ईसाई धर्म
पछाडि

यर्मिया 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तब याहवेहले मलाई भन्‍नुभयो: “यदि मोशा र शमूएल नै मेरो सामु खडा भएर बिन्ती गरे तापनि यस जातिप्रति मेरो हृदय फर्कनेछैनँ। यी मानिसहरूलाई मेरो दृष्‍टिबाट टाढा पठाई दे! तिनीहरू जाऊन्!

2अनि यदि तिनीहरूले तँलाई यसो भनेर सोधे भने, ‘हामी कता जाऔँ?’ तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: “ ‘मृत्युका निम्ति ठहराइएकाहरू मृत्युमा जाऊन्; तरवारका निम्ति ठहराइएकाहरू तरवारमा जाऊन्; अनिकालका निम्ति ठहराइएकाहरू, अनिकालमा जाऊन्; कैदका निम्ति ठहराइएकाहरू, कैदमा नै जाऊन्।’ ”

3याहवेह घोषणा गर्नुहुन्छ, “म तिनीहरूका विरुद्धमा चार किसिमका विनाशहरू पठाउनेछु: तिनीहरूलाई मार्नलाई तरवार, घिसार्दै लैजानलाई कुकुरहरू; अनि निल्न र नाश गर्नलाई आकाशका चराहरू र जमिनका पशुहरू।

4यहूदाका राजा हिजकियाका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म यहूदाका मानिसहरूलाई देख्ने पृथ्वीभरिका सबै राज्यहरू भयभीत हुने तुल्याइदिनेछु।

5“हे यरूशलेम, तँलाई कसले दया देखाउला? तेरा निम्ति कसले विलाप गर्ला? तँ कस्तो छस् भनी सोध्न को रोकिएला?”

6याहवेह घोषणा गर्नुहुन्छ, “यरूशलेम, तैँले मलाई त्यागेको छस्। तैँले मतिर आफ्नो पिठिउँ फर्काएको छस्। यसकारण म तेरो विरुद्धमा आफ्नो हात उठाउनेछु र तँलाई विनाश गर्नेछु; अब म तँप्रतिको रिस थाम्न सक्दिनँ।

7देशका मूलढोकाहरूमा म तिनीहरूलाई नाङ्लोले निफनेझैँ निफन्‍नेछु। म मेरा मानिसहरूमाथि तिनीहरूका सन्तानको शोक र सर्वनाश ल्याउनेछु; किनकि तिनीहरूले आफ्ना मार्गहरू बदली गरेका छैनन्।

8म तिनीहरूका विधवाहरूको संख्या समुद्रको बालुवाभन्दा धेरै बढाउनेछु। मध्यदिनको समयमा म तिनीहरूका जवान ठिटाहरूका आमाहरूको विरुद्धमा एक जना विनाशकर्तालाई ल्याउनेछु; म तिनीहरूमाथि एक्‍कासि सङ्कष्‍ट र त्रास ल्याउनेछु।

9सात जनाकी आमा बेहोश हुनेछे, र त्यसले आफ्नो अन्तिम सास फेर्नेछे। दिन छँदै त्यसको सूर्य अस्ताउँछ; त्यो अपमानित हुनेछे र शर्ममा पर्नेछे। बाँचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूको सामु तरवारले मार्न दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

10यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ। मेरी आमाले मजस्तो मानिसलाई जन्माउनुभयो! एउटा यस्तो मानिस, जससँग सारा देशले झगडा र विवाद गर्छ! मैले तिनीहरूलाई न ऋण दिएको छु, न त ऋण नै लिएको छु, तर पनि सबै मानिसहरूले मलाई सराप्छन्।

11याहवेहले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई असल उद्देश्यले छुटाउनेछु; निश्‍चय नै म तेरा शत्रुहरूलाई दुःख र सङ्कष्‍टको समयमा, तँसित बिन्ती गर्न लगाउनेछु।

12“के कुनै मानिसले फलाम भाँच्न सक्छ, उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ?

13“तिमीहरूले आफ्नो देशभरि गरेका पापहरूको कारणले तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू, लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु।

14तिमीहरूले नचिनेका देशमा तिमीहरूलाई आफ्नै शत्रुका दास तुल्याउनेछु; किनकि मेरो क्रोध आगोजस्तै दन्कनेछ, जुन तेरो विरुद्धमा दन्कनेछ।”

15तब यर्मियाले भने, हे याहवेह, तपाईंलाई सबै कुरा थाहा छ; मलाई सम्झनुहोस् र मेरो निम्ति काम गर्नुहोस्। मलाई सताउनेहरूलाई बदला लिनुहोस्। तपाईं धैर्यवान् हुनुहुन्छ। मलाई टाढा नलैजानुहोस्; मैले तपाईंका निम्ति कति अपमान सहेको छु, सो विचार गर्नुहोस्।

16जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ; ती वचनहरू मेरा निम्ति आनन्द र हृदयको निम्ति हर्षको स्रोत थिए; किनकि हे याहवेह सेनाहरूका परमेश्‍वर, मैले तपाईंको नाम बोकेको छु।

17म मोजमज्जा गर्नेहरूको समूहमा कहिल्यै बसिनँ; तिनीहरूसँग कहिल्यै रमाइलो गरिनँ; म एकलै बसेँ, किनकि तपाईंको हात ममाथि थियो र तपाईंले मलाई रिसले भरिदिनुभएको थियो।

18मेरो पीडाको अन्त्य किन हुँदैन, र मेरो घाउ किन पीडादायक र निको नहुने भएको छ? के तपाईं मेरा निम्ति सुकेर जाने खोल्साजस्तै हुनुहुन्छ, भर पर्न नसकिने मुहानजस्तै?

19यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “यदि तैँले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सेवक बन्‍नेछस्; यदि तैँले व्यर्थको कुरा नगरेर मूल्यवान् कुराहरू मात्र बोलिस् भने, तँ मेरो अगमवक्ता हुनेछस्। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नफर्कनू।

20म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल, काँसाको एउटा किल्‍ला बनाउनेछु; तिनीहरू तेरो विरुद्धमा लडाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्; किनकि तँलाई विजय दिन र बचाउन म तेरो साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ।

21“म तँलाई दुष्‍टहरूका हातबाट बचाउनेछु; अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।”

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath