ईसाई धर्म
पछाडि

यर्मिया 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“यरूशलेमका सडकहरूहुँदो माथि र तल जा; चारैतिर हेर्, र विचार गर्। सहरका चोकहरूमा खोजी गर्। यदि तैँले इमानदारीसाथ चल्ने र सत्यको खोजी गर्ने एउटै मात्र व्यक्ति कतै भेट्टाइस् भने, म यस सहरलाई क्षमा गरिदिनेछु।

2यद्यपि तिनीहरूले, ‘जीवित याहवेहलाई साक्षी राखेर’ भन्छन्, तर पनि तिनीहरूले झूटो शपथ खान्छन्।”

3हे याहवेह, के तपाईंका आँखाले सत्यतालाई खोज्दैन र? तपाईंले तिनीहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूले वास्तै गरेनन्; तपाईंले तिनीहरूलाई धुलोपिठो पार्नुभयो, तर तिनीहरूले सुध्रिन इन्कार गरे। तिनीहरूले आफ्ना अनुहार ढुङ्गाभन्दा कठोर पारे, र तिनीहरूले पश्‍चात्ताप गर्न इन्कार गरे।

4मैले त सोचेको थिएँ, “यिनीहरूचाहिँ गरिब छन्, यिनीहरू मूर्ख छन्; किनकि यिनीहरूले याहवेहका मार्गहरू जान्दैनन्, यिनीहरूका परमेश्‍वरको आज्ञालाई बुझ्दैनन्।

5यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु; अवश्य नै तिनीहरूले याहवेहका मार्गहरू जान्दछन्, तिनीहरूका परमेश्‍वरको आज्ञालाई बुझ्दछन्।” तर तिनीहरूले पनि एकसाथ मिलेर आफ्ना जुवाहरू भाँचेका थिए, र बन्धनहरू चुँडाएका थिए।

6यसकारण जङ्गलबाट निस्केको सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ; मरुभूमिबाट निस्केको ब्वाँसोले तिनीहरूलाई मार्नेछ; सहरबाट बाहिर निस्कने जो कोहीलाई पनि टुक्रा-टुक्रा पार्नेछन्, र चितुवा तिनीहरूका सहरहरू नजिकै ढुकिबस्‍नेछ; किनकि तिनीहरू धेरै बागी भएका छन्; अनि तिनीहरूका अपराधहरू धेरै छन्।

7“मैले तिमीहरूलाई किन क्षमा गरूँ? तिमीहरूका छोराछोरीहरूले मलाई त्यागेका छन्; अनि तिनीहरूले झूटा ईश्‍वरहरूका शपथ खाएका छन्, जो ईश्‍वर नै होइनन्। मैले तिनीहरूका सबै अभाव पूरा गरिदिएँ, तापनि तिनीहरूले व्यभिचार गरे, र वेश्याहरूका घरमा भीड लागे।

8तिनीहरू पोसिएर कामवासनाले मातिएका घोडाहरूजस्तै छन्, जो हरेक छिमेकीका पत्नीको निम्ति हिनहिनाउँछन्।

9के म यी पापहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस राष्ट्रमाथि, मेरो बदला नलिऊँ?

10“यहूदाका दाखबारीहरूभित्र जा, र तिनीहरूलाई नाश गर्, तर तिनीहरूलाई पूर्ण रूपले चाहिँ नाश नगर्। त्यसका हाँगाहरू लाछिदे; किनकि यी मानिसहरू याहवेहका होइनन्।

11इस्राएलको घराना र यहूदाको घराना मप्रति अति नै विश्‍वासघाती भएका छन्,” याहवेह घोषणा गर्नुहुन्छ।

12तिनीहरूले याहवेहको बारेमा झूटो बोलेका छन्; तिनीहरूले, “उहाँले केही गर्नुहुन्‍न! हामीमाथि कुनै हानि आइपर्नेछैन; हामीले तरवार र अनिकाल कहिल्यै देख्नेछैनौँ।

13अगमवक्ताहरूले हावाका कुरा मात्रै गर्छन्, र तिनीहरूमा परमेश्‍वरको वचन छैन; त्यसैले तिनीहरूले जे भनेका छन्, तिनीहरूमाथि त्यस्तै गरिऊन्।”

14यसकारण सेनाहरूका याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यी मानिसहरूले यस्तो वचन बोलेका हुनाले, म मेरो वचनलाई तेरो मुखमा आगो बनाउनेछु, र यी मानिसहरूलाई चाहिँ दाउरालाई भस्म पारेजस्तै भस्म पार्नेछु।”

15याहवेह घोषणा गर्नुहुन्छ, “हे इस्राएलको घराना, म तिमीहरूको विरुद्धमा टाढाको एउटा राष्ट्रलाई ल्याउँदैछु— एउटा प्राचीन र स्थायी राष्ट्रलाई, जसको भाषा तिमीहरूले जान्दैनौ, जसको बोली तिमीहरूले बुझ्दैनौ।

16तिनीहरूको काँडका ठोक्रोहरू खुला चिहानजस्तो छन्; तिनीहरू सबै वीर योद्धाहरू हुन्।

17तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निल्नेछन्; तिमीहरूका छोराछोरीहरूलाई निल्नेछन्; तिनीहरूले तिमीहरूका भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू निल्नेछन्; तिमीहरूका दाखका बोटहरू र नेभाराका रूखहरू नष्‍ट गरिदिनेछन्। तिमीहरूले भरोसा गरेका सुदृढ सहरहरूलाई, तिनीहरूका तरवारद्वारा नष्‍ट गरिदिनेछन्।

18“ती दिनहरूमा पनि म तिमीहरूलाई पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ।

19“जब मानिसहरूले सोध्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई यो सबै किन गर्नुभएको होला?’ तैँले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘जसरी तिमीहरूले मलाई त्याग्यौ र तिमीहरूको आफ्नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै अब तिमीहरूले बिरानो देशमा विदेशीहरूको सेवा गर्नेछौ।’

20“याकोबको घरानालाई यसो भन्, र यहूदाका मानिसहरूलाई यो कुरा घोषणा गर्:

21यो कुरा सुन, हे मूर्ख र विवेकहीन मानिसहरू हो, जसका आँखा त छन्, तर देख्दैनन्, जसका कान त छन्, तर सुन्दैनन्:

22के तिमीहरू मेरो भय मान्दैनौ?” याहवेह घोषणा गर्नुहुन्छ। “के तिमीहरू मेरो उपस्थितिमा काम्दैनौ? मैले बालुवालाई समुद्रको निम्ति सिमाना ठहराएको छु, समुद्रले सधैँका निम्ति नाघ्न नसक्ने सिमाना बनाएको छु। छालहरू उर्ले तापनि त्यस सिमानालाई नाघेर जान सक्दैनन्; तिनीहरू गर्जेलान्, तर त्यसलाई नाघ्न सक्दैनन्।

23तर यी मानिसहरूको हृदय हठी र विद्रोही छ; तिनीहरू मबाट तर्केर अर्को बाटोतिर लागेका छन्।

24तिनीहरू आफ्ना हृदयमा यसो भन्दैनन्, ‘हामी याहवेह हाम्रा परमेश्‍वरको डर राखौँ, जसले ऋतुअनुसार हामीलाई शरद र बसन्तको झरी दिनुहुन्छ, जसले हामीलाई नियमित फसलका हप्‍ताहरू निश्‍चित गरिदिनुहुन्छ।’

25तिमीहरूका अपराधले यी कुराहरू टाढा भएका छन्; तिमीहरूका कुकर्महरूले तिमीहरू असल कुराबाट बञ्चित भएका छौ।

26“मेरा मानिसहरूका बीचमा दुष्‍ट मानिसहरू छन्, जो चराहरूलाई पासो थाप्न ढुकिबस्‍ने मानिसहरूझैँ र मानिसहरू पक्रनलाई पासो थाप्नेहरूझैँ छन्।

27चराहरूले भरिएको पिन्जराझैँ, तिनीहरूका घर कपटले भरिएका छन्; तिनीहरू धनी र सामर्थी भएका छन्;

28अनि तिनीहरू मोटा र चिल्‍ला भएका छन्। तिनीहरूका दुष्‍ट कामहरूको सीमा नै छैन; तिनीहरूले न्याय खोज्दैनन्। तिनीहरूले अनाथहरूको मुद्दा लडिदिँदैनन्; तिनीहरूले गरिबहरूको अधिकारको रक्षा गर्दैनन्।

29के म यी कामहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस्तो राष्ट्रसँग बदला नलिऊँ?

30“देशमा एउटा डरलाग्दो र विचलित पार्ने कुरा भएको छ:

31अगमवक्ताहरूले झूटो अगमवाणी गर्छन्; पुजारीहरू आफ्नै अधिकारद्वारा शासन गर्छन्; अनि मेरा मानिसहरूले पनि यस्तै मन पराउँछन्। तर अन्त्यमा तिमीहरू के गर्नेछौ?

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath