इयोब 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब बिल्दद शुहीले यस्तो जवाफ दिए:
2“तपाईंले यी भाषणहरू कहिले समाप्त गर्नुहुन्छ? संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौँ।
3हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ, र तपाईंको दृष्टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?
4तपाईं जसले आफ्नो रिसमा स्वयम्लाई टुक्रा-टुक्रा पार्नुभएको छ; के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने? अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?
5“दुष्ट मानिसको बत्ती निभाइन्छ; त्यसको आगोको ज्वाला बल्न छोड्छ।
6त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ; त्यसको छेउमा भएको बत्ती निभेर जान्छ।
7त्यसको बलियो पाइला कमजोर हुन्छ; त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।
8त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ; त्यो त्यसको फन्दामा भौँतारिन्छ।
9धरापले त्यसको कुर्कुच्चामा पक्रन्छ; पासोले त्यसलाई जोडसित समातेर राख्छ।
10त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ; त्यसका बाटोमा एउटा धराप थापिएको छ।
11त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ, र त्यसको हरेक पाइलालाई खेद्दछ।
12विपत्ति त्यसको निम्ति भोकाएको छ; जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ।
13रोगले त्यसका छालाका भागहरू खाइदिन्छ; मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।
14त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ; र आतङ्कहरूको राजाकहाँ लगिन्छ।
15त्यसको पालमा आगोले बास गर्छ, त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।
16तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्, र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्।
17त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ; देशमा त्यसको नामनिशानै रहनेछैन।
18त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ र त्यसलाई संसारबाटै निकालिनेछ।
19त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्; एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्।
20त्यसको दशामा पश्चिमका मानिसहरू चकित हुनेछन्; र पूर्वका मानिसहरू त्रसित हुनेछन्।
21साँच्चै दुष्ट मानिसको घरको दशा यस्तै हुनेछ; परमेश्वरलाई नचिन्नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath