यूहन्ना 7
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो। किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए।
2तर यहूदीहरूको छाप्रोबासको चाड नजिकै थियो।
3येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
4समाजमा ख्याति प्राप्त गर्न चाहने कसैले पनि गुप्तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
5किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथिए।
6त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो लागि अझै ठिक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठिकै हुन्छ।
7संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ। किनकि यसले जे गर्दैछ, त्यो दुष्ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु।
8तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्नँ। किनकि मेरो निम्ति ठिक समय अझै आएको छैन।”
9यी कुराहरू भन्नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।
10तर उहाँका भाइहरू चाडमा गए, यसैले उहाँ पनि खुल्लमखुल्ला होइन, तर गुप्त रूपमा त्यहाँ जानुभयो।
11चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए।
12भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।” अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।”
13तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्लमखुल्ला केही भन्दैनथिए।
14अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो।
15यहूदीहरूले छक्क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्त गरे?”
16येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
17यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ।
18जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन।
19के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”
20भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”
21येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्क पर्दछौ।
22तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथ दिनमा बालकको खतना गर्दछौ।
23अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथको दिनमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथ दिनमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ?
24केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।”
25तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र?
26अनि यिनी त त्यहीँ छन्, र खुल्लमखुल्ला बोल्दैछन्। तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्त मानिसहरूले पनि यिनी नै ख्रीष्ट हुन् भनी साँच्चै ठहर गरे कि कसो?
27तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”
28तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्च सोरले भन्नुभयो, “तिमीहरू मलाई पक्कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ।
29तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
30यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन।
31तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, “जब ख्रीष्ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?”
32भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।
33येशूले भन्नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
34तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
35यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
36यिनले यसो भन्नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”
37चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्च सोरमा भन्नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्।
38जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
39यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
40उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्चय नै यी मानिस अगमवक्ता हुन्।”
41अरूहरूले भने, “उहाँ ख्रीष्ट हुनुहुन्छ।” तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्ट कसरी गालीलबाट आउन सक्छन् र?
42के धर्मशास्त्रमा ख्रीष्ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?”
43यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो।
44कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन।
45अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
46पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।”
47फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त?
48के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्वास गरेको छ र?
49तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”
50निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने,
51“के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”
52तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।”
53त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath