यूहन्ना 17
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यी कुराहरू येशूले भनिसक्नुभएपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो: “हे पिता, समय आइपुगेको छ। तपाईंको पुत्रको महिमा गर्नुहोस्, र पुत्रले पनि तपाईंलाई महिमा दिन सकोस्।
2किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीका सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ।
3अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्।
4तपाईंले मलाई अह्राउनुभएको प्रत्येक काम गरेर मैले तपाईंलाई पृथ्वीमा महिमा दिएको छु।
5हे पिता, तपाईंको सामु मलाई त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसारको सृष्टिअगि तपाईंमा मेरो निम्ति थियो।
6“संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूका बीचमा तपाईंलाई मैले प्रकट गरेको छु। ती तपाईंकै थिए, र ती तपाईंले फेरि मलाई दिनुभयो; अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।
7मसित जे जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्।
8किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सबै ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्वास पनि गरेका छन्।
9म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंकै हुन्।
10मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ।
11म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, र म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नामको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाम तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्।
12म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नामले तिनीहरूलाई जोगाइराखेँ। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्ट भएनन्। तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो।
13“अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु।
14मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।
15संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु।
16म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्।
17सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ।
18तपाईंले मलाई संसारमा पठाउनुभएझैँ, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
19तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु।
20“तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु।
21हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस्।
22तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु:
23म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
24“हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीँ रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो।
25“हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु। अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्।
26मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath