ईसाई धर्म
पछाडि

यर्मिया 52

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्ना निवासी थिइन्।

2यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।

3याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।

4यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।

5राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।

6चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।

7तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागे। तिनीहरू अराबातिर भागे;

8तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए;

9र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ बेबिलोनका राजाले सिदकियाहमाथि दण्डको घोषणा गरे।

10त्यहाँ रिब्लामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाको अगाडि मारे; तिनले यहूदाका सबै अधिकारीहरूलाई पनि मारे।

11त्यसपछि तिनले सिदकियाहका आँखाहरू निकालिदिए; अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे, जहाँ तिनले सिदकियाहको मृत्यु नहोउन्जेलसम्म उनलाई झ्यालखानामा राखे।

12बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा, राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान जसले बेबिलोनका राजाको सेवा गर्थे, यरूशलेममा आए।

13तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए।

14बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका सबै पर्खालहरू भत्काइदिए।

15अङ्गरक्षकहरूका सेनापति नबूजरदानले केही गरिब मानिसहरू र सहरमा बाँकी रहेकाहरू, साथै सिपालु कारिगरहरू र बेबिलोनका राजाको पछि लाग्ने मानिसहरूलाई कैदी बनाएर निर्वासनमा लगे।

16तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए।

17बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।

18तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे।

19राजकीय अङ्गरक्षकका सेनापतिले बाटाहरू, धूपदानीहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, थाल बटुकाहरू र अर्घबलिको निम्ति प्रयोग गरिने बाटाहरू—निखुर सुन र चाँदीले बनिएका सबै सामग्रीहरू तिनीहरूले लगे।

20ती दुई स्तम्भहरू, खड्कुँलो र त्यसका मुन्तिर भएका काँसाका बाह्र वटा साँढेहरू र याहवेहको मन्दिरको निम्ति सोलोमन राजाले बनाएका गुड्ने आधारहरूबाट जम्मा गरिएका काँसाहरू जसको वजन जोखेर जोख्न नसकिने थिए।

21प्रत्येक स्तम्भ अठार क्यूबिट अग्लो र त्यसको गोलाइ बाह्र क्यूबिटको थियो। प्रत्येक खम्बा चार अङ्गुल बाक्लो मोटाइ र त्यो बीचमा खोक्रो थियो।

22एउटा खम्बाको टुप्पोमा भएको काँसाको टुप्पो पाँच क्यूबिट अग्लो थियो। अनि चारैतिर काँसाका जाली र दारिमको बुट्टाले वरिपरि सिँगारिएको थियो। अर्को खम्बा पनि त्यस्तै दारिम बुट्टाले सजिएको थियो।

23त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो।

24अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।

25सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे।

26सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे, र बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए।

27त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो।

28नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यही हो: सातौँ वर्षमा, 3,023 यहूदीहरू;

29नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा यरूशलेमबाट 832 मानिसहरू;

30तिनको शासनकालको तेईसौँ वर्षमा, राजकीय अङ्गरक्षका सेनापति नबूजरदानद्वारा 745 यहूदीहरू निर्वासनमा लगिए। त्यतिखेर जम्मा मानिसहरू 4,600 जना थिए।

31यहूदाका राजा यहोयाकीनलाई निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदक बेबिलोनको राजा भएको वर्षमा तिनले बाह्रौँ महिनाको पच्‍चीसौँ दिनमा यहूदाका राजा यहोयाकीनलाई निकाले र झ्यालखानाबाट मुक्त गरिदिए।

32तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाको सम्मानको आसन दिए।

33यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए।

34बेबिलोनका राजाले यहोयाकीनको जीवनकालभरि तिनको मृत्यु नहुन्जेल दिन प्रतिदिन नियमित भत्ता दिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath