यूहन्ना 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने।
2हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्तिस्मा दिन्थे।
3प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एकपल्ट गालील प्रदेश फर्कनुभयो।
4उहाँलाई सामरियाबाट भएर जानुपर्यो।
5त्यसकारण उहाँ सामरियाको सुखार भन्ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।
6त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
7जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?”
8(उहाँका चेलाहरू खानेकुरा किन्न सहरमा गएका थिए।)
9त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
10येशूले त्यसलाई भन्नुभयो, “यदि तिमीले परमेश्वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
11त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ?
12के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
13येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ।
14तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।”
15त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
16उहाँले त्यसलाई भन्नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
17त्यसले जवाफ दिई, “मेरो पति छैन।” येशूले त्यसलाई भन्नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ।
18वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”
19त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ।
20हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”
21येशूले भन्नुभयो, “ए नारी, मलाई विश्वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ।
22तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ।
23तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।
24परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
25त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्ट गरिदिनुहुनेछ।”
26तब येशूले भन्नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
27त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।
28त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी,
29“आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
30तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।
31यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी बिन्ती गरे।
32तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।”
33त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?”
34येशूले भन्नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।
35के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ।
36अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्।
37त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्ने भनाइ सत्य छ।
38मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”
39“मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्वास गरे।
40यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्नुभयो।
41अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्वास गरे।
42तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
43दुई दिनपछि उहाँ गालील जानुभयो।
44(येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।)
45उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए।
46उहाँ फेरि एकपल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो।
47जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।
48येशूले तिनलाई भन्नुभयो, “अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्वास गर्दैनौ।”
49“हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने।
50“तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो। तिनले येशूको वचनमा विश्वास गरे, र फर्के।
51तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए।
52छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।”
53तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्वास गरे।
54यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath