ईसाई धर्म
पछाडि

न्यायकर्ता 21

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1इस्राएलका मानिसहरूले मिस्पामा यसो भनेर शपथ खाएका थिए, “हामीमध्ये कसैले पनि बेन्यामीनीलाई विवाह गर्न आफ्नी छोरी दिनेछैनौँ।”

2अनि मानिसहरू बेथेलमा गए, र तिनीहरू बेलुकासम्मै आफ्ना सोर उचालेर अनियन्त्रित रूपमा परमेश्‍वरको सामु रुँदै बसिरहे।

3तिनीहरू यसो भनेर कराए, “हे याहवेह, इस्राएलका परमेश्‍वर, इस्राएलमा यो किन हुन दिनुभयो? किन इस्राएलबाट आज एउटा कुल हराएर गयो?”

4भोलिपल्ट बिहानै मानिसहरूले एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए।

5तब इस्राएलीहरूले सोधे, “इस्राएलका सारा कुलहरूबाट कुनचाहिँ कुल याहवेहको सामु भेला भएन?” किनकि तिनीहरूले मिस्पामा याहवेहको सामु भेला नहुने जोसुकै पनि मारिनेछ भनी गम्भीर शपथ खाएका थिए।

6आफ्ना बेन्यामीनी दाजुभाइहरूका लागि इस्राएलीहरूले शोक मनाए। तिनीहरूले भने, “आजको दिन इस्राएलबाट एउटा कुल नै मासिएर गएको छ।

7ती बाँकी रहेकाहरूका निम्ति हामीले कसरी पत्नीहरू प्रबन्ध गरौँ? हामीले तिनीहरूलाई आफ्ना कुनै पनि छोरी विवाहको लागि दिनेछैनौँ भनी याहवेहको सामु शपथ खाएका थियौँ।”

8तब तिनीहरूले सोधे, “इस्राएलको कुनचाहिँ कुल मिस्पामा याहवेहको सामु भेला भएन?” तिनीहरूले याबेश-गिलादबाट कोही पनि सभाको निम्ति छाउनी हाल्न आएको रहेनछ भनी थाहा पाए।

9किनकि तिनीहरूले मानिसहरूको संख्या लिँदा याबेश-गिलादबाट एक जना पनि त्यहाँ उपस्थित भएको भेट्टाएनन्।

10यसकारण त्यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादमा गएर त्यहाँ भएका स्त्री र बालबालिकाहरूलाई समेत तरवारले मार्न भनी हुकुम दिएर पठाए।

11तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्याहरूलाई चाहिँ छोडिदिनू।”

12तिनीहरूले याबेश-गिलादमा बस्‍ने मानिसहरूमा कुनै पनि पुरुषसँग सहवास नगरेका चार सय जना कन्याहरू भेट्टाए। उनीहरूलाई तिनीहरूले कनानमा शीलोको छाउनीमा ल्याए।

13तब सारा समुदायले रिम्मोनको पहरामा भएका बेन्यामीनीहरूकहाँ शान्तिको प्रस्ताव पठाए।

14त्यस बेला बेन्यामीनीहरू फर्केर आए। अनि तिनीहरूलाई याबेश-गिलादमा बचाइएका ती स्त्रीहरू दिइए। तर तिनीहरू सबैका लागि ती स्त्रीहरूको संख्या पर्याप्‍त थिएन।

15मानिसहरूले बेन्यामीनको निम्ति शोक गरे; किनकि याहवेहले इस्राएलका कुलहरू बीचमा एउटा फाटो गरिदिनुभएको थियो।

16तब समुदायका प्रधानहरूले भने, “बेन्यामीनका स्त्रीहरू नष्‍ट भएकाले हामीले बाँकी रहेका मानिसहरूका निम्ति कसरी पत्नीहरू खोजी ल्याइदिनु?”

17तब तिनीहरूले भने, “बाँचेका बेन्यामीनीहरूका उत्तराधिकारीहरू हुनुपर्छ। इस्राएलको एउटा कुल मेटिएर नजाओस्।

18हामी तिनीहरूलाई आफ्ना छोरीहरू पत्नीको रूपमा दिन सक्दैनौँ; किनकि हामी इस्राएलीहरूले ‘बेन्यामीनीलाई पत्नी दिने जोसुकै श्रापित होस्’ भनेर शपथ खाएका छौँ।

19तर हेर्नुहोस्, बेथेलको उत्तरतिर र बेथेलबाट शेकेममा जाने बाटोको पूर्वपट्टि अनि लबोनाको दक्षिणतिर शीलोमा याहवेहको वार्षिक चाड छ।”

20यसकारण तिनीहरूले बेन्यामीनीहरूलाई यसो भनेर आज्ञा दिए, “गएर दाखबारीहरूमा लुकी बस;

21अनि ध्यानपूर्वक हेरिबस, जब शीलोका केटीहरू नाचमा सामेल हुन निस्कन्छन्, तब तिमीहरू दाखबारीहरूबाट झट्टै निस्केर प्रत्येकले शीलोबाट आएका केटीहरूबाट एउटीलाई पत्नी हुन पक्र, र बेन्यामीनको देशमा जाओ।

22तिनीहरूका बुबाहरू अथवा दाजुभाइहरूले हामीसित उजुरी गरे भने हामी तिनीहरूलाई यसो भनिदिनेछौँ, ‘तिनीहरूलाई सहायता दिएर हामीमाथि दया गर्नुहोस्; किनकि लडाइँको समयमा हामीले तिनीहरू प्रत्येकका निम्ति पत्नीहरू पाएनौँ। तपाईंहरूले तिनीहरूलाई आफ्ना छोरीहरू वास्तवमा विवाहको निम्ति नदिनुभएको कारण तपाईंहरूले शपथ तोड्नुभएको हुनेछैन, र निर्दोष हुनुहुन्छ।’ ”

23यसकारण बेन्यामीनीहरूले त्यसै गरे। ती जवान केटीहरू नाचिरहेका बेला उनीहरू हरेकले एउटी-एउटीलाई पक्रे, र उनीहरूलाई आ-आफ्नी पत्नी बनाउन लगे। तब उनीहरूको आफ्ना उत्तराधिकार सम्पत्ति भएको ठाउँमा फर्के, र सहरहरूलाई पुनर्निर्माण गरे, र तिनमा बसोबास गरे।

24त्यस बेला इस्राएलीहरूले त्यो ठाउँ छोडेर घरमा आफ्ना कुलहरू र वंशहरूकहाँ गए। प्रत्येक आफ्नै उत्तराधिकारमा गए।

25ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath