ईसाई धर्म
पछाडि

यूहन्‍ना 19

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्‍न लगाए।

2अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्‍याइदिए।

3घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय होस्!” भने। अनि तिनीहरूले येशूलाई मुखमा थप्पड लगाए।

4फेरि एकपल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु; ताकि तिमीहरूलाई यो स्पष्‍ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष भेट्टाइनँ।”

5जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएरै बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! यो मान्छेलाई!”

6उहाँलाई देख्नेबित्तिकै मुख्य पुजारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!” तर पिलातसले भने, “तिमीहरूले नै यिनलाई क्रूसमा टाँग; किनकि म त यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।”

7यहूदीहरूले तिनलाई उत्तर दिए, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्‍वरको पुत्र भनेर दाबी गरेको छ।”

8जब पिलातसले यो कुरा सुने, तब तिनी झन् धेरै डराए।

9तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन।

10पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?”

11तब येशूले भन्‍नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।”

12यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे। तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍न। आफूलाई राजा घोषणा गर्ने जो कोही पनि सिजरको विरोधी हुन्छ।”

13यो कुरा सुनेर पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अगि ल्याए, र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे।

14यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो। अनि पिलातसले यहूदीहरूलाई भने, “लौ हेर, तिमीहरूको राजा!”

15तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!” पिलातसले सोधे, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँगूँ?” मुख्य पुजारीहरूले चिच्याएर जवाफ दिए, “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”

16आखिरमा पिलातसले येशूलाई क्रूसमा टँगाइनका लागि तिनीहरूका हातमा सुम्पिदिए। येशू क्रूसमा चढाइनुभएको त्यसपछि सिपाहीहरूले येशूको जिम्मा लिए।

17येशू आफ्नो क्रूस आफैँले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो।

18त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अरू दुई जनालाई पनि उहाँसँगै एक जनालाई दायाँपट्टि र अर्कोलाई बायाँपट्टि र येशूलाई माझमा टाँगे।

19अनि यसो भनेर लेखिएको दोषपत्र पिलातसले उहाँको शिरमाथि क्रूसमा टाँसिदिए: “नासरतका येशू, यहूदीहरूका राजा।”

20धेरै यहूदीहरूले त्यो दोषपत्र पढे; किनकि येशूलाई क्रूसमा टँगाइएको ठाउँ सहरको नजिक थियो। अनि सो दोषपत्र आरामाईक, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।

21यहूदीहरूका मुख्य पुजारीहरूले आपत्ति जनाउँदै पिलातसलाई भने, “ ‘यहूदीहरूको राजा’ होइन, तर यसले आफूलाई ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्!”

22तर पिलातसले जवाफ दिए, “मैले जे लेखेँ, सो लेखेँ।”

23येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको बाहिरी वस्त्रहरूलाई लिएर हरेक सिपाहीका निम्ति एक-एक भाग हुने गरी चार भाग लगाए, उहाँको भित्री वस्त्र लिए जुन नसिलाएको माथिदेखि तलसम्म एउटै थियो।

24तिनीहरूले आपसमा सल्‍लाह गरे, “यो वस्त्रचाहिँ नच्यातौँ, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौँ।” धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो। “तिनीहरूले मेरो बाहिरी वस्त्रहरू एक-आपसमा बाँडे, र मेरो भित्री वस्त्रचाहिँ चिट्ठा हाले।” यसकारण सिपाहीहरूले त्यसै गरे।

25येशूको क्रूसको नजिकै उहाँकी आमा मरियम, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।

26जब येशूले त्यहाँ आफ्नी आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी! हेर्नुहोस्, तपाईंको छोरा!”

27अनि चेलालाई उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।

28अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो।”

29त्यहाँ सिर्काले भरिएको एउटा घैँटो राखिएको थियो। तब तिनीहरूले एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर उहाँको ओठमा पुर्‍याइदिए।

30सिर्का लिनुभएपछि येशूले यसो भन्‍नुभयो, “अब पूरा भयो।” त्यसपछि उहाँले शिर निहुराएर आफ्नो प्राण त्याग्नुभयो।

31त्यो दिनचाहिँ तयारीको दिन थियो। अनि भोलिपल्ट विशेष शब्बाथ दिन थियो। यहूदीहरूले शब्बाथको दिन लासहरू क्रूसमा रहेको चाहँदैनथिए। त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन बिन्ती गरे।

32सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूका खुट्टा भाँचिदिए।

33तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अगि नै मरिसक्नुभएको भेट्टाए। यसकारण तिनीहरूले उहाँका खुट्टा भाँचेनन्।

34तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो।

35यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, र उसको साक्षी सत्य छ। साँच्‍चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्‍वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो।

36“उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्‍ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो।

37अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”

38त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजान पाऊँ भनी अनुमति मागे। योसेफ येशूका चेला थिए। तर यो कुरा गोप्य थियो; किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे।

39येशूकहाँ राति आउने मानिस निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौँतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए।

40ती दुईले येशूको लासलाई त्यस सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडामा बेह्रे। यहूदीहरूको लास गाड्ने संस्कार यस्तै थियो।

41येशू क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो। त्यस बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन।

42यहूदीहरूको तयारीको दिन परेकोले अनि त्यो चिहान नजिकै भएकोले गर्दा तिनीहरूले येशूको मृत शरीरलाई त्यही चिहानमा राखे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath