यूहन्ना 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। पारिपट्टि एउटा बगैँचा थियो, र उहाँ आफ्ना चेलाहरूसँग त्यहाँ जानुभयो।
2उहाँलाई धोका दिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो; किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रायजसो भेटघाट गर्नुहुन्थ्यो।
3मुख्य पुजारीहरू र फरिसीहरूका दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर यहूदा त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए।
4तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?”
5“नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।)
6उहाँले “म उही नै हुँ,” भन्नसाथ तिनीहरू सबै पछि हटे, र भुइँमा लोटे।
7फेरि एकपल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए।
8येशूले भन्नुभयो, “मैले भनिहालेँ, म उही नै हुँ। यसकारण मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।”
9उहाँले भन्नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।”
10तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।)
11येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानभित्र हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ र?”
12त्यसपछि सिपाहीहरू, सेनापतिहरू र यहूदी हाकिमहरूले येशूलाई पक्रे, र उहाँलाई पाता कसे।
13अनि तिनीहरूले उहाँलाई पहिले त्यस वर्षको प्रधान पुजारी, कैयाफाका ससुरा हन्नासकहाँ लगे।
14सबैका निम्ति एक जना मर्नु नै असल हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए।
15सिमोन पत्रुस र अर्को चेला येशूको पछि-पछि लागे। प्रधान पुजारीसँग चिनजान भएको हुनाले यी अर्का चेला येशूसँगै प्रधान पुजारीको आँगनभित्र पसे।
16तर पत्रुसचाहिँ ढोकाबाहिर नै उभिएका थिए। प्रधान पुजारीसँग चिनजान भएका ती अर्का चेला फर्केर आए। अनि ढोकामा पाले बसेकी केटीलाई भनसुन गरे, र पत्रुसलाई भित्र ल्याए।
17ढोकामा पाले बस्ने त्यस केटीले पत्रुसलाई सोधी, “तिमी पनि येशूका चेलाहरूमध्ये एक होइनौ र?” “अहँ, म त होइनँ।” तिनले भने।
18जाडोले गर्दा ती घरका सेवकहरू र हाकिमहरू न्यानो पार्न आफूले बालेका आगो वरिपरि बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग मिसिएर आगो ताप्न लागे।
19यसै बीचमा प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँले दिनुभएको शिक्षाको विषयमा सोध्न थाले।
20येशूले जवाफ दिनुभयो, “संसारसँग म खुल्लमखुल्ला बोलेको छु। मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिन्थेँ, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। गुप्तमा मैले केही भनेको छैनँ।
21तपाईंहरू मलाई यो प्रश्न किन सोध्नुहुन्छ? तिनीहरूलाई सोध्नुहोस्, जसले मेरा शिक्षा सुनेका छन्। निश्चय नै मैले भनेका कुरा तिनीहरूलाई थाहा छ।”
22येशूको कुरा सुनेर त्यहाँ उभिरहेको एक जना हाकिमले उहाँलाई थप्पड लायो। “के प्रधान पुजारीलाई उत्तर दिने तरिका यही हो?” भनेर त्यसले सोध्यो।
23“मैले गलत बोलेको भए त्यसको प्रमाण देऊ,” येशूले जवाफ दिँदै भन्नुभयो, “मैले सत्य बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”
24तब हन्नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाइदिए।
25सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब तिनलाई कसैले फेरि सोध्यो, “के तिमी पनि उसैको चेलाहरूमध्येका एक होइनौ र?” तिनले इन्कार गर्दै भने, “म त होइनँ।”
26प्रधान पुजारीका सेवकहरूमध्ये एक जनाले अर्थात् जसको कान पत्रुसले काटिदिएका थिए, त्यसैको आफन्तले सोध्यो, “के तिमीलाई मैले येशूसँग बगैँचामा देखेको होइन र?”
27पत्रुसले फेरि पनि अस्वीकार गरे; तब त्यसै बेला भाले बास्यो।
28त्यति बेला बिहान भइसकेको थियो। यहूदीहरूले येशूलाई कैयाफाकहाँबाट रोमी राज्यपालको महलमा लगे। तिनीहरू निस्तार चाडको भोज खान चाहन्थे, यसैले यहूदीहरू आफ्नो संस्कारअनुसार अशुद्ध नहोऔँ भनी महलभित्र पसेनन्।
29यसो हुँदा राज्यपाल पिलातस तिनीहरूकहाँ बाहिर आएर सोधे, “यस मान्छेको विरुद्धमा तिमीहरूले के आरोप लगाएका छौ?”
30“यो मानिस अपराधी नभएको भए हामी यसलाई पक्रेर तपाईंकहाँ ल्याउने नै थिएनौँ,” तिनीहरूले जवाफ दिए।
31पिलातसले तिनीहरूलाई भने, “तब तिमीहरूले यिनलाई लगेर तिमीहरूको व्यवस्थाअनुसार यिनको न्याय गर।” यहूदी अगुवाहरूले भने, “तर कसैलाई मृत्युदण्ड दिने अधिकार हामीसँग छैन।”
32उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने बारेमा येशू आफूले भन्नुभएको वचन पूरा हुन यी सबै कुरा भइरहेका थिए।
33तब पिलातस दरबारभित्र पसे, र येशूलाई आफूकहाँ हाजिर गराउने आज्ञा दिए, र उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
34येशूले सोध्नुभयो, “मेरो बारेमा यो तपाईंको आफ्नै भनाइ हो, कि अरू कसैले मेरो बारेमा तपाईंलाई यो कुरा भने?”
35पिलातसले जवाफ दिए, “म यहूदी हुँ र? तिम्रा आफ्नै जातिहरू र मुख्य पुजारीहरूले तिमीलाई मकहाँ सुम्पेका हुन्। तिमीले के गर्यौ?”
36येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, यहूदीहरूले मलाई पक्रँदा त्यो रोक्न मेरा सेवकहरूले मेरा निम्ति युद्ध गर्नेथिए; तर मेरो राज्य यस संसारको होइन।”
37पिलातसले भने, “त्यसो भए के तिमी राजा नै हौ?” येशूले भन्नुभयो, “म राजा हुँ भनी तपाईंले ठिकै भन्नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।”
38पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, “उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ।
39तर हरेक वर्ष निस्तार चाडको समय मैले तिमीहरूका निम्ति एक जना कैदीलाई छोडिदिने तिमीहरूको चलन छ। यसकारण तिमीहरू के चाहन्छौ ‘के म यहूदीहरूको राजालाई’ छोडिदिऊँ?”
40तर तिनीहरूले चिच्याएर भने, “यस मान्छेलाई होइन! तर बारब्बालाई छोडिदिनुहोस्!” बारब्बाचाहिँ एक विद्रोही थियो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath