ईसाई धर्म
पछाडि

यूहन्‍ना 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तर येशू जैतुन डाँडामा जानुभयो।

2भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो।

3व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए,

4र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो।

5व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?”

6तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो।

7जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”

8अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।

9त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो।

10तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”

11त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”

12फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्‍डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”

13तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।”

14येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्‍ने बारेमा तिमीहरू जान्दैनौ।

15तिमीहरू मानिसको दृष्‍टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ।

16तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु।

17तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।

18मेरो आफ्नै विषयमा गवाही दिने एक जना म नै हुँ। अनि मेरो अर्को गवाहीचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”

19तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ, न त मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ।”

20येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन।

21येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु, र तिमीहरूले मलाई खोज्नेछौ। अनि तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”

22ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?”

23तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ।

24मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्‍वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।”

25तिनीहरूले सोधे, “तिमी को हौ त?” येशूले जवाफ दिनुभयो, “म जो हुँ, मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ।

26तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्‍नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।”

27तर उहाँले पिताको विषयमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्।

28त्यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ।

29जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।”

30उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्‍वास गरे।

31येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ।

32तब तिमीहरूले सत्यतालाई जान्‍नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”

33तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?”

34येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो।

35घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ।

36त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्‍चै स्वतन्त्र हुनेछौ।

37तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन।

38मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।”

39तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” येशूले भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ।

40तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्।

41तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्‍वर हुनुहुन्छ।”

42येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूका पिता परमेश्‍वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्‍वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्‍वरले पठाउनुभयो।

43मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्‍न सक्दैनौ।

44तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।

45किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ!

46के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ?

47जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो, तिमीहरू परमेश्‍वरका होइनौ।”

48यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?”

49येशूले भन्‍नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ।

50म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ।

51म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”

52अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ।

53के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?”

54येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ।

55तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूसरह झूटो बन्‍ने थिएँ। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु।

56तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।”

57यहूदीहरूले उहाँलाई भने, “तिमी आफैँ पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?”

58येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!”

59यतिबेला तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे। तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्‍क बाहिर निस्केर जानुभयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath