ईसाई धर्म
पछाडि

यर्मिया 6

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्‍केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ।

2सियोनकी छोरी, जो सुन्दरी र कोमल छे, म त्यसलाई नाश गर्नेछु।

3गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्; तिनीहरूले यरूशलेमको चारैतिर आफ्ना पालहरू टाँग्नेछन्; हरेकले आफ्नै बगालको हेरचाह गर्नेछन्।”

4“यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर! उठ, हामी मध्यदिनमा आक्रमण गरौँ! तर, हाय! दिन ढल्किँदैछ; अनि बेलुकीको छाया लामो हुँदैछ।

5यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ, र यरूशलेमका किल्‍लाहरू नाश पारिदिऔँ!”

6सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “रूखहरू काटेर ढालिदेओ, र यरूशलेमको विरुद्धमा घेरा-मचान बनाओ। यो सहरले दण्ड पाउनैपर्छ; यो सहर अत्याचारले भरिएको छ।

7जसरी इनारबाट पानी निस्कन्छ, त्यसरी नै त्यसले आफ्नो दुष्‍टता निकाल्छे। त्यसभित्र हिंसा र विनाश गुञ्जिन्छ; त्यसका रोगहरू र चोटहरू सधैँ मेरा सामु छन्।

8हे यरूशलेम यो चेतावनी सुन्, नत्रता म तँदेखि टाढा हुनेछु, र तेरो देशलाई उजाड पारिदिनेछु; अनि त्यहाँ कोही पनि बास गर्नेछैन।”

9सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरूले इस्राएलका बाँकी रहेकाहरूलाई दाखको बोटमा छोडिएका फल नछोडी टिपेझैँ टिपून्; कुनै मानिसले अङ्‌गुरहरू बटुलेझैँ, आफ्नो हात फेरि ती दाखका हाँगाहरूमा लगा।”

10म कोसँग बोलूँ र कसलाई चेतावनी दिऊँ? मेरो कुरा कसले सुन्ला? तिनीहरूका कान बन्द भएका छन्। त्यसैले तिनीहरू सुन्‍न सक्दैनन्। याहवेहको वचन तिनीहरूलाई मन पर्दैन; तिनीहरू वचन सुन्‍नै चाहँदैनन्।

11यसकारण म याहवेहको क्रोधले भरिएको छु; अनि म यसलाई थामिराख्न सक्दिनँ। “यसलाई सडकमा भएका केटाकेटीहरू र एकसाथ भेला भएका जवान मानिसहरूमाथि; पति र पत्नी दुवै, र वृद्धहरूमाथि खन्याइदेओ।

12जब मेरो हात यस देशमा बाँचेकाहरूका विरुद्धमा बढाउँछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अरू मानिसहरूलाई दिइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

13“सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ता र पुजारीहरू सबै छलका कुरा गर्छन्।

14तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि तिनीहरूले, ‘शान्ति, शान्ति’ भन्दछन्।

15के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्‍ने भन्‍ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्; जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्‍ट हुनेछन्,” याहवेह भन्‍नुहुन्छ।

16याहवेह यसो भन्‍नुहुन्छ: “चौबाटोमा उभिएर हेर, र प्राचीन मार्गको बारेमा सोध; त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड, तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’

17मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ, ‘तुरहीको आवाजलाई ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्‍नेछैनौँ।’

18यसकारण हे राष्ट्रहरू हो, सुन; हे साक्षीहरू हो, तिनीहरूलाई के हुँदोरहेछ, सो ध्यानसित हेर।

19हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे।

20शेबादेखि ल्याएको धूप अथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्; तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।”

21यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “म यस जातिको सामु ठेस लाग्ने कुराहरू राखिदिनेछु। बुबा र छोराछोरीहरू एकसाथ ती कुरामा ठेस खानेछन्; छिमेकीहरू र मित्रहरू नष्‍ट हुनेछन्।”

22याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर देशबाट एक दल सेना आउँदैछ। पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई सुर्‍याइरहेको छ।

23तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्; तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्। तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदा तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ; हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागि तिनीहरू युद्धको पङ्‌क्ति बाँधेर आइरहेका छन्।”

24हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ, र हाम्रा हातहरू लल्याकलुलुक भए। प्रसुती वेदनामा परेकी स्त्रीझैँ हामी छटपटिएका छौँ।

25खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्‍डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ।

26हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ; अनि खरानीमा लडीबुडी गर। एक मात्र छोराका निम्ति विलाप गरेझैँ शोक गर; किनकि विनाशकारी हामीमाथि अचानक आइलाग्नेछ।

27“मैले तँलाई धातु जाँच्ने वस्तु र मानिसहरूलाई कच्‍चा धातु बनाएको छु, ताकि तैँले तिनीहरूलाई ध्यानसित हेर्न र तिनीहरूका मार्गहरू जाँच गर्न सक्।

28तिनीहरू सबै निन्दा गर्दै, यताउति डुलिहिँड्ने कठोर विद्रोहीहरू हुन्। तिनीहरू काँसा र फलाम हुन्; तिनीहरू सबै भ्रष्‍ट चालहरूमा चल्दछन्।

29आरनमा सिसा जलाउनका लागि खूब जोडसित आगो फुकिन्छ, तर खार्ने काम व्यर्थै जान्छ; त्यसरी नै मेरा मानिसहरू यति दुष्‍ट छन्, कि तिनीहरूबाट दुष्‍ट्याइँ हटाउन सकिँदैन।

30तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ; किनकि याहवेहले तिनीहरूलाई त्याग्नुभएको छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath