यहोशू 6
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो।
2तब याहवेहले यहोशूलाई भन्नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु।
3सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू।
4सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्।
5जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।”
6यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “याहवेहको करारको सन्दुक लिएर सात जना पुजारीहरू सन्दुकको अगि-अगि तुरही बोकेर हिँड्नू।”
7अनि तिनले योद्धाहरूलाई आदेश दिए, “अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।”
8जब यहोशूले मानिसहरूसँग कुरा गरिसके, तब याहवेहको अगाडि सात वटा तुरही बोक्ने सात जना पुजारीहरू तुरही बजाउँदै अगि बढेर गए। अनि याहवेहको करारको सन्दुकचाहिँ उनीहरूको पछि-पछि थियो।
9हतियारधारी योद्धाहरू तुरही फुक्ने पुजारीहरूका अगि-अगि गए। अनि रक्षकहरूचाहिँ सन्दुकको पछि-पछि हिँडे। यस समयमा तुरहीहरू बजिरहेका थिए।
10तर यहोशूले योद्धाहरूलाई यसो भनी आज्ञा दिएका थिए, “मैले तिमीहरूलाई जोरसँग कराउने आज्ञा नदिएसम्म तिमीहरू नकराउनू। तिमीहरूले आवाज ननिकाल्नू। एक शब्द पनि नबोल्नू। त्यसपछि कराउनू!”
11यसरी तिनले याहवेहको सन्दुकलाई बोकाएर एकपल्ट सहरको फन्को मार्न लगाए। त्यसपछि योद्धाहरू छाउनीमा फर्किआए, र त्यहीँ रात बिताए।
12भोलिपल्ट यहोशू बिहानै उठे, र पुजारीहरूले याहवेहको सन्दुक उठाए।
13सात वटा तुरही बोक्ने सात जना पुजारीहरू याहवेहको सन्दुकको अगि-अगि तुरही फुक्दै हिँडे। हतियारधारी योद्धाहरू तिनीहरूका अगि-अगि गए। अनि पछिल्तिरका रक्षकहरू याहवेहको सन्दुकको पछि-पछि हिँडे। त्यति बेला तुरही बजिरहेको थियो।
14यसरी दोस्रो दिन तिनीहरूले सहरको फन्को मारे, र छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म फन्को मारे।
15सातौँ दिनमा तिनीहरू एकाबिहानै उठे। अनि अगाडिका दिनहरूमा जस्तै सहरलाई फन्को मारे। तर तिनीहरूले त्यस दिनचाहिँ सात चोटि सहरलाई फन्को मारे।
16सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।
17यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्।
18तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ।
19सबै सुन, चाँदी अनि काँसो र फलामका चीजहरू याहवेहका निम्ति पवित्र छन्, र ती वस्तुहरू उहाँको भण्डारमा ल्याउनुपर्छ।”
20तुरहीको आवाज बजेपछि योद्धाहरू कराए। अनि जब मानिसहरू तुरहीको आवाज सुनेर चर्को सोरमा कराए, तब पर्खाल भत्कियो। यसरी सारा मानिस सीधै भित्र पसे, र तिनीहरूले त्यस सहरलाई कब्जा गरे।
21तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए।
22त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।”
23यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे।
24त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे।
25तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्।
26त्यस बेला यहोशूले यो गम्भीर शपथ खाए: “जसले यो यरीहो सहरलाई पुनर्निर्माण गर्ने जिम्मा लिन्छ, त्यो मानिस याहवेहको सामु श्रापित होस्: “त्यसले यसको जग बसाल्दा, त्यसको जेठो छोरा मर्नेछ; यसका मूलढोकाहरू बनाउँदा, त्यसको कान्छा छोरा मर्नेछ।”
27यसरी यहोशूसँग याहवेह हुनुहुन्थ्यो, र तिनको कीर्ति देशभरि फैलियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath