ईसाई धर्म
पछाडि

यशैया 8

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1याहवेहले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्।

2म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्‍वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।”

3तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्‍नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्।

4यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”

5याहवेहले मलाई फेरि भन्‍नुभयो:

6“यस जातिले शीलोको शान्तसित बग्ने पानीलाई इन्कार गर्छ; अनि रसीन र रमल्याहको छोरामा रमाउँछ।

7यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा यूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल, अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ। त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ; यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ;

8अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ, र त्यो त्यसको घाँटीसम्म नै पुग्नेछ। त्यसका फिँजाइएका पखेटाहरूले तेरो देशको चौडाइलाई वारपार ढाकिदिनेछ; हे इम्मानुएल!”

9हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ! अनि हे टाढाका देशहरू हो, सुन। युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ! युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!

10आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्; आफ्नो योजना प्रस्ताव गर, तर त्यो खडा रहनेछैन; किनकि परमेश्‍वर हामीसित हुनुहुन्छ।

11याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्‍नुभयो:

12“जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ, त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्‍नू; तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू; र त्यससित भयभीत नहुनू।

13तिमीहरूले पवित्र मान्‍नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।

14उहाँ पवित्रस्थान बन्‍नुहुनेछ; तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ यस्तो ढुङ्गो बन्‍नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्‍नुहुनेछ। यरूशलेमका मानिसहरूका निम्ति उहाँ धराप र पासो हुनुहुनेछ।

15तिनीहरूमध्ये धेरैले ठेस खानेछन्; तिनीहरू लडेर चकनाचुर हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्।”

16यस साक्षीलाई बाँधेर राख्; अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे।

17म याहवेहलाई पर्खनेछु, जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ। उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।

18याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।

19मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने?

20परमेश्‍वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन।

21तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्‍वरलाई सराप्नेछन्।

22त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath