ईसाई धर्म
पछाडि

यर्मिया 17

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“यहूदाका पापहरू फलामका हतियारले खोपिएका छन्; चकमके ढुङ्गाको टुप्पोले तिनीहरूका हृदयका पाटीमा र तिनीहरूका वेदीहरूका सिङहरूमा खोपिएका छन्।

2तिनीहरूका छोराछोरीहरूले पनि झाँगिएका रूखहरू र अग्ला डाँडाहरूका छेउमा भएका अशेराका खम्बाहरू र वेदीहरूको सम्झना गर्छन्।

3देशभरि नै तिमीहरूले गरेका आफ्ना पापको कारण म यस देशमा भएको मेरो पर्वत, तिमीहरूका धनसम्पत्ति र तिमीहरूका सबै भण्डारहरू साथै तिमीहरूका अग्ला ठाउँहरूसमेत सबै लुटको मालझैँ म लान दिनेछु।

4तिमीहरूका आफ्नै गल्तीको कारण मैले तिमीहरूलाई दिएको अधिकार गुमाउनेछौ। तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु; किनकि तिमीहरूले मेरो रिसलाई दन्काएका छौ; अनि यो सधैँभरि जलिरहनेछ।”

5याहवेह यसो भन्‍नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ, जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ; अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ।

6त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ; समृद्धि हुँदा तिनीहरूले त्यो देख्नेछैनन्। तिनीहरू मरुभूमिका सुक्खा ठाउँहरूमा, कोही पनि नबस्‍ने नुनिलो भूमिमा बसोबास गर्नेछन्।

7“धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ, जसको भरोसा उहाँमाथि हुन्छ।

8तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्, जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्। गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन; त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन, र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।”

9मानिसको हृदय सबैभन्दा छली हुन्छ, र यो निको हुन नसक्ने किसिमको छ। हृदयलाई कसले बुझ्न सक्छ र?

10“म याहवेहले हृदयको खोजी गर्छु, र मनको जाँच गर्छु, मानिसहरूलाई तिनीहरूका जीवनका चालअनुसार र तिनीहरूका कामअनुसार प्रतिफल दिनेछु।”

11बेइमानीसाथ धन कमाउने मानिस आफूले नपारेको अण्डामा ओथ्रा बसेर चल्‍ला काढ्ने तित्रा चराजस्तै हुन्छ। जब तिनीहरूको आधा उमेर बितेर जान्छ, तब तिनीहरूको धनसम्पत्तिले तिनीहरूको साथ छोड्नेछ; अनि अन्त्यमा तिनीहरू मूर्ख ठहरिनेछन्।

12सुरुदेखिकै उच्‍च पारिएको तपाईंको महिमित सिंहासन, हाम्रो पवित्रस्थानको ठाउँ हो।

13हे याहवेह, इस्राएलका आशा तपाईं नै हुनुहुन्छ; तपाईंलाई त्याग्नेहरू सबै लाजमा पर्नेछन्। तपाईंबाट तर्किएर जानेहरूको नाम धुलोमा लेखिनेछन्; किनकि तिनीहरूले याहवेह, जीवित पानीका मूललाई त्यागेका छन्।

14मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु; मलाई बचाउनुहोस्, र म बाँच्नेछु; किनकि तपाईं मात्र हुनुहुन्छ, जसको म प्रशंसा गर्दछु।

15हेर्नुहोस्, मानिसहरूले मलाई भनिरहन्छन्, “याहवेहको वचन कहाँ छ? तपाईंको वचन अहिले नै पूरा भइजाओस्!”

16म तपाईंको सेवामा गोठालो हुनदेखि भागेर गएको छैन; तपाईंलाई थाहा छ, मैले निराशको दिन चाहेको छैन। मेरा ओठबाट निस्केका सबै कुरा तपाईंकै सामु छन्।

17तपाईं मेरो त्रासको कारण नबन्‍नुहोस्; मेरो विपत्तिको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।

18मलाई सताउनेहरू शर्ममा परून्, तर मलाईचाहिँ शर्ममा पर्नबाट जोगाउनुहोस्; तिनीहरू त्रसित होऊन्, तर मलाई त्रासबाट जोगाउनुहोस्। तिनीहरूमाथि विपत्तिको दिन ल्याइदिनुहोस्; तिनीहरूलाई दोबर विपत्तिले सर्वनाश गर्नुहोस्।

19याहवेहले मलाई यसो भन्‍नुभयो: “जा, र यहूदाका राजाहरू भित्र र बाहिर गर्ने सेनाहरूको मूलढोकामा उभी; यरूशलेमका अरू सबै मूलढोकाहरूमा पनि उभी।

20तिनीहरूलाई भन्, ‘हे यहूदाका राजाहरू र यहूदाका सबै मानिसहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै बासिन्दाहरू हो, याहवेहको वचन सुन।

21याहवेह यसो भन्‍नुहुन्छ: शब्बाथ दिनमा कुनै भारी नबोक अथवा भारी बोकेर यरूशलेमका मूलढोकाहरू भित्र नल्याओ, यो कुरा होसियारीसाथ पालन गर।

22शब्बाथ दिनमा कुनै भारी तिमीहरूका घरबाट बाहिर ननिकाल अथवा शब्बाथ दिनमा कुनै काम नगर; अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेझैँ शब्बाथ दिनलाई पवित्र राख।

23तर तिनीहरूले यो कुरा सुनेनन् अथवा ध्यानै दिएनन्; तिनीहरू हठी थिए र तिनीहरूले न सुन्‍न चाहे न त अनुशासनमा नै ध्यान दिए।

24याहवेह भन्‍नुहुन्छ, तर यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने, र शब्बाथ दिनमा यस सहरका मूलढोकाहरूबाट कुनै भारी ल्याएनौ र कुनै काम नगरी शब्बाथ दिनलाई पवित्र मान्यौ भने,

25तब दावीदका सिंहासनमा बस्‍ने राजाहरू, यस सहरका मूलढोकाहरूबाट तिनीहरूका अधिकारीहरूसँग आउनेछन्। राजाहरू र तिनीहरूका अधिकारीहरू घोडाहरू र रथहरूमा सवार भएर यहूदा र यरूशलेमका मानिसहरूसहित आउनेछन्; अनि तिनीहरू यो यरूशलेम सहरमा सधैँका निम्ति बसोबास गर्नेछन्।

26मानिसहरू यहूदाका सहरहरूबाट र यरूशलेमका वरिपरिका गाउँहरूबाट, बेन्यामीनका प्रान्तहरू र पश्‍चिमी तराई बेँसीहरूबाट, पहाडी मुलुक र दक्षिणबाट होमबलि र बलिदानहरू, अन्‍नबलिहरू, धूप र धन्यवादका भेटीहरू लिएर याहवेहको भवनमा आउनेछन्।

27तर यदि तिमीहरू शब्बाथ दिनमा यरूशलेमका मूलढोकाहरूभित्र आउँदा, भारी बोक्यौ र शब्बाथ दिनलाई पवित्र राख्ने मेरो आज्ञापालन गरेनौ भने म यरूशलेमका मूलढोकाहरूमा निभाउन नसकिने आगो सल्काइदिनेछु, त्यस आगोले त्यसका किल्‍लाहरू भस्म पारिदिनेछ।’ ”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath