यर्मिया 32
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यहूदाका राजा सिदकियाहको शासनकालको दशौँ वर्षमा, अर्थात् नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा याहवेहको यो वचन यर्मियाकहाँ आयो।
2त्यस बेला बेबिलोनका राजाका सेनाहरूले यरूशलेमलाई घेरिराखेका थिए। अनि यर्मिया अगमवक्तालाई चाहिँ यहूदाको राजकीय महलको पहरेदार चोकमा कैदमा राखिएको थियो।
3यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर त्यहाँ कैद गरेका थिए, “तैँले किन अगमवाणी गर्छस् र यसरी भन्छस्? याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु र त्यसले यसलाई कब्जा गर्नेछ।
4यहूदाका राजा सिदकियाह बेबिलोनीहरूबाट उम्कनेछैन, तर निश्चय नै बेबिलोनको राजाको हातमा सुम्पिइनेछ। अनि बेबिलोनको राजासँग आफ्नै आँखाले आमने-सामने हेरेर कुरा गर्नेछ।
5बेबिलोनको राजाले सिदकियाहलाई बेबिलोनमा लैजानेछ, जहाँ सिदकियाहलाई मैले उसको मामिलामा विचार नगरेसम्म ऊ त्यहीँ हुनेछ, याहवेह घोषणा गर्नुहुन्छ। यदि तिमीहरूले बेबिलोनीहरूको विरुद्धमा लडाइँ गर्यौ भने तिमीहरू सफल हुनेछैनौ भनेर तँ किन यसो भन्छस्।’ ”
6तब यर्मियाले भने, “याहवेहको वचन मकहाँ आयो:
7तेरा काका शल्लूमको छोरा हनमेल यसो भन्दै तँकहाँ भेट्न आउन लागेको छ, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्; किनकि तपाईं नजिकको नातेदार हुनुभएको कारण जमिन किन्ने अधिकार र कर्तव्य तपाईंको हो।’
8“तब याहवेहले भन्नुभएझैँ मेरो भाइ हनमेल पहरेदारको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्। किनकि यस जमिनलाई मूल्य चुकाएर छुटाउने र अधिकार गर्ने हक तपाईंकै छ। यसकारण जमिनलाई तपाईंले नै किन्नुहोस्।’ “यो याहवेहको वचन हो भनी म जान्दछु;
9यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी जोखेर त्यसलाई दिएँ।
10मैले त्यस जमिनको तमसुकमा सही गरेर छाप लगाएँ। मैले साक्षीहरू राखेँ, र तराजुमा त्यो चाँदी जोखिदिएँ।
11मैले जमिन किनेको तमसुक, अर्थात् शर्तहरू सहितको सहीछाप लगाइएको तमसुकको साथमा छाप नलगाइएको प्रतिलिपी पनि लिएँ।
12अनि आफ्नो भाइ हनमेलको उपस्थिति र त्यस तमसुकमा सही गर्ने साक्षीहरू र पहरेदार चोकमा बसिरहेका सबै यहूदीहरूको उपस्थितिमा त्यस तमसुकलाई महसेयाहको नाति, नेरियाहको छोरा बारूकलाई दिएँ।
13“ती मानिसहरूकै उपस्थितिमा मैले बारूकलाई यी आदेशहरू दिएँ:
14‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सहीछाप लगाइएको र नलगाइएको यी दुवै प्रतिलिपिहरू लिएर लामो समयसम्म सुरक्षित रहून् भनेर यिनीहरूलाई माटोको भाँडोमा राख्नू।
15किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यस देशमा फेरि घरहरू, जमिनहरू र दाखबारीहरू किनबेच गरिनेछन्।’
16“मैले नेरियाहको छोरा बारूकलाई किनबेचको तमसुक दिइसकेपछि मैले याहवेहसँग प्रार्थना गरेँ:
17“हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
18तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका याहवेह हो;
19तपाईंका उद्देश्यहरू महान् र तपाईंका कामहरू शक्तिशाली छन्। तपाईंका आँखा सबै मानव-जातिका चालहरूमाथि खुल्ला रहन्छन्; तपाईंले हरेक मानिसलाई तिनीहरूका चालहरू र तिनीहरूका कामअनुसारको इनाम दिनुहुन्छ।
20तपाईंले इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नुभयो। आजको दिनसम्म इस्राएल र सबै मानव-जाति दुवैका बीचमा ती प्रकट गरिरहनुभएको छ। अनि तपाईंले ख्याति प्राप्त गर्नुभएको छ, जुन आजको दिनसम्म पनि तपाईंकै हो।
21तपाईंले आफ्नो जाति इस्राएललाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा तपाईंको शक्तिशाली हात र बाहुबलको ठूलो त्राससहित इजिप्टबाट निकालेर ल्याउनुभयो।
22तपाईंले तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको यो देश, जुन दूध र मह बग्ने देश हो, तिनीहरूलाई दिनुभयो।
23इस्राएलीहरू देशभित्र आए, र देशलाई अधिकार गरे; तर तिनीहरूले तपाईं र तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूलाई पालन गर्नू भनेर दिनुभएको आज्ञा तिनीहरूले पालन गरेनन्। यसैकारण तपाईंले तिनीहरूमाथि यी सबै विपत्तिहरू ल्याउनुभयो।
24“हेर्नुहोस्, यस सहरलाई कब्जा गर्नलाई बेबिलोनीहरूले घेरा हाल्न कसरी मोर्चा बनाएका छन्। किनकि तरवार, अनिकाल र रूढीको कारणले यो सहर बेबिलोनीहरूको हातमा सुम्पिइनेछ, जसले यस सहरमाथि आक्रमण गरिरहेका छन्। तपाईंले जे भन्नुभयो, त्यो पूरा भइरहेको छ, जस्तो अहिले तपाईंले देख्दैहुनुहुन्छ।
25अनि यो सहर यरूशलेमलाई बेबिलोनीहरूको हातमा सुम्पिने भए तापनि हे प्रभु याहवेह, तपाईंले मलाई भन्नुहुन्छ, ‘यस जमिनलाई चाँदीले किन र किनबेच गरिएको साक्षी राख।’ ”
26तब याहवेहको वचन यर्मियाकहाँ आयो:
27“म याहवेह सबै मानव-जातिका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
28यसकारण याहवेह यसो भन्नुहुन्छ: म यस सहरलाई बेबिलोनीहरू र बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिन लागेको छु, जसले यस सहरलाई कब्जा गर्नेछ।
29यस सहरलाई आक्रमण गरिरहेका बेबिलोनीहरू सहरभित्र आउनेछन्, र यस सहरलाई आगो लगाइदिनेछन्। बाल देवताका छानाहरूमा धूप बालेर अरू देवताहरूलाई अर्घबलि चढाएर मलाई रिस उठाउने मानिसहरू बसेका घरहरूको साथमा यस सहरलाई पनि जलाइदिनेछन्।
30“इस्राएल र यहूदाका मानिसहरूले तिनीहरूका जवानी अवस्थादेखि नै दुष्ट कामहरूबाहेक अरू केही पनि गरेका छैनन्। साँच्चै इस्राएलका मानिसहरूले तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाउने कामबाहेक अरू केही गरेका छैनन्, याहवेह घोषणा गर्नुहुन्छ।
31यो यरूशलेमको सहर बनिएको दिनदेखि आजको दिनसम्म यस सहरका मानिसहरूले मलाई रिस उठाएर क्रोधित तुल्याएका छन्। यसकारण मैले यस सहरलाई आफ्नो दृष्टिबाट हटाइदिनैपर्छ।
32इस्राएल र यहूदाका मानिसहरू, तिनीहरू, तिनीहरूका राजाहरू र अधिकारीहरू, तिनीहरूका पुजारीहरू र अगमवक्ताहरू, यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूले सबै दुष्ट कामहरू गरेर मलाई क्रोधित तुल्याएका छन्।
33तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्।
34तिनीहरूले मेरो नाम बोकेको परमेश्वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे।
35तिनीहरूले आफ्ना छोराछोरीहरूलाई मोलेख देवतालाई बलिदान चढाउनलाई बेन-हिन्नोमको खोल्सामा बालको निम्ति अग्ला ठाउँ वा देवस्थानहरू बनाए। तिनीहरूले यस्ता घिनलाग्दा पापहरू गर्न, न त मैले तिनीहरूलाई कहिल्यै आज्ञा गरेको थिएँ, न त यस्तो कुरा मेरो मनमा नै थियो।
36“तिमीहरू यस सहरको विषयमा यसरी भन्दैछौ, ‘तरवार, अनिकाल र रूढीद्वारा यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ’; तर याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
37निश्चय नै म तिनीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, जहाँ मैले आफ्नो रिस र प्रचण्ड क्रोधमा तिनीहरूलाई धपाइदिएको थिएँ। म तिनीहरूलाई यस भूमिमा फर्काएर ल्याउनेछु र तिनीहरूलाई सुरक्षित भएर बस्न दिनेछु।
38तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
39म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्नेछन्।
40म तिनीहरूसँग अनन्तको करार बाँध्नेछु। म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्नेछैनँ। अनि म तिनीहरूलाई मप्रति डर मान्ने बनाउनेछु। यसकारण तिनीहरू मबाट कहिल्यै तर्केर टाढा जानेछैनन्।
41तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्चय नै स्थायी रूपमा स्थापित गर्नेछु।
42“याहवेह यसो भन्नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु।
43जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’
44चाँदीको लागि जमिनहरू किनिनेछन्, र बेन्यामीनको इलाकामा, यरूशलेमका वरिपरिका गाउँहरूमा, यहूदाका सहरहरूमा, पश्चिमी पहाडको फेद र दक्षिणतिरको पहाडी इलाकाका सहरहरूमा किनबेचको तमसुकहरूमा हस्ताक्षर गरिनेछन्। सहीछाप लाएर तमसुकहरू साक्षीका निम्ति राखिनेछन्; किनकि म तिनीहरूको सुख-शान्ति फेरि फर्काइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath