न्यायकर्ता 20
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब दानदेखि बेर्शेबासम्म र गिलाद देशबाट सबै इस्राएलीहरू एकजुट भएर मिस्पामा याहवेहको सामु भेला भए।
2इस्राएलका कुलहरूका सबै मानिसहरूका अगुवाहरूले परमेश्वरका मानिसहरूका सभामा आफ्नो स्थान लिए, जसमा तरवार भिरेका चार लाख योद्धा थिए।
3बेन्यामीनीहरूले इस्राएलीहरू मिस्पामा गएका छन् भन्ने कुरा सुने। तब इस्राएलीहरूले भने, “यस्तो भयानक काण्ड कसरी घट्यो, हामीलाई भन।”
4यसकारण ती मारिएकी स्त्रीका पति लेवीले भने, “म र मेरी उपपत्नी बास बस्न बेन्यामीनको गेबामा पुग्यौँ।
5रातको समयमा गेबाका मानिसहरू मेरो विरोधमा उठे, र मलाई मार्ने विचारले घरलाई घेरे। तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे, तब त्यो मरी।
6तब मैले आफ्नी उपपत्नीको लासलाई लिएँ र टुक्रा-टुक्रा गरी काटेँ। अनि इस्राएलका उत्तराधिकारको प्रत्येक प्रान्तमा एक-एक टुक्रा पठाएँ; किनकि तिनीहरूले इस्राएलमा यस्तो अश्लील र शर्मलाग्दो काम गरे।
7अब तपाईं सारा इस्राएलीहरूले बोल्नुहोस्, र यसको फैसला गरिदिनुहोस्!”
8तब सबै मानिसहरू एकजुट भएर यसो भन्दै उठे, “हामी कोही पनि घर जानेछैनौँ, न त हामीमध्ये कोही पनि आफ्नो घरमा जानेछौँ।
9तर अब हामी गेबालाई यसो गर्नेछौँः हामी चिट्ठाले निर्देशन दिएअनुसार त्यसको विरुद्धमा जानेछौँ।
10हामी इस्राएलका सबै कुलहरूका प्रत्येक सय मानिसबाट दश जना र हजारबाट एक सय र दश हजारबाट एक हजार गरी फौजका निम्ति चाहिने सामान तयार गर्नको निम्ति लिनेछौँ। तब फौज बेन्यामीनको गेबामा आएपछि, यसले उनीहरूलाई तिनीहरूले इस्राएलमा गरेका सबै घृणित कामका निम्ति दण्ड दिन सक्नेछ।”
11यसरी इस्राएलका सबै मानिसहरू त्यस सहरको विरुद्धमा एकजुट भएर भेला भए।
12इस्राएलका कुलहरूले बेन्यामीनको कुलकहाँ यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूको बीचमा भएको यो डरलाग्दो अपराधचाहिँ के हो?
13अब गेबाका ती दुष्ट मानिसहरू हामीलाई सुम्पिदेओ, र हामी तिनीहरूलाई मारेर इस्राएलबाट दुष्टता हटाउनेछौँ।” तर बेन्यामीनीहरूले आफ्ना सङ्गी इस्राएलीहरूका कुरा सुनेनन्।
14बेन्यामीनीहरूका सहरहरूबाट तिनीहरू इस्राएलीहरूसित युद्ध गर्न गेबामा भेला भए।
15त्यस दिन बेन्यामीनीहरूले आफ्ना सहरहरूबाट छब्बीस हजार तरवारधारी मानिस जम्मा गरे। यसबाहेक गेबामा बस्नेहरूबाट सात सय जना चुनिएका मानिसहरू पनि भेला पारे।
16ती सबै योद्धाहरूका बीचबाट छानिएका सात सय मानिस देब्रे-हाते थिए; जसमध्ये प्रत्येकले केशलाई समेत घुँयेत्रोले हान्दा नचुकाई निशाना लगाउँथे।
17बेन्यामीनीहरू बाहेक इस्राएलीहरूले चार लाख तरवारधारी लडाकु मानिस एकत्रित गरेका थिए।
18इस्राएलीहरू बेथेलमा उक्लेर गए, र परमेश्वरलाई यसो भनेर सोधे, “बेन्यामीनीहरूसित युद्ध गर्न हामीमध्ये कसले पहिले आक्रमण गर्ने?” याहवेहले जवाफ दिनुभयो, “यहूदाले पहिले आक्रमण गरोस्।”
19भोलिपल्ट बिहानै इस्राएलीहरू उठे, र गेबाको छेउमा छाउनी हाले।
20इस्राएलका मानिसहरू बेन्यामीनीहरूसित युद्ध गर्न निस्के। अनि तिनीहरूका विरुद्धमा गेबामा युद्धको मोर्चा बाँधे।
21अनि बेन्यामीनीहरू गेबामा निस्किआए, र त्यस दिन इस्राएलीहरूका बाइस हजार मानिसलाई लडाइँको मैदानमा मारे।
22तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए। अनि पहिलो दिनकै ठाउँमा फेरि आफ्नो मोर्चा बाँधे।
23इस्राएलीहरू उक्लेर गए, र याहवेहको सामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले याहवेहलाई यसो भनेर सोधे, “के हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूको विरुद्धमा युद्ध गर्न जाऔँ?” याहवेहले जवाफ दिनुभयो, “तिनीहरूको विरुद्धमा माथि उक्लेर जाओ।”
24तब इस्राएलीहरू दोस्रो दिन बेन्यामीनीहरूसित युद्ध गर्न नजिक गए।
25यस पटक जब बेन्यामीनीहरू तिनीहरूको विरोध गर्न गेबाबाट निस्किआए, तब तिनीहरूले तरवार भिरेका अरू अठार हजार इस्राएलीलाई मारे।
26तब सबै इस्राएली र फौज बेथेलमा उक्लेर गए, र त्यहाँ तिनीहरू याहवेहको सामु बसेर रोइरहे। अनि त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे, तब याहवेहलाई होमबलि र मेलबलि चढाए।
27अनि इस्राएलीहरूले याहवेहलाई फेरि सोधे। (ती दिनहरूमा याहवेहको करारको सन्दुक बेथेलमै थियो।
28हारूनका छोरा, एलाजारको छोरा, पीनहास यसको सेवाको लागि चुनिएका थिए।) तिनीहरूले सोधे, “हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूसित युद्ध गर्न उक्लेर जाऔँ कि नजाऔँ?” याहवेहले जवाफ दिनुभयो, “जाओ, किनकि भोलि म तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”
29तब इस्राएल गेबाको चारैतिर ढुकिबसे।
30तिनीहरू तेस्रो दिन बेन्यामीनीहरूको विरुद्धमा उक्लेर गए। अनि पहिलेझैँ गेबाको विरुद्धमा मोर्चा बाँधे।
31बेन्यामीनीहरू तिनीहरूलाई आक्रमण गर्न निस्के, र सहरदेखि अलि टाढा गए। पहिलेझैँ तिनीहरूले इस्राएलीहरूलाई मार्न थाले। प्राय: तीस जना मानिसहरू खुला मैदान र बेथेलतिर गए; अनि अर्कोचाहिँ गेबातिर जाने बाटाहरूमा मारिए।
32बेन्यामीनीहरूले, “हामीले पहिलेझैँ तिनीहरूलाई जितिरहेका छौँ” भनी सम्झे। तर इस्राएलीहरूले चाहिँ यसो भन्दैथिए, “हामी पछि हटौँ र तिनीहरूलाई सहरदेखि टाढा बाटोहरूमा लैजाऔँ।”
33इस्राएलका सबै मानिसहरू आफ्ना ठाउँबाट उठे, र बाल-तामारमा मोर्चा बाँधे। तब इस्राएलका ढुकिबस्नेहरूले गेबाको पश्चिमको ठाउँबाट आक्रमण गरे।
34तब इस्राएलका सबैभन्दा असल दश हजार मानिसहरूले गेबामाथि आक्रमण गरे। युद्ध भयानक थियो। बेन्यामीनीहरूले विपत्ति यति नजिक थियो भनेर थाहै पाएनन्।
35तब याहवेहले बेन्यामीनीहरूलाई इस्राएलको सामु पराजित गर्नुभयो। त्यस दिन इस्राएलीहरूले पच्चीस हजार एक सय जना तरवारधारी बेन्यामीनीहरूलाई मारे।
36तब बेन्यामीनीहरूले आफूचाहिँ हारेको देखे। अब इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई छोडिदिएका थिए। किनकि तिनीहरूले गेबाको छेउमा ढुकिबस्नेहरूमाथि भर परेका थिए।
37ती ढुकिबस्ने मानिसहरूले अचानक गेबामाथि आक्रमण गरे। अनि तिनीहरू फिँजिएर सारा सहरलाई तरवारले मारे।
38इस्राएलका मानिसहरूले ती ढुकुवाहरूसित तिनीहरूले सहरबाट धुवाँको ठूलो बादल पठाउने भनेर मतो गरेका थिए।
39त्यसपछि इस्राएलका मानिसहरू युद्धमा उत्रने भएका थिए। बेन्यामीनीहरूले इस्राएलका मानिसहरू (प्राय: तीस जना) लाई मारेका थिए, र तिनीहरूले भने, “हामीले तिनीहरूलाई पहिलो युद्धमा झैँ जितिरहेका छौँ।”
40तर जब सहरबाट धुवाँको मुस्लो उठ्न थाल्यो, तब ती बेन्यामीनीहरूले फर्केर हेरे। अनि सारा सहरको धुवाँ आकाशतिर उठिरहेको देखे।
41तब इस्राएलका मानिसहरू तिनीहरूमाथि जाइलागे। अनि आफूमाथि विपत्ति आइपरेको थाहा पाएर बेन्यामीनका मानिसहरू आतङ्कित भए।
42यसकारण तिनीहरू इस्राएलीहरूको सामुबाट उजाडस्थानतिर भागे। तर तिनीहरू युद्धबाट उम्कन भने सकेनन्। अनि सहरहरूबाट आएका इस्राएलका मानिसहरूले तिनीहरूलाई त्यहीँ मारे।
43तिनीहरूले बेन्यामीनीहरूलाई पूरै घेरे। अनि तिनीहरूलाई सजिलैसित खेदेर पूर्वपट्टि गेबाको छेउछाउमा उछिने।
44अठार हजार वीर बेन्यामीनीहरू मारिए।
45तिनीहरू फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरातिर भाग्दा इस्राएलीहरूले बाटोमा पाँच हजार मानिसहरूलाई मारे। तिनीहरू बेन्यामीनीहरूको पछि-पछि गिदोमसम्मै लागिरहे। अनि अरू दुई हजार मानिसलाई मारे।
46त्यस दिन बेन्यामीनका पच्चीस हजार वीर तरवारधारी योद्धाहरू युद्धमा मारिए।
47तर छ सय मानिसहरूचाहिँ फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरामा भागे। अनि तिनीहरू त्यहाँ चार महिनासम्म बसे।
48इस्राएलका मानिसहरू बेन्यामीनका सहरहरूमा फर्केर गए। अनि भेट्टाएका जति सबै पशुहरू र तिनीहरूले सम्पूर्ण सहरहरूलाई तरवारले नष्ट पारे। तिनीहरूले भेट्टाएका हरेक सहरलाई पनि आगो लगाइदिए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath