ईसाई धर्म
पछाडि

यशैया 41

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1“हे टापुहरू हो, मेरो सामु चुप लागेर बस! राष्ट्रहरूले नयाँ सामर्थ्य प्राप्‍त गरून्! तिनीहरू अगि आएर बोलून्; हामी न्यायको ठाउँमा भेट गरौँ!

2“कसले पूर्वबाट एक जनालाई उहाँको सेवाको निम्ति धार्मिकतामा बोलाएर सुर्‍याएको छ? उहाँले त्यसलाई राष्ट्रहरू दिनुहुन्छ, र राजाहरूलाई त्यसको वशमा पार्नुहुन्छ। जसले आफ्नो तरवारले तिनीहरूलाई माटोमा परिणत गरिदिनुहुन्छ, तथा आफ्नो धनुले बतासलाई उडाएको भुसमा परिणत गरिदिनुहुन्छ।

3त्यसले तिनीहरूलाई खेद्छ र विनारोकटोक अगि बढ्छ; यस्तो बाटोबाट, जसमा त्यसका खुट्टाले पहिले हिँडेका थिएनन्।

4पुस्ताहरूलाई सुरुदेखि बोलाएर, यो काम कसले गर्‍यो र पूरा गर्‍यो? म याहवेह नै हुँ, जो तिनीहरूका पहिलो र पछिल्‍लोसित रहन्छु।”

5टापुहरूले त्यो देखे, र डराए; पृथ्वीको पल्‍लो छेउहरू काँप्छन्। तिनीहरू नजिक आएर अगाडि आउँछन्;

6एक-अर्कालाई सघाउँछन्, र एउटाले अरू दाजुभाइलाई भन्छ, “बलियो होउ!”

7कारिगरले सुनारलाई ढाडस दिन्छ, र धातु पिट्न घन प्रहार गर्नेले लिहिमा धातु पिटेर चिल्‍लो पार्नेलाई प्रोत्साहन दिन्छ। त्यसले लिहिको विषयमा यसो भन्छ, “यो असलै छ।” त्यसले मूर्तिलाई किला ठोकेर बलियो पार्छ।

8“तर तँ, हे मेरो सेवक इस्राएल, याकोब, जसलाई मैले चुनेको छु। मेरा मित्र, अब्राहामका सन्तान,

9मैले तँलाई पृथ्वीको पल्‍लो छेउबाट लिएँ, र त्यसका सुदूर कुनाबाट मैले तँलाई बोलाएँ। अनि मैले भनेँ, ‘तँ मेरो दास होस्’ मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैनँ।

10यसकारण नडरा; किनकि म तँसित छु; निराश नहो, किनकि म तेरो परमेश्‍वर हुँ। म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु; म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।

11“तेरो विरुद्ध रिस गर्ने सबै लाजमा पर्नेछन्, र अपमानित हुनेछन्; तेरो विरोध गर्नेहरू नाश भएर मेटिनेछन्।

12तैँले तेरा शत्रुहरूलाई खोजे तापनि तिनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरुद्धमा लडाइँ गर्नेहरू नाश भएर मेटिनेछन्।

13किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ, जसले तेरो दाहिने हात समातेर तँलाई भन्दछु, नडरा; म तँलाई सहायता गर्नेछु।

14हे किरासमान याकोब, हे सानो इस्राएल, नडरा; किनकि म आफैँ तँलाई सहायता गर्नेछु” तेरो उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर, याहवेह घोषणा गर्नुहुन्छ,

15“हेर, म तँलाई दाँदेजस्तै हतियार बनाउनेछु; नयाँ र तीखा धेरै दाँतहरू भएको धारिलो दाँदेजस्तै बनाउनेछु। तैँले पर्वतहरूलाई दाइँ गर्नेछस् र तिनीहरूलाई पेल्नेछस्; अनि पर्वतहरूलाई घटाएर भुस बनाउनेछस्।

16तैँले तिनीहरूलाई नाङ्लोले निफन्‍नेछस्, र हावाले तिनीहरूलाई उडाइलैजानेछ, र आँधीले तिनीहरूलाई छरपस्ट पारिदिनेछ। तर तँचाहिँ याहवेहमा आनन्दित हुनेछस्, र तैँले इस्राएलका पवित्र परमेश्‍वरलाई प्रशंसा गर्नेछस्।

17“गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्, तर पानी कतै छैन; तिनीहरूका जिब्रा प्यासले सुकेका छन्। तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु; म इस्राएलका परमेश्‍वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ।

18म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु; अनि बेँसीमा खोलाहरू बग्न लगाउनेछु। म मरुभूमिलाई पानीको पोखरीमा र डढेको जमिनलाई खोलाहरूमा परिणत गर्नेछु।

19म मरुभूमिमा देवदारु र बबुल, मेहदी र जैतुन लगाउनेछु। म बाँझो जमिनमा सल्‍ला, धूपी र सिसौ एकैसाथ उमार्नेछु,

20ताकि मानिसहरूले देखून् र जानून्, विचार गरून् र बुभून्, कि यो याहवेहको हातको काम हो; इस्राएलका पवित्र परमेश्‍वरले यो सृजनुभएको हो।”

21याहवेह भन्‍नुहुन्छ, “तिमीहरूका मुद्दा पेश गर।” याकोबका राजा भन्‍नुहुन्छ, “तिमीहरूका तर्क पेश गर।

22तिमीहरूका मूर्तिहरूलाई लिएर आओ भविष्यका कुरा तिनीहरूले भनून्। अगिका कुराहरू के थिए, हामीलाई भन, र हामी तिनीहरूमाथि विचार गरौँ; अनि तिनीहरूका अन्तिम नतिजा जान्‍न सकौँ। अथवा भविष्यमा हुने कुराहरू घोषणा गर;

23भविष्यमा के हुने हो, हामीलाई भन, र तिमीहरू देवताहरू हौ भनी हामी जान्‍न सकौँ। असल वा खराब केही गर ताकि हामी चकित भएर डराउनु परोस्।

24तर तिमीहरू त केही होइनौ, र तिमीहरूका कामहरू पूर्ण व्यर्थ छन्; तिमीहरूलाई छान्‍नेहरू घृणित हुन्।

25“मैले उत्तरबाट एक जनालाई सुर्‍याएको छु; अनि त्यो आउँछ, घाम उदाउने दिशाबाट, जसले मेरो नामको पुकार गर्छ। त्यसले शासकहरूलाई यसरी कुल्चनेछ, जसरी कुमालेले माटो कुल्चन्छ।

26यस विषयमा सुरुदेखि कसले भन्यो र हामी जान्‍न सकौँ, अथवा पहिले नै बताएको छ र हामी ‘त्यो ठिक छ’ भन्‍न सकौँ? यसबारे कसैले भनेनन्, कसैले कहिल्यै भनेनन्; तिमीहरूबाट कसैले केही कुरा सुनेनन्।

27सियोनलाई, ‘हेर, तिनीहरू यहाँ छन्!’ भन्‍ने म नै पहिलो हुँ। यरूशलेमलाई शुभ समाचार दिने दूत म नै हुँ।

28म हेर्छु, तर कोही छैन; तिनीहरूमा सल्‍लाह दिने कोही पनि छैन; मैले तिनीहरूलाई प्रश्न गर्दा जवाफ दिने कोही पनि छैन।

29हेर, तिनीहरू सबै झूटा हुन्! तिनीहरूका काम व्यर्थैका हुन्; तिनीहरूका मूर्तिहरू हावा र व्यर्थका मात्र हुन्।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath