ईसाई धर्म
पछाडि

यर्मिया 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने, मकहाँ फर्किआओ,” याहवेह घोषणा गर्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्‍टिबाट टाढा राख्यौ र फेरि बरालिएनौ भने,

2अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित याहवेहलाई साक्षी’ राखेर शपथ खायौ भने, तब उहाँद्वारा जातिहरू आशिषित हुनेछन्; अनि तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्।”

3यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूको बाँझो जमिनमा खनजोत गर, र काँडाहरूको बीचमा बिउ नछर।

4हे यरूशलेम र यहूदाका मानिसहरू हो, याहवेहका निम्ति आ-आफ्नो खतना गर, तिमीहरूका आफ्नो हृदयको खतना गर। नत्रता तिमीहरूले गरेका दुष्‍टताको कारण मेरो क्रोध दन्केर निस्कनेछ, र आगोझैँ बल्नेछ, अर्थात् यसरी बल्नेछ, कि कसैले पनि निभाउन सक्नेछैन।

5“यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूलाई यसो भनेर घोषणा गर: ‘देशभरि तुरही फुक!’ चर्कोसँग कराएर भन: ‘एकसाथ भेला होओ! हामी किल्‍ला भएका सुरक्षित सहरहरूतिर भागौँ।’

6सियोनतिर जाने झण्डा उठाओ! ढिलो नगरी सुरक्षाको निम्ति भाग! किनकि म उत्तर दिशाबाट विपत्ति ल्याउँदैछु; अब डरलाग्दो सर्वनाश ल्याउनेछु।”

7एउटा सिंह, जो आफ्नो ओडारबाट निस्किआएको छ; राष्ट्रहरूलाई नाश गर्न एक जना निस्किसकेको छ। तिमीहरूको देशलाई सर्वनाश पार्न त्यो आफ्नो ठाउँबाट निस्किसकेको छ। तिमीहरूका सहरहरू नष्‍ट हुनेछन्, र त्यहाँ कोही पनि बसोबास गर्नेछैन।

8यसकारण भाङ्ग्रा लगाएर विलाप गर र रोओ; किनकि याहवेहको डरलाग्दो क्रोध हामीबाट हटेको छैन।

9याहवेह घोषणा गर्नुहुन्छ, “त्यो दिन, राजा र अधिकारीहरू हताश हुनेछन्, र पुजारीहरू भयभीत हुनेछन्; अनि अगमवक्ताहरू चकित हुनेछन्।”

10तब मैले भनेँ, “हे प्रभु याहवेह, ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर यिनीहरू र यरूशलेमका मानिसहरूलाई पूर्ण रूपले कसरी धोका दिनुभएको छ; किनकि तरवार हाम्रा घाँटीसम्म नै छ!”

11त्यस बेला यी मानिसहरू र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका अग्ला बाँझो ठाउँहरूबाट एउटा प्रचण्ड तातो बतास मेरा मानिसहरूतिर बहनेछ, तर त्यो बतास निफन्‍नलाई वा सफा पार्नलाई होइन;

12किनकि मबाट आउने बतास अति शक्तिशाली हुनेछ। अब म यहूदाका मानिसहरूमाथि मेरो दण्ड घोषणा गर्नेछु।”

13हेर! उहाँ बादलझैँ अगि बढ्नुहुन्छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्; उहाँका घोडाहरू गरुडभन्दा तेज दगुर्छन्। हाय हामीलाई, किनकि हामीहरू बरबाद भयौँ!

14हे यरूशलेम, तेरो हृदयबाट दुष्‍ट कुराहरू धोएर पखाल्, तब तँ बाँच्नेछेस्। तँ कहिलेसम्म दुष्‍ट विचारहरू पालिरहन्छेस्?

15दानबाट एउटा आवाजले घोषणा गर्दैछ; एफ्राइमका डाँडाहरूबाट सर्वनाशको घोषणा हुँदैछ,

16“यो कुरा राष्ट्रहरूलाई भन्, यरूशलेमलाई यो घोषणा गर्: ‘यहूदाका सहरहरूको विरुद्धमा युद्धको ध्वनि सुनाउँदै, टाढा देशबाट घेरा हाल्ने सेनाहरू आउँदैछन्।

17मानिसहरूले खेतको रक्षा गरेझैँ तिनीहरूले यरूशलेमलाई घेर्नेछन्; किनकि त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ,’ ” याहवेह घोषणा गर्नुहुन्छ।

18“तेरा आफ्नै चाल र कामहरूले तँमाथि कष्‍ट ल्याएको हो। तेरो दण्ड यही हो। यो कस्तो तितो छ! त्यो कष्‍टले तेरो मुटुलाई नै छेड्छ!”

19हाय, मेरो पीडा! मेरो पीडा! म कष्‍टमा छटपटाउँछु! हाय, मेरो हृदयको वेदना! मेरो हृदय जोडसित धड्कन्छ! म चुपचाप रहन सक्दिनँ। किनकि मैले तुरहीको आवाज सुनेको छु; मैले युद्धको ध्वनि सुनेको छु।

20विनाशपछि विनाश आउँछ; सम्पूर्ण देश ध्वस्त भएको अवस्थामा छ। अचानक मेरा पालहरू नष्‍ट हुन्छन्, एकै क्षणमै मेरो शरणस्थान नष्‍ट पारिन्छ;

21मैले कहिलेसम्म लडाइँको झण्डा हेरिरहूँ, अनि तुरहीको आवाज सुनिरहूँ?

22“मेरा मानिसहरू मूर्ख छन्; तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू ज्ञान नभएका बालकहरूजस्ता हुन्; तिनीहरूको समझशक्ति छैन। तिनीहरू दुष्‍ट काम गर्न सिपालु छन्; तर तिनीहरूले भलाइ कसरी गर्ने भन्‍ने कुरा जान्दैनन्।”

23मैले पृथ्वीतिर हेरेँ, त्यो आकारविनाको र शून्य थियो; अनि आकाशतिर हेरेँ, र त्यहाँ उज्यालो थिएन।

24मैले डाँडाहरूतिर हेरेँ, तिनीहरू काँपिरहेका थिए; सबै डाँडा हल्‍लिरहेका थिए।

25मैले हेरेँ, र त्यहाँ कोही पनि मानिसहरू थिएनन्; आकाशका सबै चरा उडेर गइसकेका थिए।

26मैले हेरेँ, र फलदायी जमिन मरुभूमि भएको थियो; त्यसका सबै सहर याहवेहको सामु उहाँको भयानक रिसमा नष्‍ट भएका थिए।

27याहवेह यसो भन्‍नुहुन्छ: “मैले पृथ्वीलाई पूर्ण रूपले नाश नगरे तापनि सारा देश नष्‍ट हुनेछ।

28यसकारण पृथ्वीले शोक गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ; किनकि मैले बोलेको छु, र मेरो मन बदलिनेछैन; मैले निर्णय गरिसकेको छु, र मपछि हट्नेछैनँ।”

29घोडचढी र धनुर्धारीहरूको आवाज सुनेर सबै सहर भाग्नेछन्। तिनीहरू झाडीहरूतिर पस्‍नेछन्; अरूचाहिँ चट्टानमाथि उक्लनेछन्। सबै सहरहरू सुनसान हुनेछन्; ती सहरहरूमा कुनै मानिस बस्‍नेछैन।

30हे उजाड पारिएकी यरूशलेम, तँ के गर्दैछेस्? तैँले किन रातो वस्त्र पहिरहन्छेस्? र सुनको गहना लगाउँछेस्? तेरो आँखामा किन गाजल लगाउँछेस्? तँ व्यर्थमा आफूलाई सिङ्गार गर्छेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्; तिनीहरूले तँलाई मार्न खोज्दैछन्।

31म प्रसुती वेदनामा परेकी स्त्रीको रोदनजस्तै सुन्छु; पहिलो प्रसुती-वेदनाले छटपटाएको सुस्केरा, सास लिन गाह्रो परेकी सियोनकी छोरीको चीत्कार, आफ्नो हात पसारेर यसो भन्दै गरेकी, “हाय, म बेहोश हुँदैछु; मेरो जीवन हत्याराहरूको हातमा सुम्पिएको छ।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath