ईसाई धर्म
पछाडि

यूहन्‍ना 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यो निस्तार चाडको अगिल्‍लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो।

2बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो।

3पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्‍वरबाट आउनुभएको हो र परमेश्‍वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्‍ने येशूलाई थाहा थियो।

4त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो।

5त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो।

6जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?”

7येशूले भन्‍नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।”

8पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।”

9सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।”

10येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।”

11किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्‍नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्‍नुभयो।

12चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ?

13तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ।

14प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।

15मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर।

16म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन।

17अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ।

18“तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’

19“यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्‍वास गर्नेछौ।

20म तिमीहरूलाई साँच्‍चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।”

21यति भनिसक्नुभएपछि येशू आत्मामा धेरै व्याकुल हुनुभयो, र उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।”

22उहाँले कसलाई भन्‍नुभएको हो भनेर अलमलमा परी चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।

23येशूले प्रेम गर्नुहुने चेला उहाँकै छेउमा अडेस लागेर बसिरहेका थिए।

24सिमोन पत्रुसले यिनै चेलालाई इशारा गरेर भने, “उहाँले कसलाई भन्‍नुभएको हो? उहाँलाई सोध।”

25येशूको शरीरमा अडेस लागेर तिनले सोधे, “प्रभु त्यो को हो?”

26येशूले जवाफ दिनुभयो, “मैले यो रोटीको टुक्रा भाँडामा चोपेर जसलाई दिन्छु, त्यो त्यही हो।” अनि उहाँले रोटी चोपेपछि सिमोनको छोरा यहूदा इस्करियोतलाई दिनुभयो।

27यहूदाले त्यो रोटी लियो, र त्यसपछि शैतान त्यसभित्र पसिहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गर्नु छ, चाँडो गरिहाल।”

28येशूले त्यसलाई यो किन भन्‍नुभयो त्यसको अर्थ त्यहाँ खान बस्‍नेहरूमध्ये कसैले पनि बुझेनन्।

29यहूदाले पैसाको हिसाब राख्ने भएको हुँदा सायद चाडको निम्ति आवश्यक कुनै कुरा किन्‍न अथवा केही पैसा गरिबहरूलाई दिन भनी येशूले अह्राउनुभएको होला भनी कतिले ठाने।

30रोटी लिएपछि यहूदा तुरुन्तै बाहिर निस्क्यो। त्यस बेला रात परेको थियो।

31यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्‍नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्‍वरको महिमा भएको छ।”

32यदि परमेश्‍वर उसमा महिमित हुनुभयो भने परमेश्‍वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ।

33“हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।

34“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ।

35तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्‍नेछन्।”

36सिमोन पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।”

37पत्रुसले सोधे, “प्रभु, म अहिले तपाईंसँग किन आउन सक्दिनँ र? म त तपाईंका निम्ति प्राण दिन पनि तयार छु।”

38तब येशूले भन्‍नुभयो, “के तिमीले साँच्‍चै आफ्नो जीवन मेरो लागि दिन्छौ? म तिमीलाई साँच्‍चै भन्दछु, भोलि बिहान भाले बास्‍नुअगि नै तिमीले मलाई ‘चिन्दिनँ’ भनी तीनपल्ट अस्वीकार गर्नेछौ!”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath