इयोब 41
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“के तैँले लिव्यातनलाई माछाको बल्छीले तान्न सक्छस्, वा त्यसको जिब्रोलाई डोरीले बाँध्न सक्छस्?
2के तैँले त्यसको नाकबाट डोरी छिराउन सक्छस्; वा त्यसको चिउँडोलाई बल्छीले छेड्न सक्छस्?
3के त्यसले तँसँग दयाको भीख माग्ला? वा त्यसले तँसँग नम्र भएर बोल्ला?
4के जीवनकालभरि नै तेरो कमारो हुनलाई त्यसले तँसँग वाचा बाँध्ला र?
5के तैँले त्यसलाई चरालाई झैँ घरमा पाल्न सक्छस्? अथवा तेरो घरका युवतीहरूका निम्ति त्यसलाई बाँधेर राख्न सक्छस्?
6के व्यापारीहरूले त्यसलाई किन्ने प्रयास गर्लान् र? के तिनीहरूले त्यसलाई पसलेहरूका बीचमा भागबण्डा लाउनान् र?
7के तैँले त्यसको छालामा भालाले रोप्न सक्छस्? अथवा त्यसको टाउकोलाई माछा मार्ने अङ्कुसेले छेड्न सक्छस्?
8यदि तैँले त्यसमाथि हात उठाइस् भने तैँले त्यससँगको लडाइँलाई जिन्दगीभर याद गर्नेछस्, अनि त्यससित फेरि कहिल्यै जोरी खोज्नेछैनस्!
9त्यसलाई वशमा ल्याउन आशा राख्नु नै बेकार छ; त्यसलाई देख्दैखेरि पनि मानिस हताश हुन्छ।
10त्यसलाई कसैले उक्साउने साहस गर्दैन भने, झन् मेरो विरुद्धमा खडा हुने आँट कसले गर्न सक्ला?
11मैले फिर्ता गर्नैपर्छ भनेर मेरो विरुद्धमा को उभिन सक्छ? किनकि आकाशमुनि भएका हरेक थोक मेरै हुन्।
12“म लिव्यातनका अङ्गहरू, त्यसको बल र त्यसको सुन्दर बनावटको विषयमा बोल्न चुप रहनेछैनँ।
13त्यसको बाहिरी छाला कसले उतार्न सक्छ? कसले त्यसको दोबर मोटो हतियारलाई छेड्न सक्छ?
14डरलाग्दा दाँतहरूले घेरेको त्यसको मुखलाई कसले खोल्ने आँट गर्न सक्छ?
15त्यसका खपटा ढालहरू मिलेर बनेका पङ्क्तिहरू जस्तै एकसाथ कस्सिएर बसेका छन्;
16एक-अर्कासँग एकदमै खापैखाप टाँसिएकोले, त्यसको बीचबाट हावा पनि छिर्न सक्दैन।
17ती एक-आपसमा कस्सिएर जोडिएका छन्; तिनीहरू एक-आपसमा टाँसिएका छन्, र त्यसलाई छुट्टाउन सकिँदैन।
18लिव्यातनले हाच्छिउँ गर्दा ज्योतिको ज्वालाझैँ चम्कन्छ; त्यसका आँखाहरू बिहानीको किरणहरूजस्ता छन्।
19त्यसको मुखबाट आगोका ज्वालाहरू निस्कन्छन्; आगोका झिल्काहरू बाहिर निस्कन्छन्।
20बलिरहेको आगोमाथि उम्लेको भाँडाबाट निस्केको वाफझैँ त्यसको नाकबाट धुवाँको मुस्लो निस्कन्छ।
21त्यसको मुखबाट ज्वालाहरू निस्कन्छन्, र त्यसको सासले कोइलाहरूमा आगो सल्काइदिन्छ।
22त्यसको गर्दनमा बलको बास हुन्छ; जहाँ-जहाँ त्यो जान्छ, त्रास फैलिन्छ।
23त्यसको मासु पत्रैपत्रा परेर कस्सिएर जोडिएको हुन्छ; त्यो स्थिर र अटल हुन्छ।
24त्यसको छाती चट्टानजस्तै कडा, जाँतोको तल्लो भागजस्तै कडा हुन्छ।
25जब त्यो खडा भएर उठ्छ, तब शक्तिशालीहरू पनि डराउँछन्; त्यसले आक्रमण गर्नुअगि नै तिनीहरू पछि हट्छन्।
26त्यसलाई न तरवार, न भाला न तीर, अथवा न त बर्छाले नै केही असर पार्न सक्छ।
27त्यसले फलामलाई परालझैँ, र काँसोलाई कुहेको काठझैँ ठान्छ।
28काँडले त्यसलाई भगाउन सकिँदैन; त्यसका निम्ति घुयेँत्रोको ढुङ्गाहरू भुसजस्तै हुन्।
29त्यसले मुङ्ग्रोलाई परालको टुक्राझैँ ठान्छ; अनि भाला चलाउँदाको आवाजमा त्यो हाँस्छ।
30त्यसको पेट मुनिको भाग फुटेका भाँडाका तीखा-तीखा खपटाझैँ हुन्छन्; दाँदे लाउँदा खेत कोतरिएझैँ त्यसले हिलोमा आफ्नो छाप छोड्छ।
31त्यसले गहिरो सागरलाई भाँडामा उम्लेको पानीझैँ बनाउँछ, र त्यसले समुद्रलाई भाँडामा मलम घोलेझैँ घोल्छ।
32टलक्क टल्किने धार छोड्दै त्यो हिँड्छ; कसैले त्यस गहिरो सागरलाई सेतो कपाल फुलेको झैँ ठान्छन्।
33पृथ्वीमा त्योजस्तो अरू कुनै जीव छैन, जसलाई निडर प्राणीको रूपमा बनाइएको छ।
34त्यसले सबै अहङ्कारी जनावरहरूलाई केही ठान्दैन; त्यो सबै घमण्डीहरूका राजा हो।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath