ईसाई धर्म
पछाडि

इयोब 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब सोपर नमातीले जवाफ दिए:

2“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ; किनकि म धेरै विचलित भएको छु।

3जब म मेरो अपमान हुने गालीहरू सुन्छु, मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।

4“निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,

5कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।

6यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,

7तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’

8कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ, रातको दर्शनजस्तै लोप भएर जान्छ।

9त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।

10त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ; त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।

11त्यसका हड्डीहरूमा भरिएका यौवन त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।

12“दुष्‍टता त्यसको मुखमा मिठो भए तापनि र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,

13तथापि त्यसले त्यो छोड्न सक्दैन, त्यसको मुखमै रहिरहे तापनि

14त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ; र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।

15त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।

16त्यसले सर्पको विष चुस्‍नेछ; विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।

17त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने नदीहरूमा आनन्द लिन पाउनेछैन।

18त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।

19किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ; र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।

20“निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन; त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।

21त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन; त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।

22त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।

23त्यसले आफ्नो पेट भरेको बेला, परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ।

24त्यो फलामको हतियारबाट बाँचे तापनि काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।

25त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। अनि त्रास त्यसमाथि आइपर्नेछ।

26त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।

27आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ; पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।

28त्यसको घरलाई बाढीले, र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।

29परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ, परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath