यर्मिया 36
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा याहवेहको वचन यर्मियाकहाँ आयो:
2“योशियाहको शासनकालदेखि अहिलेसम्म इस्राएल, यहूदा र अरू सबै जातिहरूको विषयमा मैले तँसित कुरा गर्न थालेको दिनदेखि आजसम्म मैले भनेका प्रत्येक कुराहरू एउटा चर्मपत्र लिएर त्यसमा लेख्।
3सायद मैले तिनीहरूमाथि ल्याउन लागेको हरेक विपत्तिको बारेमा जब यहूदाका मानिसहरूले सुन्लान्, र तिनीहरू हरेक आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; तब म तिनीहरूका अपराध र पाप क्षमा गर्नेछु।”
4यसकारण यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि याहवेहले यर्मियालाई भन्नुभएका सबै कुरा तिनले भने; अनि बारूकले चाहिँ ती कुराहरू चर्मपत्रमा लेखे।
5तब यर्मियाले बारूकलाई भने, “म थुनामा छु; मलाई याहवेहको मन्दिरमा जान अनुमति छैन।
6यसकारण तिमी उपवासको दिन याहवेहको भवनमा जाऊ। मैले भनेको र तिमीले चर्मपत्रमा लेखेका कुराहरू मानिसहरूका निम्ति पढिदेऊ। ती वचनहरू सहरहरूबाट भित्र आएका यहूदाका ती सबै मानिसहरूले सुन्ने गरी पढिदेऊ।
7सायद तिनीहरूले आफ्ना बिन्ती याहवेहको सामु ल्याऊलान् र प्रत्येक मानिस आ-आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; किनकि याहवेहले आफ्ना मानिसहरूका विरुद्धमा घोषणा गर्नुभएको रिस र त्यो क्रोध अति भयानक छन्।”
8यर्मिया अगमवक्ताले भनेअनुसार हरेक वचनहरू नेरियाहका छोरा बारूकले पढेर सुनाए; बारूकले त्यस चर्मपत्रबाट याहवेहका ती वचनहरू याहवेहको मन्दिरमा पढेर सुनाए।
9यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको पाँचौँ वर्षको नवौँ महिनामा, यरूशलेमका सबै मानिसहरू र यहूदाका सहरहरूबाट आएका सबै मानिसहरूका निम्ति याहवेहको सामु उपवासको समय घोषणा गरियो।
10मन्दिरको नयाँ मूलढोकाको प्रवेशद्वारको माथिल्लो चोकमा रहेको शापानका छोरा सचिव गमर्याहको कोठाबाट, बारूकले याहवेहको मन्दिरमा भएका सबै मानिसहरूको निम्ति यर्मियाले भनेका चर्मपत्रबाट वचनहरू पढे।
11जब शापानका नाति, गमर्याहका छोरा मीकायाले चर्मपत्रबाट याहवेहका सबै वचनहरू सुने,
12तब तिनी राजमहलमा भएको सचिवको कोठामा गए, जहाँ सबै अधिकारीहरू, अर्थात् सचिव एलिशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह, र अरू सबै अधिकारी बसिरहेका थिए।
13बारूकले चर्मपत्रबाट मानिसहरूका निम्ति पढेर सुनाएका सबै कुरा मीकायाले मानिसहरूलाई सुनाएदिए।
14तब सबै अधिकारीले कूशीका पनाति, शेलेम्याहका नाति, नतन्याहका छोरा येहूदीलाई बारूककहाँ यसो भन्नलाई पठाए, “तिमीले जुन चर्मपत्रबाट मानिसहरूलाई पढेर सुनायौ, त्यही चर्मपत्र लिएर आऊ।” यसकारण नेरियाहका छोरा बारूकले आफ्नो हातमा चर्मपत्र लिएर तिनीहरूकहाँ गए।
15तिनीहरूले तिनलाई भने, “यहाँ बस, र हाम्रो निम्ति त्यो पढिदेऊ।” यसकारण बारूकले तिनीहरूलाई त्यो पढेर सुनाइदिए।
16जब तिनीहरूले ती सबै वचन सुने, तब तिनीहरू डरले एक-अर्कालाई हेराहेर गर्न लागे र बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ।”
17तब तिनीहरूले बारूकलाई सोधे, “तिमीले यो सबै कुरा कसरी लेख्यौ? के यर्मियाले यी सबै कुरा लेख्न लगाएका हुन्?”
18बारूकले जवाफ दिए, “हजुर, उहाँले नै यी सबै वचनहरू मलाई भन्नुभएको हो; अनि मैले ती वचनहरू यस चर्मपत्रमा मसीले लेखेँ।”
19तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया गएर लुकेर बस। तिमीहरू कहाँ छौ, सो कुरा कसैले पनि थाहा नपाओस्।”
20अधिकारीहरूले त्यस चर्मपत्रलाई सचिव एलिशामाको कोठामा राखिछोडे, र चोकमा राजाकहाँ गएर यी सबै कुरा भनिदिए।
21राजाले येहूदीलाई त्यो चर्मपत्र लिन पठाए, र येहूदीले सचिव एलिशामाको कोठाबाट त्यसलाई ल्याए। अनि राजा र तिनका छेउमा उभिरहेका सबै अधिकारीलाई पढेर सुनाइदिए।
22त्यो नवौँ महिना थियो र राजा हिउँदमा बस्ने महलमा बसिरहेका थिए। अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो।
23जब येहूदीले चर्मपत्रका तीन चार पङ्क्ति मात्र पढेका थिए, तब राजाले कागज काट्ने छुरीले ती चर्मपत्रलाई काटेर पूरै जलेर भस्म नहुन्जेल मकलको आगोमा फालिदिए।
24यी वचनहरू सुन्ने राजा र तिनका सबै सेवकहरू न डराए, न त तिनीहरूले आफ्ना वस्त्रहरू नै च्याते।
25एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो चर्मपत्र नजलाउनु भनेर बिन्ती गरे, तर तिनले तिनीहरूको कुरा सुन्नै मानेनन्।
26त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अब्दीलका छोरा शेलेम्याहलाई शास्त्री बारूक र यर्मिया अगमवक्तालाई पक्रने आदेश दिए। तर याहवेहले तिनीहरूलाई लुकाउनुभएको थियो।
27यर्मियाले लेख्न लगाएअनुसार बारूकले लेखेका चर्मपत्र राजाले जलाइदिएपछि याहवेहको यसो भन्ने वचन यर्मियाकहाँ आयो:
28“अर्को एउटा चर्मपत्र लिएर पहिलो चर्मपत्रमा भएका सबै वचन लेख्, जसलाई यहूदाको राजा यहोयाकीमले जलाएको थियो।
29यहूदाको राजा यहोयाकीमलाई यो पनि भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले त्यस चर्मपत्र जलाइस्, र भनिस्, “बेबिलोनको राजा निश्चय नै आउनेछ, यस देशलाई नष्ट गर्नेछ। अनि यस देशका मानिसहरू र पशुप्राणीहरू दुवैलाई नाश गर्नेछ भनेर तैँले त्यसमा किन लेखिस्?”
30यसकारण यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्नुहुन्छ: दावीदको सिंहासनमा बस्नका लागि त्यसको सन्तानबाट कोही पनि हुनेछैन। त्यसको शरीर बाहिर फ्याँकिनेछ र दिउँसोको गर्मी र रातको चिसो शीतमा छोडिनेछ।
31म त्यसलाई, त्यसका छोराछोरीहरूलाई र त्यसका सेवकहरूलाई तिनीहरूका दुष्ट कामको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि, र यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरूमाथि तिनीहरूको विरुद्धमा मैले घोषणा गरेका हरेक विपत्ति ल्याउनेछु। किनकि तिनीहरूले मेरो चेतावनीमा कुनै ध्यान दिएका छैनन्।’ ”
32यसकारण यर्मियाले अर्को चर्मपत्र लिए र नेरियाहका छोरा शास्त्री बारूकलाई त्यो दिए; अनि यर्मियाले भनेअनुसार बारूकले यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएका चर्मपत्रमा भएका सबै वचनहरू फेरि लेखे। अनि ती वचनहरूसँग मिल्ने अरू यस्तै वचनहरू पनि त्यसमा थपिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath