ईसाई धर्म
पछाडि

याकोब 5

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्‍ट आइरहेको छ।

2तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्।

3तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ।

4हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ।

5तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्‍टाइराखेका छौ।

6तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ।

7त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्‍लो र पछिल्‍लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ।

8तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।

9हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!

10हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्‍टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ।

11तिमीहरूलाई थाहै छ, कि कष्‍ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।

12हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ “हो” अनि “होइन” चाहिँ “होइन” होस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ।

13के तिमीहरूमध्ये कोही सङ्कष्‍टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्।

14के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई उसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाओस्।

15अनि विश्‍वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।

16यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।

17एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन।

18तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्‍नहरू उब्जायो।

19हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,

20यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath