ईसाई धर्म
पछाडि

इयोब 2

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1फेरि अर्को दिन स्वर्गदूतहरू आफूलाई याहवेहको सामु उपस्थित गराउन आए, र शैतान पनि तिनीहरूसँगै आफूलाई उहाँको सामु उपस्थित गराउन आयो।

2याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आएको होस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”

3तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; ऊजस्तो निर्दोष र धर्मी, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि अलग रहने, अर्को मानिस छँदैछैन। अझै पनि ऊ आफ्नो सत्यनिष्‍ठामा रहिरहेको छ। यद्यपि कारणविना उसलाई नाश गर्नलाई तैँले उसको विरुद्धमा मलाई उक्साइस्।”

4अनि शैतानले जवाफ दियो, “छालाको साटो छाला! मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सबै थोक दिनेछ।

5तर अब तपाईंले आफ्नो हात पसारेर त्यसको शरीर र हड्डीमा प्रहार गर्नुहोस्, तब निश्‍चय नै त्यसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”

6याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।”

7तब शैतान याहवेहको सामुबाट निस्केर गइहाल्यो, र त्यसले इयोबको शिरको थाप्लोदेखि खुट्टाको पैतालासम्मै पीडादायी घाउखटिराहरूले प्रहार गर्‍यो।

8त्यसपछि इयोबले फुटेको भाँडाको एउटा खपटो लिए; अनि आफूलाई कन्याउँदै खरानीको थुप्रोमा बसे।

9यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो सत्यनिष्‍ठामा अडिरहनुहुन्छ? बरु परमेश्‍वरलाई सराप्नुहोस् र मर्नुहोस्!”

10तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै कुरा गरिरहेकी छौ। के हामीले परमेश्‍वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?” यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।

11जब इयोबका तीन मित्र एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आएका सबै विपत्तिको बारेमा सुने; तब तिनीहरू एकसाथ भेला भई तिनलाई सहानुभूति देखाउन र सान्त्वना दिन आ-आफ्ना घरबाट निस्के।

12जब तिनीहरूले इयोबलाई टाढैबाट देखे, तिनीहरूले तिनलाई चिन्‍नै सकेनन्; तब तिनीहरू चर्को सोरमा रुन थाले, र आ-आफ्ना लबेदा च्याते, र तिनीहरूले आफ्नो शिरमाथि खरानीको धुलो छर्के।

13तब तिनीहरू सात दिन र सात रातसम्म इयोबसँगै भुइँमा बसे। तिनीहरूमध्ये कसैले तिनीसित एक शब्द पनि बोलेनन्; किनकि तिनले साह्रै ठूलो पीडा भोगिरहेको तिनीहरूले देखे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath