ईसाई धर्म
पछाडि

न्यायकर्ता 15

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1केही समयपछि गहुँ कटनीको समयमा शिमशोनले एउटा कलिलो पाठो लिएर आफ्नी पत्नीलाई भेट्न गए। उनले भने, “म आफ्नी पत्नीको कोठामा जाँदैछु।” तर तिनका बुबाले उनलाई जान दिएनन्।

2उनले भने, “तिमीले तिनलाई घृणा गर्छौ भन्‍ने मलाई पक्‍का थाहा भएकोले मैले त तिनलाई तिम्रो साथीलाई दिएँ। के तिनकी बहिनी तिनीभन्दा राम्री छैन र? बरु तिनलाई लैजाऊ।”

3शिमशोनले तिनीहरूलाई भने, “यस पटक पलिश्तीहरूमाथि बदला लिने अधिकार मलाई छ। म साँच्‍चै तिनीहरूको हानि गर्नेछु।”

4यसकारण शिमशोन बाहिर निस्के। अनि तीन सय स्यालहरू पक्रेर जोडी-जोडी गरी तिनीहरूका पुच्छर बाँधे, र गाँठोमा राँको बाँधिदिए।

5तब राँकाहरू सल्काएर ती स्यालहरूलाई पलिश्तीहरूका अन्‍नको खेतमा छोडिदिए। उनले खेतमा रहेको अन्‍न र बाँधेर राखेको बिटा, र दाखबारी र जैतुनका बगैँचा जलाइदिए।

6जब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तब तिनीहरूलाई यसो भनियो, “किनकि उनकी पत्नी उनका साथीलाई दिएकोले तिम्नाका जुवाइँ शिमशोनले यो सबै गरेका हुन्।” यसकारण पलिश्तीहरू गए; अनि ती स्त्री र तिनका बुबालाई जलाइदिए।

7शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले यो काम गरेको हुनाले म तिमीहरूमाथि बदला नलिई रोकिनेछैनँ।”

8उनले तिनीहरूमाथि निर्दयतापूर्वक आक्रमण गरे; र धेरैलाई मारे। तब तिनी तल झरेर एतामको पहरामा भएको गुफामा बसे।

9पलिश्तीहरू उक्लेर गए, र यहूदामा छाउनी हालेर लहीसम्म छरिएर बसे।

10यहूदाका मानिसहरूले सोधे, “तपाईंहरू किन हामीसित लडाइँ गर्न आउनुभयो?” तिनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई कैदी बनाउन र उनले हामीलाई जे गरेका छन्, त्यो उनलाई गर्न आएका हौँ।”

11तब यहूदाबाट तीन हजार मानिसहरू एतामको पहरामा भएको गुफामा झरेर गए, र शिमशोनलाई भने, “पलिश्तीहरू हामीमाथि शासन गर्नेहरू हुन् भनेर के तिमी जान्दैनौ? तिमीले हामीमाथि यो के गर्‍यौ?” उनले जवाफ दिए, “मैले तिनीहरूले ममाथि जे गरे, त्यो मात्र तिनीहरूलाई गरेँ।”

12तिनीहरूले उनलाई भने, “हामी यहाँ तिमीलाई बाँधेर पलिश्तीहरूको हातमा दिनलाई आएका छौँ।” शिमशोनले भने, “तिमीहरूले चाहिँ मलाई मार्नेछैनौँ भनी शपथ खाओ।”

13तिनीहरूले भने, “हामी राजी छौँ। हामी तिमीलाई बाँधेर मात्र तिनीहरूका हातमा सुम्पिदिनेछौँ। हामी तिमीलाई मार्नेछैनौँ।” यसकारण तिनीहरूले उनलाई दुई वटा नयाँ डोरीहरूले बाँधे, र त्यस पहराबाट माथि लिएर गए।

14उनी लहीमा पुग्दा पलिश्तीहरू तिनीकहाँ चिच्याउँदै आए। तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। उनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैँ भए। अनि ती बन्धनहरू उनका हातहरूबाट फुस्के।

15उनले एउटा गधाको आलो बङ्गारा भेट्टाए। अनि उठाए, र त्यसैले एक हजार मानिसलाई मारे।

16तब शिमशोनले भने, “एउटा गधाको बङ्गाराले मैले तिनीहरूलाई गधाहरूझैँ बनाएँ। एउटा गधाको बङ्गाराले मैले एक हजार मानिस मारेँ।”

17यति भनिसकेर उनले त्यो बङ्गारा फ्याँकिदिए। यसैले त्यस ठाउँलाई रामत-लही भनियो।

18उनी खूबै तिर्खाएका हुनाले तिनले याहवेहको पुकार गरे, “तपाईंले आफ्नो सेवकलाई महान् विजय दिनुभएको छ। के अब म तिर्खाले मरूँ? ती खतना नभएकाहरूका हातमा परूँ?”

19तब परमेश्‍वरले लहीमा एउटा खाल्डो बनाउनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले पानी पिएपछि उनको बल फर्कियो, र उनी ताजा भए। यसकारण त्यो मूल फुटेको ठाउँलाई एन-हक्‍कोरे भनियो, र त्यो अझसम्म लहीमा छँदैछ।

20शिमशोनले इस्राएललाई पलिश्तीहरूका समयमा बीस वर्षसम्म अगुवाइ गरे।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath