यर्मिया 19
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1याहवेह यसो भन्नुहुन्छ: “तँ कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन्। त्यसपछि मानिसहरूका पुजारीहरू र केही अगुवाहरू आफूसँग लिएर,
2खपटाका मूलढोकाको नजिक भएको बेन-हिन्नोमको बेँसीमा जा। अनि मैले तँलाई भनेका वचनहरू त्यहाँ घोषणा गर्;
3अनि यसो भन्, ‘हे यहूदाका राजाहरू र यरूशलेमका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सुन! म यस ठाउँमा विपत्ति ल्याउनेछु, जसको बारेमा सुन्ने हरेकको कान झनझनाउनेछ।
4किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँलाई विदेशी देवताहरूको ठाउँ बनाएका छन्; तिनीहरूले यस ठाउँमा देवताहरूलाई धूप बालेका छन्, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले, न त यहूदाका राजाहरूले कहिल्यै चिनेका थिए; अनि तिनीहरूले यस ठाउँलाई निर्दोष मानिसहरूका रगतले भरिदिएका छन्।
5तिनीहरूले आफ्ना छोराछोरीहरू बाल-देवताको आगोमा बलिदान चढाउनलाई देवस्थानहरूमा बाल देवताका थानहरू बनाएका छन्, जुन कुरा मैले कहिल्यै आज्ञा दिएको थिइनँ, अथवा बताएको थिइनँ, न त यो कुरा कहिल्यै मेरो मनमै आएको थियो।’
6यसकारण होसियार रहो, याहवेह भन्नुहुन्छ, यस्ता दिनहरू आउँदैछन्, जब मानिसहरूले यस ठाउँलाई फेरि तोपेत अथवा बेन-हिन्नोमको बेँसी भन्नेछैनन्, तर हत्याको बेँसी भन्नेछन्।
7“ ‘यस ठाउँमा म यहूदा र यरूशलेमका युक्तिहरू विफल पारिदिनेछु। म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूको तरवारको सामु राखिदिनेछु; अनि म तिनीहरूका मृत शरीरलाई आकाशका चराहरू र जमिनका पशुहरूको आहाराको निम्ति दिनेछु।
8म यस सहरलाई ध्वस्त पार्नेछु र खिसीको पात्र बनाइदिनेछु; त्यसका सबै चोटहरूको कारण त्यसबाट भएर जाने सबै तर्सनेछन् र त्यसलाई गिल्ला गर्नेछन्।
9म तिनीहरूलाई आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु; अनि तिनीहरूले एक-अर्काको मासु समेत खानेछन्; किनभने तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नाश गर्नलाई घेरा हालेर धेरै कष्ट दिनेछन्।’
10“त्यसपछि तँसित जाने मानिसहरूका सामु त्यो भाँडो फुटाइदिनू;
11अनि तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: जसरी कुमालेले यस भाँडोलाई फुटाएपछि यो फेरि जोडिन सक्दैन, त्यसरी नै म यस जाति र यरूशलेम सहरलाई फेरि नजोडिने गरी टुक्रा-टुक्रा पारिदिनेछु। तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहने गरी लासलाई गाड्नेछन्।
12म यरूशलेम र यहाँ बस्ने मानिसहरूलाई यस्तै गर्नेछु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई म तोपेतजस्तै बनाउनेछु।
13यरूशलेमका घरहरू र यहूदाका राजाहरूका घरहरू तोपेतझैँ अशुद्ध पारिनेछन्, अर्थात् ती सबै घरहरू, जसमा तिनीहरूले आकाशका सारा तारामण्डलका निम्ति छानामा धूप बाले, र अरू आकाशको देवताहरूका निम्ति अर्घबलिहरू चढाए।’ ”
14त्यसपछि यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई याहवेहले अगमवाणी भन्न पठाउनुभएको थियो; अनि याहवेहको मन्दिरको चोकमा उभिए र सबै मानिसहरूलाई भने,
15“सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यो सहर र यसका चारैतिरका गाउँहरूमा मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको हरेक विपत्ति ल्याउन लागेको छु; किनकि तिनीहरू ढीट भएका छन् र मेरो वचन पालन गरेका छैनन्।’ ”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath