यशैया 45
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्नुहुन्छ, मैले त्यसको दाहिने हात थामेको छु, त्यसको सामु जातिहरूलाई पराजित गर्न; अनि राजाहरूको हतियार खोस्न, मूलढोकाहरू बन्द नहोस् भनेर त्यसको सामु ढोकाहरू खोलिदिन:
2म तेरो अगि-अगि जानेछु, र पर्वतहरूलाई समतल पारिदिनेछु; म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; अनि फलामका बारहरू म काटिदिनेछु।
3म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्वर हुँ; मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेका धन दिनेछु।
4मेरो सेवक याकोब, र मैले चुनेको इस्राएलको खातिर तैँले मलाई स्वीकार नगरे तापनि मैले तँलाई नाम काढेर बोलाएको छु; र तँलाई सम्मानको उपाधी प्रदान गरेको छु।
5म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्वर छैन; मबाहेक अरू कोही परमेश्वर छैन। तैँले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,
6ताकि सूर्योदयदेखि सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन।
7म ज्योति र अन्धकार सृष्टि गर्दछु; म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्टि गर्छु; यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ।
8“हे आकाश हो, माथिबाट धार्मिकताको वृष्टि खन्या; बादलहरूले त्यो बर्साओस्; पृथ्वी चौडा गरी उघारिओस्, र उद्धार उम्रेर आओस्; त्यससित धार्मिकता बढोस्; म याहवेहले नै यसलाई सृष्टि गरेको हुँ।
9“धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगडा गर्छ! त्यो पनि भुइँमा भएका माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो। के माटोले कुमालेलाई ‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ? के तेरो कामले ‘त्यसको हातै छैन’ भनी भन्छ?
10धिक्कार त्यसलाई, जसले आफ्नो बुबालाई ‘तपाईंले कस्तो सन्तान जन्माउनुभयो?’ भनी भन्छ, अथवा आमालाई, ‘तपाईंले के जन्माउनुभयो?’ भनी भन्छ।
11“आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्वर, त्यसलाई बनाउनुहुने याहवेह भन्नुहुन्छ— के मेरो सन्तानको विषयमा तँ मलाई प्रश्न गर्छस्, अथवा मेरा हातका कामहरूको विषयमा मलाई आज्ञा दिन्छस्?
12पृथ्वी बनाउने र त्यसमा मानिसहरूलाई सृष्टि गर्ने म नै हुँ। मेरा आफ्नै हातहरूले आकाश फिँजाएँ; त्यसमा भएका तारामण्डललाई मैले ठिकसँग मिलाएर राखेको हुँ।
13म कोरेसलाई मेरो धार्मिकतामा उचाल्नेछु; म त्यसका मार्गहरू सोझा बनाइदिनेछु; त्यसले मेरो सहर पुनर्निर्माण गर्नेछ; अनि देश निकाला भएका मेरा मानिसहरूलाई मुक्त गर्नेछ, तर कुनै मूल्य र पुरस्कारको लागि होइन, सेनाहरूका याहवेह भन्नुहुन्छ।”
14याहवेह यसो भन्नुहुन्छ: “इजिप्टको उब्जनी र कूशको व्यापारको धन र ठूला कद भएका सेबाका मानिसहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्; तिनीहरू साङ्लाले बाँधिएर कष्टसाथ तेरो पछि-पछि आउनेछन्। तिनीहरू तेरो सामु झुक्नेछन् र बिन्ती गर्दै यसो भन्नेछन्ः ‘निश्चय परमेश्वर तपाईंसित हुनुहुन्छ, र अरू कोही पनि छैन; अर्को ईश्वर छँदैछैन।’ ”
15हे इस्राएलका परमेश्वर र उद्धारकर्ता, साँच्चै तपाईं आफूलाई अदृश्य पार्नुहुने परमेश्वर हुनुहुन्छ।
16मूर्ति बनाउने सबै जना शर्ममा पर्नेछन् र अपमानित हुनेछन्; तिनीहरू एकसाथ अपमानित भएर जानेछन्।
17तर इस्राएल अनन्तको उद्धारसित याहवेहद्वारा बचाइनेछ; तँ कहिल्यै शर्ममा पर्नेछैनस्, अथवा युग-युगसम्म अपमानित हुनेछैनस्।
18किनकि याहवेह भन्नुहुन्छ— जसले स्वर्ग सृजनुभयो, उहाँ परमेश्वर हुनुहुन्छ; उहाँ, जसले पृथ्वीलाई आकार दिएर बनाउनुभयो; उहाँले त्यसलाई स्थापित गर्नुभयो; त्यसलाई रित्तो हुनलाई सृष्टि गर्नुभएको होइन, तर त्यसलाई बसोबास गराउनको लागि बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म नै याहवेह हुँ, मबाहेक अर्को कोही परमेश्वर छैन।
19मैले गुप्तमा वा कुनै अन्धकारको ठाउँबाट बोलेको छैनँ; मैले याकोबका सन्तानलाई ‘मलाई व्यर्थमा खोज्’ भनेको छैनँ। म याहवेह सत्य बोल्छु; जे ठिक छ, त्यही घोषणा गर्छु।
20“एकसाथ भेला भएर आओ; हे जाति-जातिका शरणार्थीहरू हो, भेला होओ। काठका मूर्तिहरू बोकिहिँड्नेहरू सबै अज्ञानी हुन्, जसले बचाउन नसक्ने देवताहरूसित प्रार्थना गर्दछन्।
21अब के हुनेछ, घोषणा गर्, त्यसलाई प्रस्तुत गर्— तिनीहरूले एकसाथ सल्लाह लिऊन्। कसले यो धेरै पहिले बतायो, कसले यो धेरै पहिले नै घोषणा गर्यो? के म याहवेहले नै होइन? मबाहेक अरू कोही परमेश्वर छैन; धर्मी र उद्धारकर्ता परमेश्वर म नै हुँ; मबाहेक अरू परमेश्वर कोही छैन।
22“मकहाँ फर्क र बाँच, हे पृथ्वीका पल्लो छेउका मानिसहरू हो; किनकि परमेश्वर म नै हुँ, र अरू कोही पनि छैन।
23मैले आफ्नै शपथ खाएको छु; मेरो मुखले सम्पूर्ण इमानदारीमा रद्द नहुने हरेक कुरा उच्चारण गरेको छु; मेरो सामु हरेक घुँडा टेकिनेछ, र हरेक जिब्रोले शपथ खानेछ।
24तिनीहरूले मेरो विषयमा यसो भन्नेछन्, ‘याहवेहमा मात्र धार्मिकता र शक्ति छ।’ ” उहाँको विरुद्धमा रिस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र शर्ममा पर्नेछन्।
25तर याहवेहमा इस्राएलका सबै सन्तानहरू धार्मिक भेट्टाइनेछन्, र उहाँमा गर्व गर्नेछन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath