न्यायकर्ता 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका दाजुभाइहरूकहाँ शेकेममा गए। अनि तिनीहरू र आफ्नी आमाका सबै वंशहरूलाई भने,
2“शेकेमका सबै नागरिकहरूलाई सोध्नुहोस्, ‘तपाईंहरूका निम्ति तपाईंहरूमाथि यरूब-बालका सत्तरी जना छोराहरूले शासन गर्नु असल हो कि एकै जनाले शासन गर्नु असल?’ म तपाईंहरूकै मासु र रगत हुँ भनी याद गर्नुहोस्।”
3जब तिनका दाजुभाइहरूले शेकेमका नागरिकहरूलाई यो सबै दोहोर्याइदिए, तब तिनीहरूले अबीमेलेकलाई पछ्याउने इच्छा गरे; किनकि तिनीहरूले भने, “तिनी हाम्रै नातेदार हुन्।”
4तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे।
5उनी आफ्नो पिताको घर ओप्रामा गएर एउटा ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू, अर्थात् यरूब-बालका छोराहरूलाई हत्या गरे। तर यरूब-बालका कान्छा छोरा योतामचाहिँ लुकेर उम्के।
6तब शेकेम र बेथ-मिल्लोका सबै नागरिकहरू शेकेमको खाँबोमा भएको ठूलो रूखको छेउमा अबीमेलेकलाई राजा अभिषेक गर्न भेला भए।
7जब योतामलाई यसबारे बताइयो, तब तिनी गीरीज्जीम डाँडाको टाकुरामा चढेर तिनीहरूलाई यसो भनी कराए, “हे शेकेमका नागरिकहरू हो, मेरो कुरा सुन, र परमेश्वरले तिमीहरूका कुरा सुनून्।
8एक दिन रूखहरू आफ्ना निम्ति एउटा राजा अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईं हाम्रा राजा हुनुहोस्!’
9“तर जैतुनको रूखले जवाफ दियो, ‘के मैले देवी-देवताहरू र मानिसहरूलाई सम्मान दिने आफ्नो तेललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
10“त्यसपछि ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
11“तर नेभाराको रूखले जवाफ दियो, ‘के मैले आफ्नो यति असल र मिठो फललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’
12“तब ती रूखहरूले अङ्गुरको बोटलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
13“तर अङ्गुरको बोटले जवाफ दियो, ‘के देवी-देवताहरू र मानिसहरूलाई खुशी तुल्याउने मेरो दाखमद्यलाई त्यागेर रूखमाथि शासन गर्न जाऊँ?’
14“आखिरमा ती रूखहरूले काँडे पोथ्रालाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’
15“त्यस काँडे पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरूले साँच्चै मलाई आफूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने आएर मेरो छत्रछायामा शरण लेओ; तर यदि त्यसो गरेनौ भने काँडे पोथ्राबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई भस्म पारोस्!’
16“अब यदि तिमीहरूले अबीमेलेकलाई राजा तुल्याउँदा सम्मानपूर्वक र ठिक काम गरेका छौ, र यदि तिमीहरू यरूब-बालको परिवारप्रति न्यायी भइरहेका छौ भने, र तिमीहरूले तिनलाई सुहाउँदो व्यवहार गरेका छौ भने,
17यो विचार गर, कि मेरा पिताले तिमीहरूका निम्ति युद्ध लडेका थिए। मिद्यानको हातबाट तिमीहरूलाई छुटाउन भनी आफ्नै जीवनलाई पनि जोखिममा पारे।
18तर आज तिमीहरू मेरो पिताको परिवारको विरुद्धमा बागी भएका छौ। तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर हत्या गरेका छौ। अनि तिनकी कमारीको छोरा अबीमेलेकलाई शेकेमका नागरिकहरूमाथि राजा तुल्याएका छौ; किनकि त्यो तिमीहरूकै आफन्त हो।
19यदि तिमीहरूले आज यरूब-बाल र तिनको परिवारप्रति सम्मानपूर्वक र ठिक काम गरेका छौ भने अबीमेलेक तिमीहरूको आनन्द होस्, र तिमीहरूचाहिँ त्यसका अधीनमा रहो!
20तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!”
21त्यसपछि योताम उम्केर बेअर भन्ने ठाउँमा भागे, र त्यहीँ बसे; किनकि तिनी आफ्ना दाजु अबीमेलेकसित डराएका थिए।
22अबीमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे।
23तब परमेश्वरले अबीमेलेक र शेकेमका नागरिकहरूका बीचमा एउटा दुष्टात्मा पठाउनुभयो, र तिनीहरूले अबीमेलेकलाई विश्वासघात गरे।
24योचाहिँ यरूब-बालका सत्तरी जना छोराहरूको विरुद्धको अपराध, अर्थात् तिनीहरूको रगत बगाइएको बदला तिनीहरूका दाजु अबीमेलेक र त्यसलाई तिनीहरूका दाजुभाइहरूको हत्या गर्न सघाउने शेकेमका नागरिकहरूमाथि लिइयोस् भनेर नै परमेश्वरले गर्नुभएको थियो।
25तिनको विरुद्धमा शेकेमका ती नागरिकहरूले त्यहाँबाट भएर जाने प्रत्येकलाई ढुकेर लुट्न भनी पहाडमाथि मानिसहरूलाई खटाए, र यो कुरा अबीमेलेकलाई सुनाइयो।
26अब एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूसित शेकेममा गए; अनि ती नागरिकहरूले तिनीमाथि आफ्नो भरोसा राखे।
27तिनीहरू खेतमा गएर अङ्गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे।
28तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? अनि शेकेम को हो र हामी त्यसको अधीनमा बस्ने? के त्यो यरूब-बालको छोरा होइन? जबूल त्यसको नाइके होइन र? शेकेमको बुबा हामोरका मानिसहरूको सेवा गर! हामीले किन अबीमेलेकको सेवा गर्ने?
29यदि यी मानिसहरू पनि मेरो अधीनमा मात्र भएका भए! तब म त्यसलाई पन्साउनेथिएँ। म अबीमेलेकलाई, ‘तेरा सम्पूर्ण फौजलाई बोला!’ भनेर आह्वान गर्नेथिएँ!”
30जब त्यस सहरका राज्यपाल जबूलले एबेदको छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए।
31तिनले यसो भनेर अबीमेलेककहाँ गुप्त रूपमा दूतहरू पठाए, “एबेदको छोरा गाल र त्यसका दाजुभाइहरू शेकेममा आएर सहरलाई तपाईंको विरुद्धमा सुर्याउँदैछन्।
32यसकारण अब राति नै तपाईं र तपाईंका मानिसहरू आएर खेतमा ढुकिबस्नुहोस्।
33बिहान घाम झुल्केको समयमा सहरको विरुद्धमा अगि बढ्नुहोस्। जब गाल र त्यसका मानिसहरू तपाईंको विरुद्धमा बाहिर निस्किआउलान्, तब तपाईंका हातले जे भेट्टाउँछ, त्यसै गर्नुहोस्!”
34यसकारण अबीमेलेक र तिनका सैन्यदल राति नै निस्केर चार दल भई शेकेममा आक्रमण गर्न ढुकिबसे।
35अनि एबेदको छोरा गालचाहिँ बाहिर निस्के, जब तिनी सहरको मूलढोकाको प्रवेशद्वारमा उभिरहेका थिए, तब त्यत्ति नै खेर अबीमेलेक र तिनका सिपाहीहरू लुकेका ठाउँबाट निस्के।
36गालले तिनीहरूलाई देखेपछि तिनले जबूललाई भने, “हेर्नुहोस्, मानिसहरू डाँडाहरूका टाकुराबाट आउँदैछन्!” जबूलले जवाफ दिए, “तिमीले डाँडाको छायालाई मानिसहरू ठान्दैछौ।”
37तर गालले फेरि भने: “हेर्नुहोस्, मानिसहरू देशको बीच भागबाट उँधो झर्दैछन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।”
38तब जबूलले तिनलाई भने, “तिम्रा ठूला-ठूला कुरा खै? ‘तिमीले अबीमेलेक को हो, र हामी त्यसको अधीनमा बस्ने? भनेर भन्थ्यौ।’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनै होइनन्? अब बाहिर गएर तिनीहरूसित लडाइँ गर!”
39यसकारण गालले शेकेमका नागरिकहरूलाई लगेर अबीमेलेकसित लडाइँ गरे।
40अबीमेलेकले तिनलाई प्रवेशद्वारसम्म खेदे, र धेरै जना भाग्दैगर्दा मारिए।
41अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए।
42भोलिपल्ट शेकेमका मानिसहरू बाहिर खेतमा गए, र यो समाचार अबीमेलेककहाँ पुर्याइयो।
43यसकारण तिनले आफ्ना मानिसहरूलाई लिए। अनि तिनीहरूलाई तीन दलमा भाग गरे, र खेतहरूमा ढुकिबसे। तिनले मानिसहरूलाई सहरदेखि बाहिर आइरहेको देखेपछि तिनी उनीहरूलाई आक्रमण गर्नलाई खडा भए।
44अबीमेलेक र तिनीसित भएका दलहरू दौडेर गए, र सहरको मूलढोकाको प्रवेशद्वारमा मोर्चा बाँधे। तब दुई दलहरू खेतमा हुनेहरूमाथि जाइलागे, र तिनीहरूलाई प्रहार गरे।
45अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए।
46जब शेकेमको किल्लामा बस्नेहरूले यो कुरा सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्लामा गए।
47तिनीहरू त्यहाँ भेला भएका छन् भनी अबीमेलेकलाई सुनाइयो।
48तब अबीमेलेक र तिनका सबै मानिसहरू जल्मोन डाँडामा उक्लेर गए। तिनले एउटा बन्चरो लिए। अनि केही हाँगाहरू काटेर आफ्ना काँधमाथि राखे। तिनले आफूसित भएका मानिसहरूलाई यसो भनी हुकुम दिए, “मैले जे गरेको देखेका छौ, चाँडै गरेर तिमीहरूले पनि त्यस्तै गर्नू!”
49यसकारण सबै मानिसहरूले हाँगाहरू काटे। अनि अबीमेलेकको पछि-पछि लागे। तिनीहरूले ती हाँगाहरू सुरुङ्गको किल्लामाथि थुपारे। अनि ती मानिसहरू बलियो किल्ला भएको त्यस सुरूङ्गमा आगो लगाइदिए। यसकारण शेकेमको किल्लाभित्र रहेका सबै मानिसहरू करिब एक हजार पुरुषहरू र स्त्रीहरू मरे।
50त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसमाथि घेरा हालेर त्यसलाई कब्जा गरे।
51तर सहरभित्र एउटा बलियो किल्ला थियो, जसमा त्यस सहरका सबै मानिसहरू, सबै पुरुष र स्त्रीहरू भागे। तिनीहरूले आफूलाई भित्र बन्द गरे, र त्यस किल्लाको छतमा गएका थिए।
52अबीमेलेक किल्लामा गए, र त्यसमाथि आक्रमण गरे। जब त्यसलाई आगो लगाउन भनी तिनी किल्लाको प्रवेशद्वारमा पुगे,
53तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई।
54तिनले तुरुन्तै आफ्नो हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई मारिदे, नत्रता फेरि तिनीहरूले ‘एउटी स्त्रीले त्यसलाई मारिन्’ भनेर भन्लान्।” यसकारण तिनको चाकरले तिनलाई तरवारले वारपार रोपिदियो र तिनी मरे।
55यसरी इस्राएलीहरू अबीमेलेक मरेको देखेपछि घरतिर लागे।
56यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूको हत्या गरेर आफ्ना पिता विरुद्ध गरेको दुष्टताको बदला परमेश्वरले तिनीसँग लिनुभयो।
57शेकेमका मानिसहरूले गरेका सबै दुष्टता परमेश्वरले तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालको छोरा योतामको श्राप तिनीहरूमाथि पर्यो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath