर्ण समुदाय, साथै स्त्री र बालबालिकाहरू र तिनीहरूसँग बस्‍ने विदेशीहरूको सामु मोशाले आज्ञा गरेका वचनहरूमा यहोशूले नपढेको शब्द एउटै पनि थिएन।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath