ईसाई धर्म
पछाडि

इयोब 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब इयोबले जवाफ दिएर भने:

2“यदि मैले मेरो वेदना तौलिन मात्र सकेको भए, र मेरा सबै कष्‍ट तराजुमा राख्न सकेको भए!

3निश्‍चय नै यो समुद्रको बालुवाभन्दा पनि बढी गह्रौँ हुनेथियो— त्यसैले मेरो रुखो बोलीमा कुनै आश्‍चर्य मान्‍नुपर्दैन।

4सर्वशक्तिमान्‌का काँडहरू मभित्र छेडिएका छन्, जसको विष मेरो आत्माले पिउँदछ; परमेश्‍वरको त्रास मेरो विरुद्धमा लस्करै खडा भएका छन्।

5के जङ्गली गधाले घाँस पाउँदा हिनहिनाउँछ र? अथवा दानापानी पाउँदा गोरु डुक्रन्छ र?

6स्वाद नभएको भोजन नुनविना खान सकिन्छ र? अथवा अण्डाको सेतो भागमा स्वाद हुन्छ र?

7म त्यस्तो भोजनलाई छुन पनि इन्कार गर्छु; किनकि यसले मलाई वाक्‍कै बनाउँछ।

8“हाय, परमेश्‍वरले मेरो बिन्ती सुनिदिनुभएको भए, कि त मैले आशा गरेको कुरा दिनुभएको भए,

9यदि परमेश्‍वरले मलाई धुलोपिठो पार्न राजी हुनुभएको भए, अनि आफ्नो हात पसारेर मेरो जीवन मार्नुभएको भए त हुनेथियो!

10तब मैले मेरो मृत्युमा चैन पाउनेथिएँ, यस्तो असह्‍य कष्‍टमा आनन्दित हुनेथिएँ, किनकि मैले पवित्र परमेश्‍वरको वचनलाई अस्वीकार गरेको छैनँ।

11“अब मसँग सहन सक्ने बल नै छैन, तब मैले अझै के आशा राखूँ? अरू के नै सम्भावना छ, जसको लागि म धीरजी भइरहूँ?

12के म ढुङ्गाजस्तै बलियो छु र? के मेरो शरीर काँसोको हो र?

13के आफैँलाई बचाउने कुनै शक्ति मसँग छ र; अहिले प्रत्येक स्रोत मबाट खोसिएको छ?

14“कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने, त्यसले सर्वशक्तिमान्‌को भयलाई त्याग्दछ।

15तर मेरा दाजुभाइहरू खहरे खोलाहरू जस्तै भर पर्न नसकिने खालका छन्, तिनीहरू बगिजाने खोलाजस्तै मात्र छन्,

16तिनीहरू बरफ पग्लेर अन्धकार भएजस्तै र हिउँ पग्लेर उर्लिएका भलजस्तै छन्,

17तर त्यो सुक्खा ऋतुमा बग्नै छोड्छ, र गर्मीमा ती बगेका ठाउँहरूबाट हराइहाल्छन्।

18यात्री दलहरू पानीको खोजीमा आफ्नो बाटोबाट तर्किजान्छन्; तिनीहरू मरुभूमिको ठाउँमा पुग्छन् र नष्‍ट हुन्छन्।

19तेमाका यात्री दलहरूले पानी खोज्छन्, शेबाका व्यापारी यात्रीहरूले पनि आशाको साथ त्यसलाई खोज्दछन्।

20यात्रीहरू ढुक्‍क भएको कारण तिनीहरू दुःखी भएका छन्; तिनीहरू लाजमा पर्नलाई मात्र पुग्छन्।

21अहिले तपाईंहरू पनि मेरो लागि काम नलाग्ने साबित हुनुभयो; तपाईंहरू मेरो डरलाग्दो अवस्था देखेर डराउनु भएको छ।

22के मैले कहिल्यै यसो भनेको छु, ‘मलाई केही दिनुहोस्, अथवा तपाईंहरूको सम्पत्तिबाट मेरा लागि मोल तिर्नुहोस्,

23अथवा मलाई शत्रुको हातबाट छुटाउनुहोस्, वा निर्दयी मानिसहरूको पञ्जाबाट मलाई छुटाउनुहोस् भनेर कहिल्यै भनेको छु’?

24“मलाई सिकाउनुहोस्, र म चुप लाग्नेछु; मैले कहाँ गल्ती गरेको छु, देखाउनुहोस्!

25इमानदार वचनहरू कत्ति कष्‍टदायक छन्, तर तपाईंहरूका तर्कहरूले के प्रमाणित गर्दछ?

26के तपाईंहरूले मैले भनेका कुराहरूलाई सुधार्न खोज्नुभएको हो, र मेरा निराशजनक शब्दहरूलाई हावाझैँ सम्झनुहुन्छ?

27तपाईंहरूले त टुहुराहरूलाई पनि चिट्ठा हाल्नुहुन्छ, र आफ्ना मित्रलाई समेत साटफेर गर्नुहुन्छ।

28“तर अहिले मलाई हेरेर दया गर्नुहोस्। के म तपाईंहरूको सामु झूटो बोल्छु र?

29सोच्नुहोस्, अन्याय नगर्नुहोस्; फेरि विचार गर्नुहोस्; किनकि मेरो सत्यनिष्‍ठा अझै प्रश्नमा छ।

30के मेरो जिब्रोमा केही दुष्‍टता छ? के मेरो मुखले खराबी छुट्याउन सक्दैन र?

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath