यहोशू 7
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो।
2यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए।
3जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।”
4यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए।
5तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो।
6तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के।
7अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो!
8हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ?
9कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”
10याहवेहले यहोशूलाई भन्नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?”
11इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्।
12त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनन्। तिनीहरू पिठिउँ फर्काएर भाग्छन्; किनकि तिनीहरूले आफूलाई सर्वनाशको योग्य बनाएका छन्। तिमीहरूले आफ्ना बीचबाट नष्ट हुनका निम्ति अर्पण गरिएका चीजहरूलाई नष्ट नगरेसम्म म अब उसो तिमीहरूसँग रहनेछैन।
13“उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ।
14“ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्।
15अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ”
16भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए।
17तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए।
18यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्यो।
19तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।”
20आकानले जवाफ दियो, “यो कुरा सत्य हो! मैले याहवेह इस्राएलका परमेश्वरको विरुद्धमा पाप गरेको छु। मैले गरेको अपराध यही हो:
21लुटको मालमा जब मैले बेबिलोनबाटको एउटा सुन्दर लवेदा, दुई सय सेकेलको चाँदी र पचास सेकेलको सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।”
22यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए।
23तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए।
24तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए।
25अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।” त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए।
26तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी भनिन्छ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath