ईसाई धर्म
पछाडि

यर्मिया 50

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1बेबिलोन र बेबिलोनीहरूको देशको विषयमा यर्मिया अगमवक्ताद्वारा याहवेहले बोल्नुभएको वचन यही हो:

2“राष्ट्रहरू बीचमा सूचना दे, र घोषणा गर्; झण्डा उठाएर यो घोषणा गर्; केही कुरा नलुकाई भनिदे, ‘बेबिलोन कब्जा गरिनेछ; बेल शर्ममा पर्नेछ, मारोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, र त्यसका मूर्तिहरू त्रासले भरिनेछन्।’

3उत्तर दिशाबाट एउटा राष्ट्रले त्यसलाई आक्रमण गर्नेछ, र त्यसलाई उजाड पारिदिनेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; मानिसहरू र पशुहरू दुवै भागेर जानेछन्।

4“ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलका र यहूदाका मानिसहरू एकसाथ याहवेह तिनीहरूका परमेश्‍वरलाई खोज्न रुँदै जानेछन्।

5तिनीहरूले सियोन जाने बाटो सोध्नेछन् र आफ्ना अनुहार त्यस दिशातिर फर्काउनेछन्। तिनीहरू आउनेछन् र आफूलाई अनन्तको करारमा याहवेहसँग बाँध्नेछन्, जुन कहिल्यै बिर्सिइनेछैन।

6“मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोतिर लगाएका छन्, र पर्वततिर डुलिहिँड्ने बनाइदिएका छन्। तिनीहरू डाँडा र पहाडतिर बरालिएका छन्, र तिनीहरूले आफ्ना बासस्थानलाई बिर्सेका छन्।

7जजसले तिनीहरूलाई भेट्टाए, तिनीहरूलाई निले; तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौँ; किनकि तिनीहरूले याहवेह, तिनीहरूको साँचो खर्क, याहवेह, तिनीहरूका पितापुर्खाहरूका आशाको विरुद्धमा पाप गरेका छन्।’

8“बेबिलोनबाट भाग, बेबिलोनीहरूको देशलाई छोडेर भाग; अनि बगाललाई बाटो देखाउने बाख्राहरूजस्तै होओ।

9किनकि हेर, म उत्तरको देशबाट महान् जातिहरूको जमातलाई सुर्‍याएर बेबिलोनको विरुद्धमा ल्याउनेछु। तिनीहरू त्यसको विरुद्धमा युद्धको निम्ति तयार हुनेछन्; अनि उत्तर दिशाबाट त्यसलाई कब्जा गर्नेछन्। तिनीहरूका काँडहरू सिपालु योद्धाहरूजस्ता हुनेछन्, जो रित्तो हात फर्कँदैनन्।

10यसरी बेबिलोनिया लुटिनेछ; बेबिलोनलाई लुट्नेहरू सबैसँग प्रशस्त हुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ।

11“मेरो उत्तराधिकारलाई लुट्ने तिमीहरू, आनन्दित भएर खुशी मनाएको कारण तिमीहरू अन्‍न दाइँ गर्दा खलामा हर्षले उफ्रने कोरलीजस्तै रमाएको कारण र घोडाजस्तै तिमीहरू हिनहिनाएको कारण,

12तिमीहरूकी आमा ठूलो शर्ममा पर्नेछे; तिमीहरूलाई जन्म दिने आमा अपमानित हुनेछे। त्यो राष्ट्रहरूमा सबैभन्दा सानो हुनेछे— एउटा उजाडस्थान, रुखो जमिन र मरुभूमिजस्तै हुनेछे।

13याहवेहको रिसको कारण त्यसमा कोही बसोबास गर्नेछैन, तर पूर्ण रूपमा सदाको निम्ति उजाड हुनेछ। बेबिलोनबाट भएर जानेहरू सबै चकित हुनेछन्; तिनीहरूले त्यसका चोटहरूमा खिसी गर्नेछन्।

14“हे सबै धर्नुधारीहरू हो, बेबिलोनको चारैतिर मोर्चा बाँध। त्यसलाई हान! एउटै काँड बाँकी नरहने गरी हान; किनकि त्यसले याहवेहको विरुद्धमा पाप गरेकी छे।

15त्यसको विरुद्धमा चारैतिर युद्धको निम्ति कराओ! त्यसले आत्मसमर्पण गर्नेछे र त्यसका धरहराहरू ढल्नेछन्; त्यसका पर्खालहरू भत्काएर ढालिनेछन्। किनकि योचाहिँ याहवेहको बदला हो। त्यससँग बदला लेओ; त्यसले अरूलाई जस्तो गरेकी छे, त्यससँग पनि त्यस्तै गर।

16बेबिलोनबाट छर्नेहरूलाई, र फसलमा हँसिया लिएर कटनी गर्नेहरूलाई नाश गर। आक्रमणकारीहरूका तरवारको कारण हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्किएर जाऊन्, र हरेक व्यक्ति आफ्नै देशमा भागेर जाऊन्।

17“इस्राएल सिंहले खेदेर छरपस्ट भएको भेडाको बगालजस्तै छ। तिनीहरूलाई निल्ने पहिलो सिंहचाहिँ अश्शूरको राजा थियो; तिनीहरूको हड्डी चुर-चुर पार्ने अन्तिम सिंहचाहिँ बेबिलोनको राजा नबूकदनेसर थियो।”

18यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “अश्शूरको राजालाई मैले दण्ड दिएझैँ, बेबिलोनको राजा र त्यसको देशलाई पनि म दण्ड दिनेछु।

19तर म इस्राएललाई तिनीहरूको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु; अनि त्यो कर्मेल र बाशानमा चर्नेछ; तिनीहरूको भोक एफ्राइम र गिलादका पहाडहरूमा तृप्‍त हुनेछ।

20ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलको अपराध खोजिनेछ, तर त्यहाँ एउटै पनि पाइनेछैन; अनि यहूदाका पापहरू पनि खोजिनेछ, तर केही पनि फेला पर्नेछैन; किनकि मैले बचाइराखेको बाँकी मानिसहरूलाई म क्षमा गर्नेछु।

21“मरातैमको देशलाई र पेकोदमा बस्‍नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार र सम्पूर्ण रूपले नष्‍ट गर,” याहवेह घोषणा गर्नुहुन्छ। मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पूरा गर।

22देशमा युद्धको हल्‍ला सुनिँदैछ, ठूलो विनाशको होहल्‍ला भएको छ!

23हेर, सारा पृथ्वीको घन बेबिलोन कसरी टुक्रिएकी छे र चकनाचुर भएकी छे! राष्ट्रहरूका बीचमा बेबिलोन कति उजाड भएकी छे!

24हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु; अनि तैँले थाहा पाउन अगि नै तँ पासोमा परिसकेकी छेस्; तँ फेला परिस् र कब्जामा परिस्; किनकि तँ याहवेहको विरोधमा खडा भइस्।

25याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ; किनकि प्रभु सेनाहरूका याहवेहले बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ।

26टाढा देशबाट बेबिलोनको विरुद्धमा आओ। त्यसका अन्‍नका भण्डारहरू भत्काइदेओ; बेबिलोनलाई अन्‍नको थुप्रोझैँ थुपारी देओ। त्यसलाई पूर्ण रूपमा नाश गरिदेओ, र त्यसको लागि कसैलाई बाँकी नराख।

27त्यसका सबै जवान साँढेहरूलाई मारिदेओ; तिनीहरू काटिने ठाउँमा जाऊन्! तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरूको समय आएको छ; तिनीहरूको दण्डको समय आएको छ।

28बेबिलोनबाट भाग्नेहरू र शरण लिने मानिसहरूले सियोन पर्वतमा घोषणा गरिरहेका छन्, सो कुरा सुन, “याहवेह हाम्रा परमेश्‍वरले बेबिलोनीहरूलाई उहाँको मन्दिर भत्काएको कारण उहाँले कसरी बदला लिनुभएको छ।

29“धनुकाँड चलाउन सक्ने सबै सिपालु धनुर्धारीहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ। त्यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ; एउटै पनि भाग्न नपाओस्। त्यसले गरेका कामहरूको बदला लेओ; त्यसले जस्तो गरेकी छे, त्यसलाई त्यस्तै व्यवहार गर। किनकि त्यसले इस्राएलका याहवेह पवित्र परमेश्‍वरलाई घमण्डसाथ अवहेलना गरेकी छे।

30यसकारण त्यसका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

31“हेर, हे अहङ्कारी बेबिलोन, म तेरो विरुद्धमा छु,” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ; “किनकि तेरो दिन आएको छ, तेरो दण्ड पाउने समय आएको छ।

32त्यो अहङ्कारी बेबिलोन ठक्‍कर खाएर लड्नेछे, र त्यसलाई कसैले पनि उठ्न सहायता गर्नेछैन; म त्यसका सहरहरूमा आगो लगाइदिनेछु, र त्यस आगोले त्यसका चारैतिर भएका अहङ्कारीहरू सबैलाई भस्म पारिदिनेछ।”

33सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका मानिसहरू थिचोमिचोमा परेका छन्; अनि यहूदाका मानिसहरू पनि थिचोमिचोमा छन्। तिनीहरू दुवैलाई कैद गरेर लैजानेहरू सबैले तिनीहरू दुवैलाई छोडिदिन इन्कार गर्छन्।

34तापनि तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो। उहाँले तिनीहरूको पक्षमा लड्नुहुनेछ, ताकि उहाँले पृथ्वीमा भएका सबै मानिसहरूमाथि शान्ति ल्याउनुहुनेछ, तर बेबिलोनमा बस्‍ने मानिसहरूमा चाहिँ अशान्ति ल्याउनुहुनेछ।

35“बेबिलोनीहरूको विरुद्धमा एउटा तरवार परेको छ!” याहवेह घोषणा गर्नुहुन्छ— “बेबिलोनमा बस्‍ने मनिसहरूको विरुद्धमा, त्यसका अधिकारीहरू र बुद्धिमान् मानिसहरूको विरुद्धमा!

36तिनीहरूका झूटा अगमवक्ताहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्। त्यसका योद्धाहरूको विरुद्धमा तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्।

37त्यसका घोडाहरू, रथहरू र त्यसका साथमा रहेका सबै विदेशीहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू स्त्रीहरूझैँ दुर्बल हुनेछन्। तिनीहरूका धनका भण्डारहरूको विरुद्धमा तरवार परेको छ! ती धनका भण्डारहरू लुटिनेछन्।

38देशका पानीका मुहानहरूमा खडेरी परोस्! त्यसका नदीहरू सबै सुकोस्। किनकि बेबिलोन मूर्तिहरूको देश हो, ती मूर्तिहरूले मानिसहरूलाई त्रसित बनाएका छन्।

39“यसकारण त्यहाँ मरुभूमिका जङ्गली जनावर र हुँडारहरू बस्‍नेछन्; अनि त्यहाँ उल्‍लुहरू बास गर्नेछन्। त्यहाँ फेरि पुस्तादेखि पुस्तासम्म, मानिसहरूले फेरि कहिल्यै बास बस्‍नेछैनन्।

40जसरी मैले सदोम र गमोरालाई तिनीहरूका चारैतिरका सहरहरूसितै नाश गरेँ,” याहवेह घोषणा गर्नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि मानिस बास बस्‍नेछैन; त्यहाँ कुनै मानव-जाति बसोबास गर्नेछैन।

41“हेर! उत्तरबाट एक दल सेना आउँदैछ; पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई र धेरै राजाहरूलाई सुर्‍याइरहेको छ।

42तिनीहरू धनु र भालाहरूले सुसज्जित छन्; तिनीहरू निष्‍ठुर र निर्दयी छन्। तिनीहरू आ-आफ्ना घोडाहरूमा सवार गर्दा तिनीहरूको घोडसवारको आवाज समुद्रको गर्जनझैँ सुनिन्छ; हे बेबिलोनकी छोरी, तिनीहरूले तिमीहरूलाई आक्रमण गर्न आउँदा लडाइँको मोर्चा बाँधेर तिनीहरू मानिसहरूझैँ आउनेछन्।

43बेबिलोनको राजाले तिनीहरूको बारेमा खबर सुनेको छ; अनि त्यसका हातहरू लल्याकलुलुक भएका छन्। प्रसव-वेदनामा परेकी स्त्रीलाई जस्तै पीडाले त्यसलाई पक्रेको छ।

44हेर, यर्दन नदीका झाडीहरूबाट हरियो खर्कबाट निस्केर आइरहेको सिंहझैँ म निस्कनेछु, र म बेबिलोनलाई झट्टै त्यसकै देशबाट खेद्नेछु; यस देशको निम्ति जसलाई चुन्छु, उसैलाई नियुक्त गर्नेछु। मजस्तो को छ र? कसले मलाई चुनौती दिन सक्छ? अनि कुनचाहिँ गोठालो मेरो विरुद्धमा खडा हुन सक्छ?”

45यसकारण बेबिलोनको विरुद्धमा याहवेहले जे योजना गर्नुभएको छ, उहाँले बेबिलोनीहरूको देशको विरुद्धमा जे उद्देश्य राख्नुभएको छ, सुन: बगालका कलिला बालबालिकाहरू तानेर लगिनेछन्; तिनीहरूका खर्कहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।

46बेबिलोन कब्जा गरिएको आवाजले पृथ्वी थरथर काँप्‍नेछ; तिनीहरूको चीत्कार राष्ट्रहरूका बीचमा गुञ्जिनेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath