यूहन्ना 1
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
2आदिमा उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो।
3सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन।
4उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
5ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
6परमेश्वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्ना थियो।
7तिनीद्वारा सबै मानिसहरूले विश्वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।
8तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए।
9हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
10उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन।
11उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।
12तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
13ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्वरबाट जन्मेका हुन्।
14वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
15यूहन्नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।”
16उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ।
17किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।
18परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।
19जब यरूशलेमका यहूदीहरूले तिनी को हुन् भनी सोध्न पुजारीहरू र लेवीहरूलाई पठाए, तब यूहन्नाले दिएको गवाही यही थियो।
20तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्ट होइनँ” भनी स्पष्ट रूपमा स्वीकार गरे।
21तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?” तिनले भने, “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” तिनले जवाफ दिए, “म होइनँ।”
22अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?”
23यूहन्नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”
24तब पठाइएका केही फरिसीहरूले
25तिनलाई सोधे, “यदि तिमी ख्रीष्ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्तिस्मा दिन्छौ त?”
26यूहन्नाले जवाफ दिए, “म त तिमीहरूलाई पानीद्वारा बप्तिस्मा दिन्छु, तर तिमीहरूका बीचमा एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।
27मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।”
28यी सबै कुरा यर्दन नदीपारि यूहन्नाले बप्तिस्मा दिइरहेको ठाउँ बेथानीमा भएको थियो।
29भोलिपल्ट यूहन्नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!
30उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’
31म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्तिस्मा दिँदै आएँ।”
32त्यसपछि यूहन्नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्नुभएको देखेँ।
33मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
34अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ।”
35भोलिपल्ट फेरि यूहन्ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए।
36जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्वरका थुमा!”
37जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे।
38जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
39उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो।
40यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
41तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्टलाई भेट्टाएका छौँ।”
42अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।”
43भोलिपल्ट येशूले गालील जाने निश्चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्नुभयो, “मलाई पछ्याऊ।”
44फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए।
45फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।”
46“नासरत!” नथानेलले छक्क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?” “आएर हेर!” फिलिपले भने।
47येशूले नथानेललाई आफूतिर आउँदैगरेका देख्नुभएपछि तिनको विषयमा भन्नुभयो, “हेर, एक जना साँचो इस्राएली, जसमा कुनै छलकपट छैन।”
48“तपाईंले मलाई कसरी चिन्नुभयो?” नथानेलले सोधे। “फिलिपले तिमीलाई बोलाउनुभन्दा अगि नै मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ।” येशूले जवाफ दिनुभयो।
49तब नथानेलले “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे।
50येशूले भन्नुभयो, “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ भनी तिमीलाई भनेकोले नै तिमी विश्वास गर्छौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।”
51उहाँले अझै भन्नुभयो, “म तिमीलाई साँच्चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath