ईसाई धर्म
पछाडि

यर्मिया 34

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, आफ्नो शासनको अधीनमा रहेका सबै राज्य र जातिहरूले यरूशलेम र त्यसका वरिपरिका सबै सहरको विरुद्धमा लडाइँ गरिरहेको बेला याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:

2“याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यहूदाको राजा सिदकियाहकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु, र त्यसले यस सहरलाई आगोले भस्म पार्नेछ।

3तँ त्यसको हातबाट उम्कनेछैनस्। तँ निश्‍चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिनेछस्। तैँले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस्; अनि त्यसले तँसँग आमने-सामने कुरा गर्नेछ, र तँ बेबिलोनमा जानेछस्।

4“ ‘तापनि हे यहूदाका राजा सिदकियाह, याहवेहको प्रतिज्ञा सुन्। तेरो बारेमा याहवेह यसो भन्‍नुहुन्छ: तँ तरवारद्वारा मारिनेछैनस्;

5तर तँ शान्तिसित मर्नेछस्। जसरी मानिसहरूले तँभन्दा पहिलेका तेरा पुर्खाहरूका सम्मानका निम्ति अन्तिम संस्कारमा सुगन्धित धूप बालेका थिए, त्यसरी नै तिनीहरूले तेरो सम्मानको निम्ति पनि आगोमा धूप बाल्नेछन् र यसो भनेर विलाप गर्नेछन्, “हाय, हे मालिक!” म आफैँले यो प्रतिज्ञा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ।’ ”

6तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने,

7जुन बेला बेबिलोनका राजाका सेनाहरू यरूशलेम र यहूदाका बाँकी रहेका अरू सहरहरूलाई जित्न, लाकीश र अजेकाको विरुद्धमा लडाइँ गरिरहेका थिए। यहूदामा रहेका सहरहरूमध्ये पर्खालले घेरिएका यी दुई सहरहरू मात्र बाँकी थिए।

8सिदकियाह राजाले यरूशलेममा बस्‍ने सबै मानिसहरूसँग दासहरूको स्वतन्त्रता घोषणा गरिदिने करार बाँधेपछि याहवेहको वचन यर्मियाकहाँ आयो।

9हरेकले आ-आफ्ना हिब्रू दास-दासीलाई स्वतन्त्र गरिदिनुपर्थ्यो। कसैले पनि आफ्ना हिब्रू दाजुभाइहरूलाई बन्धनमा राख्न मिल्दैनथ्यो।

10यसकारण यस करारमा सामेल हुने सबै अधिकारी र मानिसहरूले तिनीहरूका दास-दासीहरूलाई स्वतन्त्र गरिदिने र तिनीहरूलाई अब उसो दासत्वमा नराख्ने कुरामा राजी भए। तिनीहरू त्यो करारमा राजी भए र दास-दासीहरूलाई स्वतन्त्र गरिदिए।

11तर पछिबाट तिनीहरूले आफ्ना मन बदले र तिनीहरूले स्वतन्त्र गरिदिएका दास-दासीहरूलाई फर्काइल्याएर फेरि दास-दासी बनाए।

12तब याहवेहको वचन यर्मियाकहाँ आयो:

13“याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ,

14‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्।

15तिमीहरूले भर्खरै पश्‍चात्ताप गर्‍यौ र मेरो दृष्‍टिमा जे उचित छ, त्यही तिमीहरूले गर्‍यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्‍यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ।

16तर अब फेरि तिमीहरू पछि हटेर मेरो नाम अशुद्ध पारेका छौ। तिमीहरूले कमारा-कमारीहरूलाई इच्छा लागेको ठाउँमा जान स्वतन्त्र गरिदिएका थियौ, तर अब फेरि तिमीहरू हरेकले तिनीहरूलाई फर्काएर ल्यायौ। तिमीहरूले तिनीहरूलाई आफ्ना कमारा-कमारी हुनलाई फेरि बाध्य बनायौ।

17“यसकारण याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेनौ; तिमीहरूले आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गरेनौ। यसकारण अब हेर, म तिमीहरूका निम्ति ‘स्वतन्त्रताको’ घोषणा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ—तरवार, अनिकाल र रूढीद्वारा नष्‍ट हुने स्वतन्त्रताको घोषणा। तिमीहरूको हालत यस्तो बनाइदिनेछु, कि पृथ्वीका सबै राज्यहरूले यो देखेर भयभीत हुनेछन्।

18जजसले मेरो करार भङ्ग गरेका छन् र तिनीहरूले मेरो सामु गरेका करारका शर्तहरू पूरा गरेका छैनन्, म तिनीहरूसँग त्यही बाछालाई जस्तो व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई टुक्रा पारेर ती टुक्राहरूका बीचबाट हिँडे।

19यहूदा र यरूशलेमका अगुवाहरू, अदालतका पदाधिकारीहरू, पुजारीहरू र देशका सबै मानिसहरू, जो बाछाका यी टुक्राहरूका बीचबाट हिँडेका छन्,

20म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्।

21“म यहूदाको राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरू, बेबिलोनको राजाको सेनाहरूका हातमा सुम्पिदिनेछु, जुन सेनाहरू तिमीहरूबाट पछि हटेका छन्।

22याहवेह घोषणा गर्नुहुन्छ, म बेबिलोनी सेनाहरूलाई आदेश दिनेछु; अनि म तिनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। तिनीहरूले यस सहरको विरुद्धमा लडाइँ गर्नेछन्। यस सहरलाई कब्जा गर्नेछन् र आगो लगाएर भस्म पार्नेछन्। यसरी म यहूदाका सहरहरूलाई उजाड पारिदिनेछु, ताकि त्यहाँ कोही पनि बसोबास गर्न नपाओस्।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath