ईसाई धर्म
पछाडि

न्यायकर्ता 13

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1फेरि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। यसकारण याहवेहले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूको हातमा सुम्पिदिनुभयो।

2सोरामा बस्‍ने दान वंशका मानोह नाम भएका मानिसकी एउटी बाँझी पत्नी थिइन्, जसले कुनै सन्तान जन्माइनन्।

3याहवेहका दूत तिनीकहाँ देखा परेर भने, “तिमी बाँझी र निःसन्तान छौ, तर तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ।

4अब तिमी होशियार होऊ, र कुनै दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू, र तिमीले अशुद्ध कुरा नखानू;

5किनकि तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलगाइयोस्। किनकि त्यो बालक गर्भधारणको समयदेखि नै परमेश्‍वरका निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले इस्राएललाई पलिश्तीहरूको हातबाट छुटाउन अगुवाइ गर्नेछ।”

6तब ती स्त्री आफ्नो पतिकहाँ गइन्, र तिनलाई यसो भनिन्, “परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनी परमेश्‍वरका दूतझैँ अति भययोग्य देखिन्थे। मैले तिनलाई तिनी कहाँबाट आएका हुन् भनी सोधिनँ। अनि तिनले पनि मलाई आफ्नो नाम बताएनन्।

7तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब तिमीले दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू र कुनै अशुद्ध कुरो नखानू; किनकि त्यो केटो गर्भधारणदेखि उसको मृत्युसम्म नै परमेश्‍वरका निम्ति एक नाजिरी हुनेछ।’ ”

8तब मानोहले याहवेहकहाँ प्रार्थना गरे, “हे प्रभु, जन्मन लागेको बालकलाई कसरी हुर्काउने भनी हामीलाई सिकाउनका निम्ति हामीकहाँ पठाइएका परमेश्‍वरका जन फेरि आऊन् भनी म तपाईंसित बिन्ती गर्छु।”

9याहवेहले मानोहको प्रार्थना सुन्‍नुभयो, र ती स्त्री खेतमा हुँदा परमेश्‍वरका दूत फेरि आए। तर तिनको पति मानोह तिनीसित थिएनन्।

10“त्यस दिन मकहाँ देखा पर्ने मानिस यहाँ छन्!” भन्‍नलाई तिनी दौडेर आफ्नो पतिकहाँ गइन्।

11मानोह उठे, र आफ्नी पत्नीको पछि लागे। तिनी त्यस मानिसकहाँ आइपुगेपछि तिनले भने, “के मेरी पत्नीसित बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” तिनले भने, “हो, म नै हुँ।”

12यसकारण मानोहले तिनलाई सोधे, “तपाईंका वचनहरू कहिले पूरा हुनेछन् र त्यस केटाको जीवन र कामको विषयमा कस्तो नियम छ?”

13याहवेहका दूतले जवाफ दिए, “तिम्री पत्नीले मैले तिनलाई भनेका सबै कुरा गर्नुपर्छ।

14तिनले अङ्‌गुरबाट उत्पादन भएको कुनै पनि कुरा खानुहुँदैन। तिनले कुनै मद्यपान अथवा मत्ताउने पेय नपिऊन्, न त कुनै अशुद्ध कुरा खाऊन्। तिनले मैले आज्ञा दिएको प्रत्येक कुरा पालन गरून्।”

15मानोहले याहवेहका दूतलाई भने, “तपाईंका निम्ति एउटा कलिलो पाठा हामीले तयार नपारेसम्म कृपया यहीँ पर्खनुहोस्।”

16याहवेहका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोके तापनि म तिमीहरूको भोजनबाट केही खानेछैनँ। तर तिमीहरूले होमबलि तयार गर्छौ भने त्योचाहिँ याहवेहलाई चढाओ।” (तिनी याहवेहका दूत हुन् भनी मानोहलाई थाहा थिएन।)

17तब मानोहले याहवेहका दूतलाई सोधे, “तपाईंको नाम के हो? ताकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंलाई सम्मान दिन सकौँ?”

18तिनले जवाफ दिए, “तिमीहरू किन मेरो नाम सोध्छौ? यो अचम्मको छ।”

19तब मानोहले एउटा कलिलो पाठा र अन्‍नबलि लिए; अनि याहवेहका निम्ति एउटा चट्टानमा चढाए। मानोह र तिनकी पत्नीले हेर्दाहेर्दै याहवेहले एउटा अचम्मको काम गर्नुभयो।

20त्यो ज्वाला वेदीबाट आकाशतिर जलेर जाँदै गर्दा याहवेहका दूत त्यस ज्वालामा उक्लेर गए। त्यो देखेर मानोह र तिनकी पत्नी भुइँमा घोप्टो परे।

21त्यसपछि याहवेहका दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, तब तिनी याहवेहको दूत पो रहेछन् भनी मानोहले थाहा पाए।

22तब तिनले आफ्नी पत्नीलाई भने, “अब हामी मर्नेछौँ! हामीले परमेश्‍वरलाई देख्यौँ!”

23तर तिनकी पत्नीले भनिन्, “यदि याहवेहले हामीलाई मार्ने विचार गर्नुभएको भए उहाँले हाम्रा हातबाट होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुनेथिएन, न त यो कुरा हामीलाई देखाउनुहुनेथियो, अथवा बताउनुहुनेथियो।”

24ती स्त्रीले एउटा छोरा जन्माइन्, र त्यसको नाम शिमशोन राखिन्। त्यो बालक बढ्यो, र याहवेहले त्यसलाई आशिष् दिनुभयो।

25अनि त्यो सोरा र एश्तोल बीचको महनेह-दानमा हुँदा याहवेहको आत्माले त्यसलाई प्रेरणा दिन थाल्नुभयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath