यूहन्ना 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1फरिसी दलका निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए।
2तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”
3येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।”
4निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्न त सक्दैन!”
5येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछैन।
6शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ।
7‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्ने मेरो भनाइमा अचम्म नमान।
8बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।”
9निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?”
10येशूले भन्नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ?
11म तिमीलाई साँच्चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ।
12मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु। तर पनि तिमीहरू विश्वास गर्दैनौ। तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्वास गरौला?
13स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा गएको छैन।
14जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र पनि उचालिनैपर्छ,
15तब उहाँमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।”
16किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
17किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो।
18जसले उहाँमाथि विश्वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्वरका अद्वितीय पुत्रको नाममा विश्वास गरेको छैन।
19फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए।
20हरेक जसले दुष्ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्ने डरले त्यो ज्योतिमा आउँदैन।
21तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्वरद्वारा गरिएका हुन् भन्ने कुरा स्पष्ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।
22यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो। उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्तिस्मा दिनुभयो।
23यसै समयमा यूहन्नाले पनि सालीमको नजिकै एनोनमा बप्तिस्मा दिइरहेका थिए। किनकि त्यहाँ प्रशस्त पानी थियो। अनि बप्तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए।
24(यो यूहन्ना झ्यालखानामा पर्नुभन्दा अगिको कुरा थियो।)
25यूहन्नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो।
26तिनीहरू यूहन्नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्तिस्मा दिँदैहुनुहुन्छ। अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।”
27यसै कुरालाई यूहन्नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसले स्वर्गबाट जे दिइन्छ, त्यो मात्र पाउन सक्छ।
28‘म ख्रीष्ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्ने बारेमा तिमीहरू आफैँले गवाही दिन सक्छौ।
29दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ। अनि उसको सोर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ।
30उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।
31“जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ।
32उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्।
33जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ।
34किनकि परमेश्वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्वरकै वचन बोल्दछ। किनकि परमेश्वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ।
35पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ।
36जसले पुत्रमाथि विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्वरको क्रोध त्यसमा रहन्छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath