ईसाई धर्म
पछाडि

यहोशू 24

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गराए। तिनले इस्राएलका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाए। अनि तिनीहरूले आफैँलाई परमेश्‍वरको सामु उपस्थित गराए।

2यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे।

3तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्‍याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।

4इसहाकलाई मैले याकोब र एसाव दिएँ। मैले एसावलाई सेइरको पहाडी देश अधिकार गर्न दिएँ। तर याकोब र उसका छोराहरू तल इजिप्टतिर गए।

5“ ‘तब मैले मोशा र हारूनलाई पठाएँ। अनि मैले इजिप्टमा विपत्तिहरू ल्याएर त्यहाँका मानिसहरूलाई कष्‍ट दिएँ। मैले तिमीहरूलाई बाहिर निकालेर ल्याएँ।

6जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, तब तिमीहरू लाल समुद्रमा आइपुग्यौ। अनि इजिप्टियनहरूले घोडचढीहरू र रथहरूसहित तिमीहरूलाई समुद्रसम्मै पछ्याए।

7तर तिनीहरूले सहायताको निम्ति याहवेहसँग पुकार गरे। अनि मैले तिमीहरू र इजिप्टियनहरूको बीचमा अन्धकार पारेँ। मैले समुद्रलाई तिनीहरूमाथि घोप्ट्याइदिएँ; र तिनीहरूलाई डुबाइदिएँ। मैले इजिप्टियनहरूलाई गरेका कुरा तिमीहरूले आफ्नै आँखाले देख्यौ। त्यसपछि तिमीहरू उजाडस्थानमा लामो समयसम्म बस्यौ।

8“ ‘मैले तिमीहरूलाई यर्दनको पूर्वमा बस्‍ने एमोरीहरूको देशमा ल्याएँ। तिनीहरूले तिमीहरू विरुद्ध युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिनीहरूलाई तिमीहरूको सामुबाट नाश गरिदिएँ। अनि तिमीहरूले तिनीहरूको देशमा अधिकार गर्‍यौ।

9जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्‍यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो।

10तर मैले बालामको कुरा सुनिनँ। यसैकारण त्यसले तिमीहरूलाई बारम्बार आशिष् दियो। अनि मैले तिमीहरूलाई बालकको हातबाट छुटाएँ।

11“ ‘त्यसपछि तिमीहरू यर्दन पार गरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरूले तिमीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले जस्तै तिमीहरूको विरुद्धमा एमोरीहरू, परिज्जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हिव्वीहरू र यबूसीहरूले पनि युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ।

12मैले तिमीहरूको अगि-अगि अरिङ्गाल पठाइदिएँ; जसले तिनीहरूलाई र दुई एमोरी राजाहरूलाई पनि तिमीहरूको सामुबाट धपाइदिएँ। त्यो तिमीहरूको आफ्नै तरवार र धनुकाँडले गरेका थिएनौ।

13यसरी मैले तिमीहरूलाई तिमीहरूले परिश्रम नै नगरेको देश र तिमीहरूले नबनाएका सहरहरू दिएँ। अनि तिमीहरू त्यहाँ बस्यौ र तिमीहरूले नरोपेका दाखबारी र जैतुनबारीका फल खाइरहेका छौ।’

14“यसकारण अब याहवेहको डर मानेर पूर्ण विश्‍वासयोग्यतामा उहाँको सेवा गर। तिमीहरूका पितापुर्खाहरूले नदीपारि र इजिप्टमा पुजेका देवी-देवताहरू फ्याँक र याहवेहको सेवा गर।

15तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।”

16तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्!

17हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्‍वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो।

18अनि याहवेहले हाम्रो सामुबाट यस देशमा बस्‍ने एमोरीहरू लगायत सबै जातिहरूलाई धपाइदिनुभयो। हामी पनि याहवेहकै सेवा गर्नेछौँ; किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ।”

19यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले याहवेहको सेवा गर्न सक्दैनौ; किनकि उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ। उहाँ डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूका विद्रोह र पापहरू क्षमा गर्नुहुन्‍न।

20यदि तिमीहरूले याहवेहलाई त्यागेर विदेशी देवी-देवताहरूलाई सेवा गर्‍यौ भने उहाँले तिमीहरूमाथि अहिलेसम्म गर्नुभएको भलाइबाट फर्कनुहुनेछ। अनि उहाँले तिमीहरूमाथि विपत्ति ल्याएर तिमीहरूलाई भष्म पारिदिनुहुनेछ।”

21तर मानिसहरूले यहोशूलाई भने, “होइन! हामी याहवेहकै सेवा गर्नेछौँ।”

22तब यहोशूले भने, “तिमीहरूले याहवेहको सेवा गर्न रोजेकोमा तिमीहरू आफैँ आफ्नो विरुद्धमा साक्षी छौ।” तिनीहरूले जवाफ दिए, “हजुर, हामी आफैँ साक्षी छौँ।”

23यहोशूले भने, “त्यसो भए अब तिमीहरूसँग भएका विदेशी देवी-देवताहरू हटाओ। अनि तिमीहरूका हृदय याहवेह इस्राएलका परमेश्‍वरतर्फ लगाओ।”

24अनि मानिसहरूले यहोशूलाई भने, “हामी याहवेह हाम्रा परमेश्‍वरकै सेवा गर्नेछौँ; र उहाँकै आज्ञापालन गर्नेछौँ।”

25त्यस दिन यहोशूले मानिसहरूका निम्ति करार बाँधे। अनि शेकेममा तिनीहरूका निम्ति उर्दी र नियमहरू बनाए।

26अनि यहोशूले ती कुराहरू परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिए। अनि त्यसलाई याहवेहको पवित्र ठाउँको छेउमा फलाँटको रूखमुनि खडा गरे।

27तिनले सबै मानिसहरूलाई भने, “हेर! यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ। याहवेहले हामीलाई भन्‍नुभएका सबै कुराहरू यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्‍वरप्रति विश्‍वासयोग्य रहेनौ भने यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।”

28त्यसपछि यहोशूले प्रत्येक मानिसहरूलाई तिनीहरूका आ-आफ्नै उत्तराधिकारको ठाउँमा पठाइदिए।

29यी कुराहरूपछि याहवेहका सेवक, नूनका छोरा यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।

30अनि तिनीहरूले उनलाई उनको उत्तराधिकारको ठाउँ गाश पर्वतको उत्तरमा भएको एफ्राइमको पहाडी मुलुकमा रहेको तिम्नथ-सेरहमा गाडे।

31इस्राएलले यहोशूको र उनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै याहवेहको सेवा गर्दैरहे जसले इस्राएलका निम्ति याहवेहले गर्नुभएको हरेक कुराहरूको अनुभव गरेका थिए।

32इस्राएलीहरूले इजिप्टबाट ल्याएका योसेफका हड्डीहरू शेकेमका पिता हामोरका छोराहरूबाट एक सय चाँदीका टुक्राहरूमा याकोबले किनेको जमिन शेकेममा गाडे। त्यो शेकेम योसेफका सन्तानको उत्तराधिकार भयो।

33अनि हारूनका छोरा एलाजारको पनि मृत्यु भयो। तब तिनका छोरा पीनहासलाई दिइएको भाग एफ्राइमको पहाडी मुलुकको गेबामा तिनलाई गाडियो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath