ईसाई धर्म
पछाडि

यशैया 36

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे।

2तब अश्शूरका राजाले एउटा ठूलो सेनासहित आफ्नो मैदानका सेनापतिलाई लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए। जब ती सेनापति माथिल्‍लो पोखरीको नहरमा धोबीको खेत जाने बाटोमा रोकिए,

3तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीकहाँ गए।

4मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्‍नू: “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्‍नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ?

5तपाईं भन्‍नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ?

6अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ।

7तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्‍वरमाथि भरोसा राख्छौँ” भन्‍नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ” भनेका थिए?

8“ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने!

9तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई कसरी अस्वीकार गर्नुहुन्छ?

10यसबाहेक के म याहवेहविना नै यस देशमाथि आक्रमण गरेर यसलाई नाश गर्न आएको छु र? याहवेह स्वयम्‌ले मलाई यस देशको विरुद्धमा आक्रमण गरेर नाश गर्नू भन्‍नुभएको छ।’ ”

11तब एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”

12तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्‍नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्‍ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”

13तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन!

14राजा यसो भन्‍नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नपाऊन्। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्।

15हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्‍चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’

16“हिजकियाको कुरा नसुन्‍नू। अश्शूरका राजा भन्‍नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ र आफ्नै इनारबाट पिउनेछौ।

17जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै आफ्नै देशजस्तो ठाउँमा—अन्‍न र नयाँ दाखमद्यको देशमा—रोटी र दाखबारी भएको देशमा लैजान्‍नँ।

18“हिजकियाले तिमीहरूलाई, ‘याहवेहले हामीलाई बचाउनुहुन्छ’ भनेर भ्रममा नपारून्। के आजसम्म कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाउन सकेको छ?

19हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके?

20यी देशहरूका कुन देवताले आफ्नो देशलाई मबाट बचाउन सकेको छ र? त्यसो भए कसरी याहवेहले मेरो हातबाट यरूशलेमलाई छुटाउन सक्नुहुन्छ?”

21तर मानिसहरू चुप रहे अनि जवाफमा केही भनेनन्, किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।

22तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath