ईसाई धर्म
पछाडि

यर्मिया 27

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1योशियाहका छोरा, यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:

2याहवेहले मलाई यसो भन्‍नुभयो: “छालाको डोरी र एउटा जुवा बना, र तेरो काँधमा राख्।

3त्यसपछि एदोम, मोआब, टायर, अम्मोन र सीदोनका राजाहरूका राजदूतहरू, जो यरूशलेममा यहूदाको राजा सिदकियाहलाई भेट्न आएका छन्, ती राजदूतहरूद्वारा राजाकहाँ समाचार पठा।

4तिनीहरूका राजाहरूका निम्ति यो सन्देश दिएर भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका मालिकहरूलाई यो सन्देश भन्‍नू:

5मैले आफ्नो महाशक्ति र बलवान् हातले पृथ्वी र त्यसमा भएका मानिसहरू र पशुप्राणीहरू बनाएँ; जसलाई इच्छा लाग्छ त्यसैलाई म यो दिन्छु।

6अब म तिमीहरूका सबै देशहरू मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; म जङ्गली जनावरहरूलाई पनि त्यसको अधीनमा राखिदिनेछु।

7त्यस देशको पतनको समय नआइपुगेसम्म सबै जातिहरूले त्यसका छोरा र नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै राष्ट्रहरू र महान् राजाहरूले त्यसलाई आफ्नो अधीनमा पार्नेछन्।

8“ ‘ “तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।

9यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्‍नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’

10तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्‍ट हुनेछौ।

11तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्‍न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।” ’ ”

12मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्।

13किन याहवेहले बेबिलोनको राजाको सेवा नगर्ने जातिहरूका निम्ति दिनुभएको चेतावनीझैँ, तँ र तेरा मानिसहरू तरवार, अनिकाल र विपत्तिद्वारा मर्न चाहन्छौ?

14तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।

15याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’ ”

16तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।

17तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्‍ट हुन दिने?

18यदि तिनीहरू साँच्‍चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्।

19किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ,

20जुन कुराहरू बेबिलोनका राजा नबूकदनेसरले यहोयाकीमका छोरा, यहूदाका राजा यहोयाकीनलाई यहूदा र यरूशलेमका मुख्य मनिसहरूसहित, यरूशलेमबाट बेबिलोनमा कैद गरेर लैजाँदा ती सामानहरू लगेका थिएनन्—

21हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

22‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath