यशैया 44
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1“तर अब हे मेरो सेवक याकोब, मैले चुनेको इस्राएल, ध्यानसित सुन्।
2तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, तँलाई सहायता गर्नुहुने याहवेह यसो भन्नुहुन्छ— हे याकोब, मेरो सेवक, मैले चुनेको यशूरून्, तँ नडरा!
3किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु, र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु; म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु; अनि मेरा आशिष्हरू तेरा वंशमाथि खन्याउनेछु।
4तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्।
5कसैले भन्नेछ, ‘म याहवेहको हुँ।’ अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, र आफ्नो नाम इस्राएल राख्नेछ।
6“इस्राएलका महाराजा र उद्धारक, सेनाहरूका याहवेह भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ; मबाहेक अरू कुनै परमेश्वर छैन।
7मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्। मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्; अनि अब के हुनेछ— हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्।
8थरथर नकाँप र नडराओ। के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।”
9मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्, र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्। तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्; आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्।
10आफूलाई केही फाइदा नहुने देवतालाई, कसले आकार दिएर ढलौटे मूर्ति बनाउँछ?
11त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्; यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्। तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्; तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्।
12लोहारले एउटा हतियार लिन्छ, र त्यो लिएर उसले कोइलामा काम गर्छ; घनले मूर्तिको आकार निकाल्छ, र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ। उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ; पानी नपिएकोले ऊ कमजोर हुन्छ।
13सिकर्मीले सूत तानेर सिसाकलमले चिन्ह लगाउँछ। उसले रामोले चिल्लो पारेर त्यसको आकार निकाल्छ, र परकालले त्यसमा चिन्ह लगाएर घरमा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा त्यसको आकार निकाल्छ।
14उसले देवदारुहरू काट्छ, अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ; उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ, अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ।
15त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ; त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ; उसले आगो सल्काएर रोटी पकाउँछ। तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ; उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ।
16आधा काठ उसले आगोमा जलाउँछ; त्यसमा उसले आफ्नो भोजन पकाउँछ, त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ। उसले आफूलाई न्यानो पारेर भन्छ, “अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।”
17बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ; ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ। उसले त्यसलाई प्रार्थनामा भन्छ, “मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्वर हुनुहुन्छ।”
18तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्; तिनीहरूका आँखामा पट्टी बाँधिएको छ र तिनीहरू देख्न सक्दैनन्; अनि तिनीहरूका मन बन्द भएका छन् र तिनीहरू बुझ्न सक्दैनन्।
19कसैले पनि विचार गर्दैन, “यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ; यसको कोइलामा मैले रोटी पनि पोलेँ, र मैले मासु पोलेर खाएँ। त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ? के म काठको टुक्राको सामु घोप्टो परूँ?” भन्ने ज्ञान र समझशक्ति कसैसित छैन।
20उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्ट पार्छ; उसले आफूलाई बचाउन सक्दैन, अथवा “के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?” भन्न सक्दैन।
21“हे याकोब, यी कुराहरू सम्झना गर्; किनकि हे इस्राएल, तँ मेरो सेवक होस्। मैले तँलाई बनाएँ, तँ मेरो सेवक होस्; हे इस्राएल, म तँलाई बिर्सनेछैनँ।
22मैले तेरा अपराधहरूलाई बादलझैँ, र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ। मकहाँ फर्की; किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।”
23हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ; हे पृथ्वीको गहिराइ, चर्को सोरले करा। हे पर्वतहरू हो, उच्च सोरले गा! हे जङ्गल र रूखहरू हो, आनन्दले गा; किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ, र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ।
24“तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने याहवेह यसो भन्नुहुन्छ: म नै तेरा याहवेह हुँ, जसले सबै कुराहरू बनाउनुभएको छ; जसले आकाशलाई फैलाउनुभयो, र पृथ्वीलाई फिँजाउनुभयो;
25जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; जसले बुद्धिमान्हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ;
26“जसले उहाँका सेवकहरूका वचनहरू पक्का गर्नुहुन्छ, र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्नुहुन्छ।
27जसले गहिरा पानीलाई भन्नुहुन्छ, ‘सुकिजा! म तेरा खोलाहरूलाई सुकाउनेछु’,
28जसले कोरेसलाई भन्नुहुन्छ, ‘त्यो मेरो गोठालो हो र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। उहाँले यरूशलेमलाई भन्नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” र मन्दिरलाई “यसको जग बसालिओस्।” ’
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath