ईसाई धर्म
पछाडि

न्यायकर्ता 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:

2“जब इस्राएलका राजकुमारहरू अगि सरे, जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— याहवेहको प्रशंसा गर!

3“हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! याहवेहका निम्ति म गाउनेछु; याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति म सङ्गीत बजाउनेछु।

4“हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, बादलले पानी बर्सायो।

5सीनै पर्वतका अद्वितीय याहवेहको सामु, याहवेह इस्राएलका परमेश्‍वरको सामु पहाडहरू पनि डरले काँपे।

6“अनातका छोरा शमगरको समयमा, याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे।

7इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, जबसम्म म दबोरा, खडा भइनँ, तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ।

8जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए।

9मेरो हृदय इस्राएलका राजकुमारहरूसित, मानिसहरूबीच भएका इच्छुक स्वयम्‌सेवकहरूसित छ, याहवेहको प्रशंसा गर!

10“तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ, जो महँगा गलैँचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, कुरालाई राम्ररी विचार गर,

11गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्। त्यहाँ तिनीहरू याहवेहका विजयहरूका वर्णन गर्छन्, इस्राएलमा गाँउलेहरूका विजयहरू। “त्यसपछि याहवेहका जनहरू तल सहरका मूलढोकाहरूमा गए।

12‘उठ, दबोरा, उठ! उठ-उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ! धेरैलाई कैदी बनाऊ।’

13“तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए।

14एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए; बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए। माकीरबाट सेनापतिहरू ओर्लेर आए। जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए।

15इस्साखारका राजकुमारहरू दबोरासित थिए; हो, इस्साखार बाराकसित थिए; बाराकको आज्ञामा बेँसीमा पठाइएको। रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्ने काम धेरै भएको थियो।

16गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई तिमीहरू भेडागोठहरूमा किन बसिरह्‍यौ? रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।

17गिलाद यर्दनपारि नै बसे। अनि दान, त्यो किन जहाजहरूमा बसिरह्‍यो? आशेर समुद्रको किनारमा रह्‍यो र आफ्नै गुफाहरूमा बस्यो।

18जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे; त्यसरी नै नप्‍तालीले पनि रणभूमिको मुखैमा होमिदिए।

19“राजाहरू आए, तिनीहरूले युद्ध गरे; कनानका राजाहरूले मगिद्दोको पानीहरूको छेउमा भएको तानाकमा युद्ध गरे, तर तिनीहरूले लुटमा चाँदी लगेनन्।

20आकाशबाट ताराहरूले युद्ध गरे, तिनीहरूका मार्गबाट तिनीहरूले सीसराको विरुद्धमा युद्ध गरे।

21कीशोन नदीले तिनीहरूलाई बगाएर लग्यो। त्यो प्राचीन नदी, कीशोन नदी। हे मेरो प्राण, अगि बढ्; बलियो हो!

22तब घोडाका टापहरू गर्जिउठे— उनीहरूका शक्तिशाली घोडाहरू चाँडो गरी दगुरे।

23याहवेहका दूतले भने, ‘मेरोजलाई श्राप, त्यसका बासिन्दाहरूमाथि नराम्रोसँग श्राप! किनभने तिनीहरू याहवेहको सहायताको लागि आएनन्; याहवेहलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’

24“याएल स्त्रीहरूमध्ये सबैभन्दा आशिषित होऊन्, केनी हेबेरकी पत्नी, पालमा बस्‍ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।

25सीसराले पानी माग्यो, र तिनले दूध दिइन्; कुलिनहरूलाई सुहाउने बटुकोमा तिनले दही ल्याइदिइन्।

26तिनको हातमा पालको किला पर्‍यो; तिनको दाहिने हातमा काम गर्नेको मुङ्ग्रो पर्‍यो। तिनले सीसरामाथि प्रहार गरिन्, र त्यसको शिर फोरिदिइन्, तिनले त्यसको कन्चटलाई छेडेर छताछुल्‍ल पारिदिइन्।

27तिनका खुट्टामा त्यो घोप्ट्यो, त्यो लोट्यो, र पल्टियो। तिनकै खुट्टामा त्यो घोप्टेर पल्टिरह्‍यो; त्यो पल्टेको ठाउँमा त्यो मर्‍यो, र त्यहीँ पल्टिरह्‍यो।

28“सीसराकी आमाले झ्यालदेखि बाहिर चियाइन्; आँखीझ्यालको पछिल्तिरबाट तिनी चिच्याएर भनिन्, ‘तिनका रथ आउनलाई किन ढिलो भयो? तिनको रथका खटखट आवाज आउन किन ढिलो भयो?’

29तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्; साँच्‍चै उनले आफूसित भन्‍ने गर्छिन्,

30‘के तिनीहरूले लुटका माल बटुलेर भाग लगाउँदैनन् र? प्रत्येक मानिसका निम्ति एउटी वा दुईटी स्त्रीहरू, सीसराका निम्ति लुटेका रङ्गीन कपडाहरू, बुट्टेदार रङ्गीन कपडाहरू; मेरो गलाको निम्ति अति बुट्टेदार कपडाहरू— यो सबै लुटसरह हुँदैनन् र?’

31“हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्! तर तपाईंलाई प्रेम गर्नेहरूचाहिँ आफ्नो पराक्रममा उदय भएको सूर्यझैँ होऊन्।” त्यसपछि देशमा चालीस वर्षसम्म शान्ति भयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath