यर्मिया 22
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेह यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा तल जा, र त्यहाँ यो वचन घोषणा गर्:
2‘हे यहूदाका राजा, याहवेहको वचन सुन्, तँ दावीदको सिंहासनमा विराजमान हुने राजा, तँ, तेरा अधिकारीहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै मानिसहरूले सुन्।
3याहवेह यसो भन्नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ।
4किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्यौ भने दावीदको सिंहासनमा बस्ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्।
5तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने याहवेह घोषणा गर्नुहुन्छ, म आफ्नै शपथ खाएर भन्छु, यो महल ध्वस्त हुनेछ।’ ”
6किनकि यहूदाको राजमहलको बारेमा याहवेह यसो भन्नुहुन्छ: “तँ मेरा निम्ति गिलादझैँ र लेबनानको टाकुराझैँ भए तापनि निश्चय नै म तँलाई बसोबास नभएको निर्जन सहरहरूजस्तै उजाड पार्नेछु।
7म तेरो विरुद्धमा विनाशकर्ताहरू पठाउनेछु, हरेकले आ-आफ्नो हतियार लिएर आउनेछन्; अनि तिनीहरूले तेरा असल देवदारुका काठका बीमहरू काट्नेछन् र तिनीहरूलाई आगोमा फ्याँकिदिनेछन्।
8“धेरै देशका मानिसहरू यस सहरबाट जानेछन् र आपसमा सोध्नेछन्, ‘यस महान् सहरलाई याहवेहले किन यस्तो डरलाग्दो व्यवहार गर्नुभएको होला?’
9अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ”
10मरिगएको राजाको निम्ति अथवा गइसकेका निम्ति शोक नगर; बरु निर्वासनमा लगिएकाहरूका निम्ति विलाप गर; किनकि त्यो फेरि फर्केर कहिल्यै आउनेछैन, न त त्यसले आफ्नो जन्मभूमि फेरि देख्नेछ।
11किनकि याहवेह यसो भन्नुहुन्छ, योशियाहका छोरा शल्लूम, जो आफ्ना पितापछि यहूदाको राजा भएको थियो, तर ऊ यस ठाउँबाट गइसकेको छ: “त्यो कहिल्यै फर्केर आउनेछैन।
12शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।”
13“धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ; आफ्ना देशवासीहरूलाई तिनीहरूका परिश्रमको ज्याला नदिई सितैँमा काममा लगाउँछ।
14त्यसले भन्छ, ‘म आफ्ना निम्ति माथिल्लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु।’ यसकारण त्यसले त्यस घरमा ठूला झ्यालहरू बनाउँछ, त्यसमा देवदारुका पल्लाहरू लगाउँछ; अनि त्यसलाई रातो रङ्गले रङ्गाउँछ।
15“के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा, तँ राजा हुन्छस् र? के तेरा पितासँग खाने र पिउने कुरो थिएन? जे उचित र न्यायसङ्गत थियो, त्यसले त्यही गर्यो। यसकारण त्यसलाई सबै कुरामा भलाइ नै भयो।
16त्यसले गरिब र खाँचोमा परेकाहरूको पक्ष लियो; अनि त्यसको सबै कुरामा राम्रो भयो। के मलाई चिन्नुको अर्थ त्यही नै होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।
17“तर तेरा आँखा र तेरा हृदय त बेइमानीसाथ कमाउनेतिर, निर्दोष मानिसहरूको रगत बहाउनेतिर; अनि अत्याचार र हिंसातिर लागेका छन्।”
18यसकारण योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्नुहुन्छ: “तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्; ‘हाय, मेरा दाजु, हाय, मेरी बहिनी!’ भन्नेछैनन्। तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्: ‘हाय, मेरा मालिक, हाय, उहाँको गौरव!’ भन्नेछैनन्।
19त्यसको दफन गधाको जस्तै हुनेछ; त्यसलाई घिस्याउँदै लगेर यरूशलेमको मूलढोकाको बाहिर फ्याँकिदिनेछन्।”
20“उक्लेर लेबनानसम्म जा, र चर्कोगरी करा, तेरो सोर बाशानसम्मै सुनिओस्; अबारीमबाट करा, किनकि तेरा सबै मित्रहरू नष्ट भएका छन्।
21तैँले आफूलाई सुरक्षित महसुस गर्दा मैले तँलाई चेतावनी दिएँ, तर तैँले भनिस्, ‘म सुन्नेछैनँ!’ यो त तेरो जवानीदेखिकै चाल भएको छ; तैँले मेरो आज्ञापालन गरेकै छैनस्।
22हावाले तेरा सबै गोठालाहरूलाई उडाइदिनेछ; अनि तेरा मित्रहरू देशबाट कैदमा लगिनेछन्। तब तेरा सबै दुष्ट कामहरूको कारणले तँ लज्जित र अपमानित हुनेछस्।
23हे लेबनानमा बस्नेहरू, तिमीहरू, जो देवदारुका भवनहरू बनाएर बसेका छौ, तिमीहरूमाथि जब पीडा आइपर्ला, तब तिमीहरू पीडाले चीत्कार गर्नेछौ, त्यो पीडा सुत्केरीको प्रसव वेदनाजस्तै हुनेछ!”
24याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु।
25म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्।
26म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू कोही पनि जन्मेका थिएनौ; अनि तिमीहरू दुवै आमा छोराछोरीहरू त्यहीँ नै मर्नेछौ।
27तिमीहरू जन्मभूमिमा फर्कन इच्छा गर्नेछौ, तर फर्केर यहाँ कहिल्यै आउनेछैनौ।”
28के यो मानिस यहोयाकीन तुच्छ ठानिएको एउटा घृणित, फुटेको माटोको भाँडो हो? त्यो र त्यसका छोराछोरीहरूलाई निकालेर, तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्?
29हे देश, हे देश, हे देश, याहवेहको वचन सुन्!
30याहवेह यसो भन्नुहुन्छ: “यस मानिसलाई निःसन्तान भनी दर्ता गर्, यस्तो मानिस, जो जीवनकालभरि सफल हुनेछैन; किनकि त्यसको कुनै पनि सन्तान सफल हुनेछैन र कोही पनि दावीदको सिंहासनमा बस्नेछैन, अथवा यहूदामा फेरि कसैले पनि शासन गर्नेछैन।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath