यूहन्ना 6
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो।
2अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए।
3त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्नुभयो।
4यहूदीहरूको निस्तार चाड नजिकै थियो।
5येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?”
6उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो।
7फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!”
8उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने,
9“यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
10येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए।
11त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
12तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।”
13तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे।
14येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्न लागे, “निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।”
15तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो।
16साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे,
17र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन।
18त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो।
19तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए।
20तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ!”
21तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
22भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे।
23त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए।
24त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए।
25तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?”
26येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ।
27नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
28तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?”
29येशूले जवाफ दिनुभयो, “परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।”
30यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्वास गरौँ? तपाईं के गर्नुहुन्छ?
31हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’ ”
32येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
33किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।”
34तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।”
35तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
36तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्वास गर्दैनौ।
37पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
38किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ।
39मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ।
40किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन प्राप्त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”
41यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
42तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्न सक्छ?”
43येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर।
44मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
45अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ।
46परमेश्वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ।
47म तिमीहरूलाई साँच्चै भन्दछु, जसले विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ।
48जीवनको रोटी म नै हुँ।
49तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्न खाए, तापनि तिनीहरू मरेर गए।
50तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्।
51जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।”
52त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?”
53येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन।
54जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु।
55किनकि मेरो मासु साँच्चै खानेकुरा र मेरो रगत साँच्चै पिउने कुरा हो।
56जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु।
57जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
58स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।”
59उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्नुभएको हो।
60यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?”
61यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्यायो?
62यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला!
63आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
64तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्नुभएको थियो।
65उहाँले फेरि भन्नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।”
66त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्।
67तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?”
68सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्।
69हामी विश्वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
70तब येशूले भन्नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!”
71(यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।)
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath