ईसाई धर्म
पछाडि

यूहन्‍ना 9

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्‍टिविहीनलाई देख्नुभयो।

2उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्‍यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्‍टिविहीन जन्म्यो?”

3येशूले भन्‍नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्‍वरको काम प्रकट होस् भन्‍ने हेतुले यसो भएको हो।

4दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।

5म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”

6यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो।

7उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।

8त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “बसेर भीख माग्ने मानिस के यही होइन र?”

9कतिले ऊ त्यही मानिस हो भन्‍ने दाबी गरे। अरूहरूले भने, “होइन, तर यो त्योजस्तै देखिन्छ।” तर ऊ आफैँले भन्यो, “म त्यही मानिस हुँ।”

10तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”

11त्यसले जवाफ दियो, “येशू भन्‍ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।”

12तिनीहरूले त्यसलाई सोधे, “ती मानिस कहाँ छन् त?” त्यसले भन्यो, “मलाई थाहा छैन।”

13पहिले दृष्‍टिविहीन भएको त्यस मानिसलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।

14येशूले माटो मुछेर त्यस मानिसको आँखा खोलिदिनुभएको त्यो शब्बाथ दिन थियो।

15त्यसकारण फरिसीहरूले कसरी आँखा देख्ने भइस् भनी त्यसलाई पनि सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, र मैले पखालेँ; अनि अहिले म देख्न सक्ने भएको छु।”

16फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन; किनकि यसले शब्बाथ दिन पालन गर्दैन।” तर अरूले भने, “पापी मानिसले कसरी यस्ता अलौकिक चिन्हहरू गर्न सक्छ र?” यसरी तिनीहरूका बीचमा मतभेद भयो।

17अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्‍टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।” त्यस मानिसले जवाफ दियो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ।”

18यहूदी अगुवाहरूले त्यस दृष्‍टि पाउनेको आमाबुबालाई बोलाएर नसोधेसम्म, त्यो मानिस दृष्‍टिविहीन थियो र त्यसले दृष्‍टि पायो भन्‍ने अझै पनि विश्‍वास गरेनन्।

19तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरा हो? तिमीहरूले दृष्‍टिविहीन जन्मेको भनी यसैलाई भनेको हो? यसले अब कसरी देख्न सक्ने भयो त?”

20त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरा हो, र यो दृष्‍टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौँ।

21तर अहिले यो कसरी देख्न सक्ने भयो, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौँ। यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा यो आफैँ भन्‍न सक्छ।”

22यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए; किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी पहिल्यै निर्णय गरिसकेका थिए।

23त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्।”

24तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई दोस्रोपल्ट फेरि बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्दछौँ, त्यो मानिस पापी हो।”

25त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्‍न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्‍टिविहीन थिएँ, तर अब देख्ने भएको छु!”

26तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्‍यो? उसले कसरी तेरा आँखा खोलिदियो?”

27त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्‍न चाहनुहुन्छ?”

28तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ!

29परमेश्‍वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्‍ने कुरासमेत हामी जान्दैनौँ।”

30त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्‍नुहुन्‍न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।

31हामी जान्दछौँ, परमेश्‍वरले पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर उहाँले परमेश्‍वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्‍नुहुन्छ।

32आजसम्म कसैले जन्मैको दृष्‍टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन।

33यदि उहाँ परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”

34यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।

35तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्‍नुभयो, र त्यसलाई भेट्टाएपछि भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”

36त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्‍वास गर्नेछु।”

37येशूले भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।”

38तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्‍यो।

39येशूले भन्‍नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्‍टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्‍टिविहीन होऊन्।”

40उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्‍नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्‍टिविहीन हौँ?”

41येशूले भन्‍नुभयो, “यदि तिमीहरू दृष्‍टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath