यर्मिया 44
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1इजिप्टको तल्लो भाग मिग्दोल, तहपनेस र मेम्फिसमा र माथिल्लो इजिप्टमा बस्ने सबै यहूदीहरूको विषयमा याहवेहको यो वचन यर्मियाकहाँ आयो:
2“सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले यरूशलेम र यहूदाका सबै सहरहरूमाथि ल्याएको ठूलो विपत्ति तिमीहरूले देखेका छौ। आज ती उजाड र ध्वस्त अवस्थामा छन्।
3तिमीहरूले गरेको दुष्टताको कारणले त्यो भएको थियो। किनकि न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले कहिल्यै चिनेका वा जानेका अन्य देवताहरूका निम्ति धूप बालेर तिनीहरूलाई पुजेर तिनीहरूले मलाई क्रोधित तुल्याए।
4मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’
5तर तिनीहरूले न मेरो कुरा सुने, न त ध्यान नै दिए; न तिनीहरू आफ्ना दुष्टताबाट फर्के, न अरू देवताहरूलाई धूप बाल्न नै छाडे।
6यसकारण मेरो डरलाग्दो रिसको ज्वाला खनियो; यसले यहूदाका सहरहरू र यरूशलेमका सहरहरू भस्म पार्यो; अनि ती ठाउँहरूलाई उजाड र भस्म पारियो, जस्तो आजको दिनसम्म छँदैछ।
7“यसकारण याहवेह सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: किन तिमीहरू आफ्नो कुनै अवशेष नै नरहने गरी यहूदाबाट पुरुषहरू र स्त्रीहरू, केटाकेटीहरू र दुधे बालबालिकाहरूलाई नष्ट गरेर, आफूमाथि भयङ्कर विपत्ति ल्याउन चाहन्छौ?
8तिमीहरू बस्न आएको इजिप्टमा आफ्नै हातले बनाएका मूर्तिहरूले अरू देवताहरूलाई धूप बालेर मलाई किन रिस उठाउँछौ? यसो गर्यौ भने तिमीहरूले आफूलाई सर्वनाश गर्नेछौ; अनि पृथ्वीमा सबै जातिहरूका बीचमा आफूलाई श्राप र घृणाको पात्र बनाउनेछौ।
9के तिमीहरूले आफ्ना पितापुर्खाहरूले गरेका दुष्टता, यहूदाका राजा र रानीहरूले गरेका दुष्टता, तिमीहरूका पत्नीहरूले गरेका दुष्टता बिर्स्यौ, जुन यहूदाको देशमा र यरूशलेमका सडकहरूमा गरेका थिए?
10आजको दिनसम्म तिनीहरूले आफूलाई विनम्र तुल्याएका छैनन्, अथवा मप्रति आदर देखाएका छैनन्, न त मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूको अगि स्थापित गरेका व्यवस्था र विधिहरू नै तिनीहरूले पालन गरेका छन्।
11“यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: हेर, मैले तिमीहरूमाथि विपत्ति ल्याउन र सम्पूर्ण यहूदालाई नाश गर्ने निर्णय लिएको छु।
12इजिप्टमा गएर त्यहीँ बसोबास गर्ने निश्चय गरेका यहूदाका बाँकी रहेका मानिसहरू सबैलाई म नष्ट गर्नेछु। तिनीहरू सबै इजिप्टमा नष्ट हुनेछन्; तिनीहरू तरवारद्वारा ढल्नेछन् अथवा अनिकालले मर्नेछन्। सानादेखि लिएर ठूलासम्मका सबै मानिसहरू तरवार अथवा अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास र निन्दाको पात्र हुनेछन्।
13जसरी मैले यरूशलेमलाई दण्ड दिएँ, त्यसरी नै म इजिप्टमा गएर बस्नेहरूलाई तरवार, अनिकाल र रूढी पठाएर दण्ड दिनेछु।
14यहूदाका बाँकी रहेका मानिसहरू, जो इजिप्टमा बसोबास गर्नलाई गएका छन्; तिनीहरू कसैले यहूदाको मुलुकमा फर्केर बस्ने इच्छा गरे तापनि फर्कनेछैनन्; तिनीहरूमध्ये ती उम्केकाहरूबाहेक कोही पनि फर्कन पाउनेछैनन्।”
15त्यसपछि आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धूप बालेका थाहा पाउने मानिसहरू र त्यहाँ उपस्थित भएका अरू सबै स्त्रीहरू सहितको एउटा ठूलो जमात, तल्लो र माथिल्लो इजिप्टमा बस्ने सबै इस्राएलीहरूले यर्मियालाई भने,
16“तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्नेछैनौँ!
17हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन।
18तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्ट भइरहेका छौँ।”
19ती स्त्रीहरूले थप्दै यसो भने, “जब हामीले स्वर्गकी रानीलाई धूप बाल्दा र तिनलाई अर्घबलि चढाउँदा के हाम्रा पतीहरूले हामीले तिनको मूर्तिको आकारमा फुरौला बनाउँदैछौँ, र तिनलाई अर्घबलि चढाउँदैछौँ भन्ने कुरा जान्दैनथिए र?”
20तब यर्मियालाई जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई तिनले यसो भने,
21“तिमीहरू, तिमीहरूका पितापुर्खाहरू, तिमीहरूका राजाहरू र तिमीहरूका अधिकारीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा जलाएको धूपको बारेमा के याहवेहले बिर्सनुभएको छ अनि के यो कुरा उहाँलाई थाहा छैन र?
22जब तिमीहरूले गरेका तिमीहरूका दुष्ट र घिनलाग्दा कामहरूलाई याहवेहले अझ सहन सक्नुभएन, तब तिमीहरूको देश श्रापित भयो र कुनै बासिन्दा नरहने गरी उजाड भयो, जुन आजको दिनसम्म त्यस्तै छ।
23तिमीहरूले धूप बालेर याहवेहको विरुद्धमा पाप गरेका छौ, उहाँका आज्ञापालन गरेका छैनौ, र उहाँको व्यवस्थाका आदेशहरू अथवा उहाँका सल्लाहहरू अथवा नियमहरू पालन गरेका छैनौँ। यसकारण यो ठूलो विपत्ति तिमीहरूमाथि आएको छ, जुन विपत्ति आज तिमीहरू देख्दैछौ।”
24त्यसपछि यर्मियाले सबै मानिसहरू र ती स्त्रीहरूलाई भने, “हे इजिप्टमा भएका सबै यहूदाका मानिसहरू हो, याहवेहको वचन सुन।
25सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छौ भनी शपथ खाएका थियौ, ‘हामी स्वर्गकी रानीलाई धूप बाल्नेछौँ र अर्घबलि चढाउनेछौँ भनी हामीले खाएको शपथ हामी अवश्य पूरा गर्नेछौँ।’ “त्यसैले तिमीहरू अगि बढ, तिमीहरूले प्रतिज्ञा गरेको कुरा गर! आफ्नो भाकल पूरा गर!
26तर इजिप्टमा बस्ने हे सबै यहूदीहरू हो, तिमीहरूले याहवेहको वचन सुन: ‘म मेरो महान् नामको शपथ खान्छु,’ याहवेह भन्नुहुन्छ, ‘इजिप्टको कुनै पनि ठाउँमा बस्ने यहूदाबाटका मानिसहरू कसैलाई पनि मेरो नाममा, “जीवित प्रभु याहवेहको नाममा शपथ खान्छु” भनेर कहिल्यै पुकार्न दिनेछैन, अथवा शपथ खान दिनेछैन।’
27किनकि मैले तिनीहरूमाथि भलाइको निम्ति होइन, तर खराबीको निम्ति हेर्दैछु; तिनीहरू सबै पूरै नाश नभएसम्म इजिप्टमा रहेका यहूदीहरू तरवार र अनिकालले नष्ट हुनेछन्।
28तरवारबाट उम्कने थोरै मानिसहरू मात्र इजिप्टबाट यहूदाको देशमा फर्कनेछन्। तब इजिप्टमा बसोबास गर्न आउने यहूदाका सबै बाँकी रहेका अवशेषहरूले कसको वचन अटल रहनेछ—मेरो वा तिनीहरूको भनी जान्नेछन्।
29“ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्चय नै पूरा हुनेछ।’
30याहवेह यसो भन्नुहुन्छ: ‘जसरी मैले यहूदाका राजा सिदकियाह र उसलाई मार्न चाहने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म इजिप्टको राजा फारो होप्रालाई पनि त्यसलाई मार्न चाहने शत्रुहरूका हातमा सुम्पिदिनेछु।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath