यहोशू 10
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्न थालेका छन् भन्ने कुरा पनि तिनले सुने।
2यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए।
3यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए।
4तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।”
5तब पाँच जना एमोरी राजाहरू, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले एकसाथ मोर्चा बाँधे। तिनीहरूले आफ्ना सबै फौजहरू लिएर गिबोनको विरुद्धमा लडाइँका निम्ति तयार भए; अनि त्यसमाथि आक्रमण गरे।
6तब गिबोनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनी खबर पठाए: “तपाईंका सेवकहरूलाई नत्याग्नुहोस्। हामीकहाँ चाँडो आएर हामीलाई बचाउनुहोस्! हामीलाई सहायता गर्नुहोस्; किनकि पहाडी मुलुकबाट सबै एमोरी राजाहरूले हाम्रो विरुद्धमा मोर्चा बाँधेका छन्।”
7यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे।
8अनि याहवेहले यहोशूलाई भन्नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”
9गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे।
10याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्केदासम्म लखेटेर मार्दै गए।
11तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे।
12याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।”
13यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्यो।
14याहवेहले यसरी मानिसको प्रार्थना सुन्नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!
15त्यसपछि यहोशू सारा इस्राएलीसँग गिलगालको छाउनीमा फर्के।
16अब ती पाँच जना एमोरी राजाहरू भागे, र मक्केदामा भएको गुफामा लुकेर बसे।
17जब ती पाँच जना राजाहरू मक्केदामा भएको गुफामा लुकिरहेका कुरा यहोशूलाई बताइयो,
18तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ।
19तर तिमीहरू भने त्यहाँ नरोकिनू। तिमीहरूले शत्रुहरूलाई खेदेर पछिल्तिरबाट आक्रमण गर्नू र तिनीहरूलाई तिनीहरूका सहरमा पुग्न नदिनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।”
20यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए।
21त्यसपछि सारा सेना मक्केदामा भएको छाउनीमा सुरक्षितसाथ यहोशूकहाँ फर्के। अनि इस्राएलीहरूको विरुद्धमा कसैले पनि एउटा शब्द पनि बोलेनन्।
22यहोशूले भने, “गुफाको मुखबाट ढुङ्गा हटाओ, र ती पाँच राजाहरूलाई बाहिर निकालेर मकहाँ ल्याओ।”
23यसकारण तिनीहरूले ती पाँच राजाहरू, जो यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरू थिए, तिनीहरूलाई गुफाबाट बाहिर निकालेर ल्याए।
24जब तिनीहरूले ती पाँच राजाहरूलाई यहोशूकहाँ ल्याए, तब तिनले इस्राएलका सबै मानिसहरूलाई बोलाए। अनि तिनीसँग आएका सेनाका सेनापतिहरूलाई भने, “यहाँ आओ, र तिमीहरूका आ-आफ्ना खुट्टा यी राजाहरूका गर्दनमाथि राख।” यसकारण तिनीहरू नजिक आएर आ-आफ्ना खुट्टाहरू तिनीहरूका गर्दनमाथि राखे।
25यहोशूले तिनीहरूलाई भने, “नडराओ, र निरुत्साहित नहोओ। बलियो र साहसी होओ। तिमीहरूले लडाइँ गर्न जाने सबै शत्रुहरूलाई याहवेहले यसै गर्नुहुनेछ।”
26तब यहोशूले ती सबै राजाहरूलाई मारे। अनि तिनीहरूलाई पाँच वटा खम्बाहरूमा झुण्ड्याइदिए। तिनीहरूलाई साँझसम्मै खम्बाहरूमा झुण्डाएर राखियो।
27सूर्यास्तको समयमा यहोशूले आदेश दिए, र तिनीहरूले उनीहरूलाई खम्बाबाट झारे। अनि तिनीहरू लुकेर बसेका गुफामा फ्याँकिदिए। तिनीहरूले गुफाको मुखमा ठूला चट्टानहरू राखिदिए, जुन आजको दिनसम्म छँदैछ।
28त्यस दिन यहोशूले मक्केदा कब्जा गरे। तिनले सहर र त्यस देशका राजालाई तरवारद्वारा परास्त गरे। अनि त्यहाँ भएका हरेक मानिसहरूलाई पूर्ण रूपले नष्ट गरे। तिनले एक जनालाई पनि जीवित छोडेनन्। अनि तिनले यरीहोको राजालाई गरेजस्तै, मक्केदाको राजालाई पनि त्यस्तै गरे।
29तब यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू मक्केदाबाट अगि बढेर लिब्नामा गए, र त्यसलाई आक्रमण गरे।
30याहवेहले त्यो सहर र त्यस देशका राजालाई पनि इस्राएलको हातमा सुम्पिदिनुभयो। यहोशूले त्यो सहर र त्यसमा भएका सबैलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि जीवित छोडेनन्। तिनले त्यहाँका राजालाई पनि यरीहोको राजालाई जस्तै गरे।
31त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लिब्नाबाट लाकीशतर्फ अगि बढे। तिनले त्यसको विरुद्धमा लड्न तयार भए, र त्यसलाई आक्रमण गरे।
32याहवेहले लाकीशलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। अनि यहोशूले यस सहरलाई दोस्रो दिनमा कब्जा गरे। तिनले लिब्नालाई गरेजस्तै, त्यो सहर र त्यसमा भएका हरेकलाई तरवारले नष्ट गरे।
33त्यस बेला गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आएका थिए। तर यहोशूले तिनलाई र तिनका सेनाहरू एउटैलाई पनि जीवित नराखी परास्त गरे।
34त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लाकीशबाट एग्लोन तर्फ अगि बढे। तिनीहरू एग्लोनको विरुद्धमा लड्न तयार भए, र त्यसमाथि आक्रमण गरे।
35तिनीहरूले त्यसलाई त्यही दिन कब्जा गरे। अनि तिनीहरूले लाकीशलाई गरेजस्तै, त्यस सहरमा भएका हरेकलाई तरवारले नष्ट गरे।
36त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएली एग्लोनबाट हेब्रोनतर्फ अगि बढे, र त्यसलाई आक्रमण गरे।
37तिनीहरूले त्यस सहरलाई कब्जामा लिए। अनि त्यसका राजालाई समेत त्यसका गाउँहरू, र त्यसमा भएका हरेकलाई तरवारले नष्ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। एग्लोनलाई गरेजस्तै, तिनीहरूले त्यसलाई र त्यसमा भएका हरेकलाई नष्ट गरे।
38त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू दबीरतर्फ फर्के, र त्यसलाई आक्रमण गरे।
39तिनीहरूले त्यस सहरलाई त्यसका राजालाई र त्यसका गाउँहरूलाई कब्जामा लिए। अनि तिनीहरूलाई पूर्ण रूपमा तरवारले नष्ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। तिनीहरूले हेब्रोन र लिब्ना तथा त्यहाँका राजाहरूलाई गरेजस्तै, दबीर र त्यसका राजालाई पनि त्यस्तै गरे।
40यसरी यहोशूले पहाडी मुलुक, दक्षिणी भाग, पश्चिमी फेदी, पर्वतीय पाखाहरू र त्यहाँका सबै राजाहरू लगायत सम्पूर्ण इलाकालाई अधीनमा पारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। याहवेह इस्राएलका परमेश्वरले आज्ञा गर्नुभएझैँ, तिनले सास हुने सबैलाई पूर्ण रूपमा नाश गरे।
41यहोशूले तिनीहरूलाई कादेश-बर्नेदेखि गाजासम्म र गोशेनको सम्पूर्ण इलाकादेखि गिबोनसम्मै अधीनमा पारे।
42यी सबै राजाहरू र तिनीहरूका देशहरूलाई यहोशूले एकै पटकमा जिते। किनकि याहवेह इस्राएलका परमेश्वरले नै इस्राएलको निम्ति युद्ध गर्नुभयो।
43त्यसपछि यहोशू र सारा इस्राएलीहरू गिलगालमा भएको छाउनीमा फर्के।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath